
युइएफए च्याम्पियन्स लिग फुटबल मंगलबारदेखि सुरु हुँदै छ । पेरिस सेन्ट जर्मेन (पिएसजी) र बायर्न म्युनिखबीचको प्रतीक्षारत भिडन्तमा प्रतिस्पर्धा हुँदै छ । एकै समयमा एसी मिलान र टोटनह्यामबीच भिडन्त हुनेछ । विश्व च्याम्पियन खेलाडी लियोनल मेसी र फ्रान्सका मिडफिल्डर केलियन एम्बाप्पे फर्किएसँगै पिएसजी उच्च मनोबलमा रहेको छ । चोटका कारण मेसी र एम्बाप्पे दुवैले अघिल्लो खेल गुमाएका थिए ।
घरेलु मैदान पार्क डेस प्रिन्सेसमा एम्बाप्पे र मेसी फर्किने भएसँगै प्रशिक्षक क्रिस्टोफर गाल्टियरलाई राहत मिलेको छ । ‘हामी उनीहरू फर्कनेमा विश्वस्त छौँ,’ प्रशिक्षक गाल्टियरले भने, ‘दुई महत्वपूर्ण खेलाडी सोमबारको प्रशिक्षणमा फर्किएका छन् । यससँगै पहिलो लेगमा पिएसजीले बायर्नविरुद्ध बलियो चुनौती दिने पक्का छ । मेसीले मार्सेलीविरुद्धको खेलमा खुट्टाको चोट बोकेका थिए । मेसी मोनाकोविरुद्ध मैदानबाहिर बसेका थिए । एम्बाप्पे मोन्टपेलियरसँगको खेलमा घाइते भएका थिए ।यसपछि एम्बाप्पे तीन खेल बाहिर रहे ।
घाइते खेलाडी प्रशिक्षणमा फर्किए
तीन महिना मैदानबाहिर रहने बताए पनि एम्बाप्पे सोमबारको प्रशिक्षणमा फर्किएका हुन् । मेसी र एम्बाप्पेजस्ता खेलाडी मैदानमा फर्किएपछि पिएसजीका समर्थक दंग परेका छन् । आइतबार मोनाकोविरुद्ध मैदानमा नदेखिएका मार्काे भेराटीसमेत प्रशिक्षणमा फर्किए । पछिल्लो समय पिएसजीले चार खेलमा हार व्यहोरिसकेको छ ।
कतारी मालिक पाएको पिएसजीले हालसम्म च्याम्पियन्स लिग उपाधि जित्न सकेको छैन । मेसी, एम्बाप्पे, नेमार, सर्जियो रामोस, डोनारुम्बा, भेराटी, अचराफ हाकिमी, मार्किन्होसजस्ता स्टार खेलाडी अनुबन्ध गरेको पिएसजी पहिलोपटक च्याम्पियन्स लिग उपाधि जित्ने योजनामा छ ।