Skip This
ए डिभिजन लिगमा एन्फाले विदेशी खेलाडी कोटा पाँच पुर्‍यायो
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 13 May, 2025
रमेश सुवेदी काठमाडौं
Invalid date format o६:३५:oo
Read Time : > 2 मिनेट
खेलकुद प्रिन्ट संस्करण

ए डिभिजन लिगमा एन्फाले विदेशी खेलाडी कोटा पाँच पुर्‍यायो

एन्फा र १४ क्लबको सहमतिपछि विदेशी खेलाडीको कोटा पाँच पुर्‍याइएको छ, तर मैदानभित्र चार विदेशी खेलाडी मात्रै उतार्न मिल्ने एन्फाले जनाएको छ

Read Time : > 2 मिनेट
रमेश सुवेदी, काठमाडौं
नयाँ पत्रिका
Invalid date format o६:३५:oo

सहिद स्मारक ए डिभिजन लिगमा सहभागी क्लबले कम्तीमा पाँचजना विदेशी खेलाडी राख्न पाउने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) र सहभागी १४ क्लबबीचको सहमतिले विदेशी खेलाडीको संख्या चारबाट पाँच पुर्‍याइएको छ । दुईपटकको साबिक विजेता मच्छिन्द्र, त्रिभुवन आर्मी, न्युरोड टिम (एनआरटी), मनाङ मर्स्याङ्दी, सातदोबाटो युथ, संकटा, थ्री स्टार, नेपाल पुलिस, एपिएफ, फ्रेन्ड्स, हिमालयन शेर्पा, जावलाखेल, चर्च ब्वाइज युनाइटेड र खुमलटार युथ क्लबले हस्ताक्षरसहित विदेशी खेलाडीको कोटा बढाउनुपर्ने लिखित माग राखेका थिए ।

एन्फाले क्लबको आग्रहअनुसार १९ फागुनबाट सुरु हुने डबल राउन्ड रोबिन लिगमा विदेशी खेलाडी पाँच पुर्‍याएको हो । यद्यपि, एन्फाले मैदानमा चार खेलाडी उतार्न पाउने नियम बनाएको छ । खेलाडी अनुबन्धमा पनि नियम परिमार्जन गरिएको छ । अघिल्लो संस्करणमा चार विदेशी कोटामा एक दक्षिण एसियाली खेलाडी अनिवार्य थियो । यसपटक यही नियममा एक एसियाली कोटा थपिएको हो । अब हरेक क्लबले पाँच विदेशी खेलाडी अनुबन्ध गर्न पाउनेछन् । 

 विभागीय क्लबलाई समस्या
एन्फा र क्लबको सहमतिले यसको सीधा असर विभागीय क्लबलाई परेको छ । एएफसी लाइसेन्स पाए पनि आर्मी र पुलिसले विदेशी खेलाडी अनुबन्ध अहिलेसम्म गरेका छैनन् । गत वर्ष एपिएफले पहिलोपटक विदेशी खेलाडी अनुबन्ध गरेको थियो । यद्यपि, पुलिस र आर्मीले विदेशी खेलाडी राखेनन् । पाँच विदेशी खेलाडी अनुबन्धित गर्ने स्वीकृतिसँगै क्लबलाई समस्या भएको आर्मीका प्रशिक्षक नवीन न्यौपानेले नयाँ पत्रिकालाई बताए । ‘एन्फाको यो निर्णयले अन्य क्लबलाई राहत होला, विभागीय टोलीमध्ये आर्मी र पुलिसलाई धेरै समस्या पर्ने देखिन्छ,’ न्यौपानेले भने ।

नेपाली राष्ट्रिय टोलीका अनुभवी खेलाडीले क्लब छाड्नु र धेरै घरेलु खेलाडी विदेश पलायन भएपछि आर्मीलाई समस्या पर्ने देखिएको न्यौपानेले विश्लेषण गरेका छन् । ‘हामीसँग भएका केही खेलाडीले नरहने निर्णय गरे । बाँकी भएका खेलाडी विदेश र मिसनमा छन्,’ उनले भने, ‘यस्तो अवस्थामा विदेशी खेलाडी कोटा थप्दा हामीलाई समस्या परेको छ ।’ न्यौपानेकै प्रशिक्षणमा आर्मी ०७६ र ०७८ को लिगमा उपविजेता बनेको थियो । 

राष्ट्रिय टोलीका सदस्य गौतम श्रेष्ठ, सन्तोष तामाङ र सुमन अर्यालले आर्मी क्लब छाडेर अष्ट्रेलिया पुगेका छन् । यसैगरी, उपकप्तान जर्जप्रिन्स कार्की मिसनअन्तर्गत लेबलानमा छन् । आर्मीका मिडफिल्डर विवेक बस्नेत दुबई पुगेका छन् । क्लब लाइसेन्स प्राप्त भएसँगै आर्मीले खेलकुद परिषद् (राखेप)मा क्लब दर्ता गराएको छ । यही प्रक्रियामा रहेर एसियाली खेलकुद महासंघले आर्मीलाई क्लब लाइसेन्सको मान्यता दियो । तर, आर्मीले विदेशी खेलाडी नराख्ने र नेपाली खेलाडी नै प्रयोग गर्ने निर्णय लिँदा प्रशिक्षक न्यौपाने दबाबमा देखिएका हुन् । यसअघि एपिएफ यही मापदण्ड पूरा गर्दै विदेशी खेलाडी मैदानमा उतार्न सफल भएको थियो । 

 आर्थिक भार बढ्ने 
एन्फाको निर्णयले पूर्णता पाए पनि केही क्लबका आर्थिक भार बढ्ने र त्यसलाई थेग्न गाह्रो हुने देखिएको छ । एक विदेशी खेलाडीबराबर नेपालका घरेलु तीन–चार खेलाडी अनुबन्ध गर्न सकिने नवप्रवेशी चर्च ब्वाइजका अध्यक्ष टंकलाल राईले बताए । ‘यस निर्णयपछि आर्थिक भार बढ्नेछ, विदेशी खेलाडीमै प्रतिस्पर्धा पक्कै हुन्छ,’ राईले भने, ‘यस्तो अवस्थामा विदेशी खेलाडी भिœयाउनैपर्ने बाध्यता हुन्छ ।’ नेपालमा खेल्न आउने विदेशी खेलाडीको मासिक पारिश्रमिक कम्तीमा एक हजारदेखि तीन हजार अमेरिकी डलरसम्म रहँदै आएको छ । 

पहिलोपटक ए डिभिजन लिग खेल्दै गरेको चर्च ब्वाइज र कीर्तिमानी आठपटकको च्याम्पियन मनाङ मस्र्याङ्दीले राम्रो स्तरका विदेशी खेलाडी झिकाउने प्रयास गरेका छन् । मनाङ, चर्च ब्वाइज, मच्छिन्द्रजस्ता क्लबले एसियाली भूमिमा राम्रो प्रदर्शन गरिरहेका विदेशी खेलाडी भित्र्याउने प्रयासमा छन् । ‘एन्फाको यो निर्णयले नेपाली खेलाडी खुसी हुँदैनन् । त्यसै त खेलाडी विदेश पलायन भइरहेका छन्, लिगमा समेत बेन्चमै बस्न परेपछि खेलाडी खुसी हुनेछैनन्,’ राईले भने, ‘यस किसिमको रणनीतिले नेपाली खेलाडी विदेश पलायन हुने संख्या झनै बढ्ने अवस्था सिर्जना हुन सक्छ ।’