१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १ मंगलबार
  • Tuesday, 14 May, 2024
पर्शुराम काफ्ले अयोध्या (भारत)
२o८१ जेठ १ मंगलबार २१:१५:oo
Read Time : > 2 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

कालीगण्डकीका देवशिला र शालिग्राम अयोध्यामा हस्तान्तरण,  एक वर्षपछि राम मन्दिरको गर्भगृहमा राखिने

Read Time : > 2 मिनेट
पर्शुराम काफ्ले, अयोध्या (भारत)
नयाँ पत्रिका
२o८१ जेठ १ मंगलबार २१:१५:oo

भारतमा निर्माणाधीन राम मन्दिरमा रामको मूर्ति बनाउन म्याग्दीको गलेश्वरधाम कालीगण्डकीबाट ल्याइएका दुई देवशिला बिहीबार नेपालका तर्फबाट औपचारिक रूपमा हस्तान्तरण गरिएको छ । 

जनकपुरस्थित जानकी मन्दिरका महन्थ राम तपेश्वर दास र उनका उत्तराधिकारी रामरोशन दासले औपचारिक रूपमा शिला दिइएको पत्र श्रीराम जन्मभूमि तीर्थ क्षेत्र ट्रस्टका महासचिव चम्पत रायलाई हस्तान्तरण गरेका छन् । 

म्याग्दीको बेनी नगरपालिका–६ ठूलोपहिरोस्थित कालीगण्डकी नदी किनारबाट निकालिएको देवशिला आठ दिन लगाएर बुधबार साँझ अयोध्या पुर्याइएको थियो ।  

२४ र १४ मेट्रिकटन तौलका, सात फिट लम्बाइ पाँच फिट चौडाइ र तीन दशमलव पाँच फिट मोटाइका दुई शिलाको दर्शनका लागि रामसेवकपुरममा अयोध्यावासीको घुइँचो लागेको छ ।

हस्तान्तरण समारोहमा पूर्वउपप्रधानमन्त्री एवं कांग्रेसका नेता विमलेन्द्र निधि, जनकपुर उपमहानगरपालिकाका मेयर मनोज साहलगायत नेपाल र भारतका सरोकारवाला सहभागी थिए । 

कार्यक्रममा जानकी मन्दिरका महन्थ दासले नेपालबाट त्रेतायुगमा सीता पठाइएको र कलियुगमा रामको प्रतिमा पठाइएको भन्दै खुसी व्यक्त गरे । ‘अब दुई देश र मिथिला-अबध सम्बन्ध अझै बलियो हुनेछ, हाम्रो सम्बन्ध अनन्तकालसम्म रहन्छ,’ उनले भने, ‘नेपाल र जानकी मन्दिरका तर्फबाट देवशिला उपहारका रूपमा पठाइएको हो ।’

उनले शिलासँगै हस्तान्तरण गरेको पत्रमा सीताको माइती जनकपुरबाट रामभूमि अयोध्यामा कोसेलीका रूपमा दुई देवशिला पठाउँदा पूरै नेपाल र नेपालका मिथिलावासी हर्षित रहेको उल्लेख छ । 

पत्र मैथिली र अंग्रेजी भाषामा लेखिएको छ । महन्थ दासले शिला हस्तान्तरणको घटना अद्वितीय रहेको र अब दुवै देशमा रामराज्य स्थापना हुने भन्दै खुसी व्यक्त गरे ।

पूर्वउपप्रधानमन्त्री निधिले भारतको सर्वोच्च अदालतबाट राम मन्दिरका पक्षमा फैसला गरेसँगै नेपालबाट धनुष र शिला ल्याउने प्रयास भएको बताए । ट्रस्टका महासचिव राय, जनकपुरका महन्थ दाससँग सरसल्लाहमा नेपाल सरकारसँग समन्वय गरेर देवशिला अयोध्यामा ल्याइएको निधिले बताए । 

