
वेस्ट बैंकस्थित जेरिको सहरमा इजरायली सेनाले सोमबार बिहान गरेको आक्रमणमा कम्तीमा पाँच प्यालेस्टाइनीको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन् ।
इजरायली सेनाले आइतबार राति जेरिकोनजिकैको अकबात जबर शरणार्थी शिविरमा प्यालेस्टिनी लडाकुको सेल पत्ता लगाउन छापा मारेको थियो । यसैबीच सोमबार बिहान विभिन्न प्यालेस्टिनी सैन्य समूहले इजरायली सेनाको छापामारी र हमास सदस्यहरूको हत्याविरुद्ध वेस्ट बैंक र जेरुसलेमका प्यालेस्टिनीहरूलाई प्रतिरोध गर्न आह्वान गरेका छन् ।
उनीहरूले इजरायली सेनाले करिब सात प्यालेस्टाइनीको हत्या गरेको र १३ जनाभन्दा बढी घाइते भएको बताएका छन् । गत हप्ता वेस्ट बैंकको जेनिन सहरमा पनि इजरायली सैन्य कारबाहीमा १० प्यालेस्टाइनी मारिएका थिए ।