मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ माघ २३ सोमबार
  • Thursday, 19 December, 2024
२o७९ माघ २३ सोमबार ११:३४:oo
Read Time : > 2 मिनेट
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

बच्चामा पिसाबको संक्रमण निदान र उपचार

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o७९ माघ २३ सोमबार ११:३४:oo

पिसाबको संक्रमण भन्नाले मूत्र प्रणालीमा पिसाब बनाउनेदेखि लिएर पिसाब भण्डारण तथा पिसाब शरीरबाट बाहिर निकाल्न मद्दत गर्ने जुनसुकै अंग (मिर्गौला, मूत्रवाहिनी, मूत्रथैली तथा मूत्रनली)मा हुने संक्रमणलाई बुझिन्छ । यसलाई साधारण बोलीचालीको भाषामा युटिआई अथात् पिसाबको संक्रमण भनिन्छ । प्रायः पुरुषमा भन्दा महिलामा पिसाबको संक्रमण धेरै हुने गर्दछ । तर, नवजात शिशुका हकमा छोरीको दाँजोमा छोरामा चार गुणा बढी संक्रमण हुने गरेको विभिन्न अध्ययनले देखाएका छन् ।

पिसाब संक्रमण गराउने मुख्य कीटाणु इकोलाई नामक जीवाणु हो । सामान्यतया पिसाबमा जीवाणु हुँदैन । तर, मलद्वारनजिकैको संक्रमित छालाबाट सजिलै उक्त जीवाणु मूत्रप्रणालीमा प्रवेश गर्दछ । तसर्थ, पिसाब संक्रमणको मुख्य स्रोत नै बिरामीको आफ्नै दिशालाई मानिन्छ । 

संक्रमणको निदान र उपचार 
लक्षण देखा परेमा बच्चालाई वेलैमा युरोलोजिस्ट चिकित्सकसँग जँचाउनुपर्छ । चिकित्सकले बच्चालाई आवश्यक जाँच गरी पिसाबको स्याम्पल जाँचका लागि प्रयोगशाला पठाउँछन् । प्रयोगशालामा विशेष गरी पिसाबको सामान्य तथा माइक्रोस्कोपिक जाँच र कल्चर गरिन्छ । यसरी गरिएको जाँचबाट पिसाबमा वास्तविक संक्रमणको स्थिति देखिन्छ, संक्रमण गर्ने कीटाणु पनि उम्रिएको देखिन्छ, र साथै उपयुक्त एन्टिबायोटिकको सेन्सिटिभिटी पनि चेक गरिन्छ । यसले संक्रमण उपचार गर्नका लागि चिकित्सकलाई सही एन्टिबायोटिक चलाउन सहज हुन्छ । 

प्रायः एकदेखि दुई हप्तासम्म एन्टिबायोटिक चलाउनुपर्ने हुन्छ, तर अवस्था हेरी यो अवधि फरक पर्न सक्छ । पटक–पटक पिसाबको संक्रमण भइराख्ने बच्चामा मूत्र प्रणालीमा पिसाब उल्टो फर्किने समस्या हुन सक्ने सम्भावना धेरै हुन्छ । यस्तो अवस्थालाई भेसिको–युरेटेरल रिफ्लक्स भनिन्छ । यो अवस्थाको सही निदानका लागि एउटा विशेष किसिमको एक्स–रे जाँच गरिन्छ, जसलाई मिक्चुरेटिङ सिस्टोयुरेथ्रोग्राम भनिन्छ ।

रोकथामका उपाय 

  • कम उमेरका बच्चालाई डायपर फेर्न ढिलो गर्न हुँदैन । समयमै डायपर नफेर्नाले पिसाबको संक्रमण हुन सक्ने जोखिम बढ्छ । 
  • बच्चामा पिसाब फेर्न जाँदा प्रायः पूरै पिसाब नफेरी पिसाब बाँकी राख्ने बानी हुन्छ । बच्चालाई क्लियर हुने गरी पिसाब फेर्न सुझाव दिनुपर्छ । 
  • बालिकालाई प्रत्येकचोटि पिसाब फेरिसकेपछि मूत्रप्रणालीको बाहिरी अंग सही तरिकाले सफा 
  • गर्न सिकाउनुपर्छ । 
  • पिसाब लाग्दालाग्दै पनि रोकेर बस्ने बानी विकास गराउनुहुँदैन । मूत्रथैलीमा पिसाब केही बेर थिग्रेर बस्दा त्यहाँ ब्याक्टेरिया उम्रिन सक्ने उपयुक्त वातावरण हुन्छ ।
  • यति होसियारी अपनाउँदाअपनाउँदै पनि बच्चामा पिसाब संक्रमणको लक्षण देखा परेमा युरोलोजिस्ट चिकित्सकसँग सल्लाह लिनुपर्छ । 

चिकित्सकसँग यी कुरा सोध्न नबिर्सिनुहोला निदानका क्रममा 

  • मेरो बच्चामा देखिएका लक्षण के पिसाबको संक्रमण नै हो त ?
  • पिसाब जाँचको रिपोर्टले के भन्छ
  • उपचारका क्रममा 
  • उपचारका लागि प्रयोग गरिने औषधिको अवधि र साइड इफेक्टबारे 
  • अन्य केही स्याहारसुसार गर्नुपर्छ कि, खानेकुरामा कुनै विचार गर्नुपर्छ कि ?
  • औषधि सुरु गरेको कति समयपछि बच्चामा लक्षण सुधार हुन थाल्छ ? 
  • फेरि कहिले तपाईंलाई भेट्ने ? 
  • कस्तो अवस्थामा बच्चालाई तत्काल तपाईंकहाँ ल्याउनुपर्छ ?
  • फेरि पनि पिसाबमा संक्रमण हुन नदिन के–के सावधानी अपनाउनुपर्ने हुन्छ ?

लक्षण 

  • पिसाब पोल्नु 
  • छिटोछिटो पिसाब लाग्नु 
  • पिसाब नियन्त्रण गर्न नसक्नु
  • पिसाबबाट गन्ध आउनु 
  • तल्लो पेट र कम्मर दुख्नु 
  • ज्वरो आउनु
  • पिसाबमा रगत देखिनु
  • मिर्गौलासम्म पुगेको संक्रमणमा बच्चालाई अत्यधिक कामज्वरो आउने, आमाको दूध खान नरुचाउने, वाकवाकी लाग्ने, बान्ता गर्ने आदि ।