Skip This
सेवाबापत इन्धन माग्ने प्रहरीलाई जिल्ला झिकाइयो [फलोअप]
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ माघ १३ शुक्रबार
  • Tuesday, 13 May, 2025
२o७९ माघ १३ शुक्रबार १९:१२:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

सेवाबापत इन्धन माग्ने प्रहरीलाई जिल्ला झिकाइयो [फलोअप]

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o७९ माघ १३ शुक्रबार १९:१२:oo

तनहुँको देवघाट इलाका प्रहरी कार्यालयमा रहेर सेवाग्राहीलाई सेवा दिएबापत कार्यालयको सवारीसाधनका लागि इन्धन लिने कार्यालयका इन्चार्ज वरिष्ठ सइ भेषराज रेग्मीलाई जिल्ला झिकाइएको छ। 

चेकिङमा परेका मोटरसाइकल, झगडा गरेर वा दुर्घटना प्रमाणित गर्न कार्यालय आएका सेवाग्राहीसँग प्रहरीले इन्धन माग्ने गरेको समाचार नयाँ पत्रिकामा प्रकाशन भएपछि उनलाई जिल्ला लगिएको हो। यस विषयमा प्रहरीले थप अनुसन्धान गर्दै छ। 

बिलबुक नभएकाले एक बाइकलाई  बिलबुकविना नै छाड्नका लागि आफ्नो कार्यालयमा रहेको गाडीमा ५० लिटर डिजल हाल्दिन माग गरेपछि प्रहरी कार्यालयको बदमासी सार्वजनिक भएको थियो। 

देवघाट इलाका प्रहरी कार्यालय इन्चार्ज वरिष्ठ सइ भेषराज रेग्मीले यो विषय स्वीकार पनि गरेका थिए। रेग्मीले बजेट चल्ने कार्यालय नभएको र कार्यालयमा गाडी आएको १५ दिन मात्र भएकाले बजेट नहुँदा आफूहरूले यसरी नै कार्यालयको गाडी चलाउन लागेको बताको भिडियो नयाँ पत्रिकासँग छ।

उनले भिडियोमा भनेका छन्, ‘गाडी आएको बल्ल १५ दिन भयो, लेखापढी भएको छ। बजेट आयो भने अर्को सालबाट आउँछ। कहिले बाइकवालालाई गर्नुपर्ला, कहिले झगडा गर्नेलाई गर्नुपर्ला, कहिले दुर्घटना प्रमाणित गर्दिनु भनेर कार्यालय आउनेलाई गर्नुपर्ला। अस्ति एउटा आएको थियो। मैले दुर्घटना प्रमाणित गर्दिएको तेल हाल्नुस् है भनेर दुई हजार पाँच सय रुपैयाँ दिनुभयो दुई हजार चार सय ७० रुपैयाँको तेल हालेर आएँ।’

सेवाग्राहीसित इन्धन माग्ने गरेको आरोप लगाए पनि रेग्मी भने जबर्जस्ती गरेर इन्धन नमागेको बताउँछन्। उनले भने, ‘नेपाल प्रहरीको ट्रेन्ट नै यस्तै छ, फोन गरेर बार्गेनिङ गरेको छैन।’

यद्यपि, नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता एवं सूचना अधिकारी पोषराज पोखरेलले प्रहरीको सवारीसाधनलाई सुरुदेखि नै इन्धन दिने गरेको बताए। ‘विगतमा गाडी दिएको धेरैपछि मात्र इन्धन दिने गरेको भए पनि शोधभर्ना हुने गरी गाडी पाएको दिनदेखि नै इन्धन दिने व्यवस्था गरेका छौँ। तत्कालका लागि सोही कार्यालयको मौज्दातबाट व्यवस्था गर्नुपर्छ। गाडीसँगै इन्धन नदिए पनि हामी गाडी आएकै दिनदेखिको खर्च केही समयपछि पठाउँछौँ। स्थानीय पालिकासँग औचित्य र पारदर्शी हिसाबमा लिन मिल्यो, तर अरूसँग, सेवाग्राहीसँग लिन मिल्दैन। म सम्बन्धित कार्यालयलाई भन्छु,’ पोखरेलले नयाँ पत्रिकालाई भने। अहिले तनहुँको देवघाट इलाका प्रहरीसँग बा.१झ ७४३३ नम्बरको प्रहरी भेन छ।