
नेपाली कांग्रेसका सांसद जितेन्द्रनारायण देवले नेपालका विश्वविद्यालयहरू दलीयकरणको मारमा परेको बताएका छन्।
राष्ट्रिय सभाअन्तर्गतको विधायन व्यवस्थापन समितिको मंगलबार बसेको बैठकमा उनले यस्तो बताएका हुन्। नेपाली विश्वविद्यालयहरूमा स्वायत्तताको विषय ठूलो बनेको उल्लेख गर्दै उनले दलीयकरणका कारण शैक्षिक गुणस्तरमा समेत सुधार हुन नसकेको बताए।
‘साउथ एसियन लेभलको जब कम्पिटिसनको अवस्था आउँछ, त्यो एम्समा नेपाली विद्यार्थीहरू, भुटानी विद्यार्थीहरू, अफगानीहरू, भारतीयहरूले त्यहाँ प्रतिस्पर्धा गर्ने सन्दर्भमा हाम्रो शैक्षिक गुणस्तरको नापतौल हुन्छ। त्यहाँ समस्याहरू देखिइरहेका छन्। गुणस्तरमा कमजोरी भएका कारणले नेपाली विद्यार्थीहरू अन्य देशका विद्यार्थीहरूभन्दा केही पछि पर्ने समस्या देखिएका छन्,’ उनले भने।
देशभित्र सरकारबाहेकका क्षेत्रबाट शिक्षा क्षेत्रमा आउने पुँजीलाई प्रोत्साहन गर्नुपर्नेमा उनको जोड छ। उनले भने, ‘देशभित्र सरकारबाहेककाे पुँजी जहाँ-जहाँ छ र बाहिरबाट आउन सक्ने सम्भावना छ, त्यसलाई एनलाइसिस गरेर इनिसिएटर्सहरू खडा हुन्छ, पहल गर्छ भने त्यसलाई सरकारले इनकरेज गर्नुपर्छ।’