नेपालको खानी तथा भूगर्भ विभागको अनुमति एवं मन्त्रिपरिषद्को निर्णयपछि नदीबाहिर रहेको शिला ल्याइएको निधिले बताए । निधिले कालीगण्डकी क्षेत्र र गलेश्वरधामको दर्शनका लागि नेपालमा जान भारतीयहरूलाई आह्वान गरे । 

कांग्रेस नेता निधिले नेपाल भारतबीच रामायण सर्किट निर्माणले पूर्णता पाउनुपर्ने पनि बताए । तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाको समयमा नेपाल र भारतबीच भारतीय सहयोगमा रामायण सर्किट निर्माण गर्ने सहमति भएको थियो । 

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जनकपुर भ्रमणमा पनि यसबारे छलफल भएको थियो । त्यसवेला प्रधानमन्त्री केपी ओली र मोदीले जनकपुर–अयोध्या बससेवा उद्घाटन गरेका थिए । तर, यो सुचारु हुन सकेको छैन । 

शिलाविज्ञ एवं कालीगण्डकी अभियन्ता डा. कुलराज चालिसेले सुरुमा कालीगण्डकीका १०८ स्थानबाट छनोट गरी विस्तृत अध्ययनपछि दुई शिला छनोट गरिएको बताए । 

‘पुरातात्विक सर्भेका आधारमा दुई शिला ६ करोड वर्ष पुरानो भएको पुष्टि हुन्छ,’ चालिसेले भने, ‘शिला कुँदेर रामको बालस्वरूप मूर्ति बनाउन सकिन्छ भन्ने प्रमाणित भएपछि मात्र शिला ल्याउने प्रक्रिया सुरु भएको थियो ।’ 

देवशिलामुनि फेला परेको शालिग्राम पनि अयोध्या ल्याएर ट्रस्टलाई हस्तान्तरण गरिएको छ । अयोध्याको रामसेवकपुरममा कालिगढहरूले रामको बालस्वरूप मूर्ति तयार गर्नेछन् । 

ट्रस्टका सदस्य राजेन्द्रसिंह पंकज, विश्वहिन्दु परिषद् नेपालका महासचिव जितेन्द्र सिंह म्याग्दीदेखि शिलायात्रामा सुरुदेखि नै सहभागी थिए । 

 

शिलायात्रामा सहभागी कांग्रेस युवा नेता तथा अन्तर्राष्ट्रिय बिपी चिन्तन प्रतिष्ठानका अध्यक्ष सन्दीप रानाले भने, ‘कालीगण्डकीको देवशिलाबाट बन्ने रामको बालप्रतिमा राममन्दिरको गर्भगृहमा राख्ने निर्णय र देवशिला हस्तान्तरणको महत्व अनन्तकालसम्म हुनेछ । यो क्षण नेपाल–भारत सम्बन्धको इतिहासको पानामा पनि स्वर्ण अक्षरले लेखिने युगान्तकारी हुनेछ ।’ 

राम जन्मभूमि ट्रस्टले राम मन्दिरको गर्भगृहमा राखिने सबैभन्दा पवित्र मूर्ति कालीगण्डकीको शिलाबाट बनाउनुपर्ने निष्कर्ष निकालेपछि जानकी मन्दिरसँग आग्रह गरेको थियो । कांग्रेस नेता निधिलाई यसबारे पहल गर्न ट्रस्टका महासचिव चम्पत रायले आग्रह गरेका थिए । 

निधिले शिला नेपालबाट भारत लैजान तथा उत्खननको सबै प्रक्रियामा सरकारसँग समन्वय गरेका थिए । गत ३ पुसमा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको मन्त्रिपरिषद्को बैठकले रामको प्रतिमा निर्माण गर्न प्रयोग गरिने शालिग्राम शिलाको खोजी गर्ने र भारत पठाउने निर्णय गरेको थियो । 

शिला पठाउने औपचारिक निर्णयपछि कालीगण्डकी शिला तय भयो । १ माघमा शिलामा क्षमा पूजा गरिएको थियो । एक वर्षपछि राम मन्दिरको गर्भगृहमा रामको प्रतिमामा प्राणप्रतिष्ठा हुनेछ र सर्वसाधारणका लागि खुला हुनेछ ।
 

ad
ad