
अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनको बहुप्रतीक्षित चीन भ्रमण फेब्रुअरी ५ र ६ मा हुने अपेक्षा गरिएको छ । पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले चीनसँग व्यापार युद्ध छेडेपछि ट्र्याकबाहिर गएको सम्बन्ध यस भ्रमणसँगै फरक हुन सक्ने अपेक्षा गरिएको छ । बाइडेन प्रशासनले समेत चीनसँगको सम्बन्धमा मानवअधिकार, ताइवान, व्यापार ट्यारिफ, चिप निर्यातमा नियन्त्रणजस्ता नीतिलाई अघि बढाएपछि जटिल बनेको द्विपक्षीय सम्बन्ध न्यान्सी पेलोसीको ताइवान भ्रमणले झन् न्यूनतम बिन्दुमा पुर्याएको थियो ।
प्रतिशोधका रूपमा चीनले अमेरिकासँगका विभिन्न महत्वपूर्ण द्विपक्षीय वार्ता संयन्त्र रद्द वा निलम्बन गर्ने घोषणा गरेको थियो । दुई राष्ट्रबीचको बिग्रिँदो सम्बन्धलाई खुला द्वन्द्वमा जानबाट रोक्न नोभेम्बर २०२२ मा इन्डोनेसियाको राजधानी बालीमा आयोजित जी–२० सम्मेलनको साइडलाइनमा दुई देशका राष्ट्रपति द्विपक्षीय सम्मेलनमा सरिक भएका हुन् । सो सम्मेलनमा दुवै राष्ट्रपति दुई देशबीच उत्पन्न हुन सक्ने अविश्वास र तनावलाई नियन्त्रणबाहिर जान नदिन खुला सञ्चार र सम्पर्क संयन्त्र कायम राख्न आवश्यक रहेकामा सहमत भएका थिए । ब्लिन्केनको चीन भ्रमण दुई देशबीचको सम्बन्धलाई स्थिर बनाउने दुई राष्ट्रपतिबीच भएको समझदारीको ‘फलोअप’ हो ।
गत बुधबार मात्र अमेरिकी र चीनका शीर्ष आर्थिक अधिकारीले आफ्नो पहिलो द्विपक्षीय बैठक गरेका थिए । अमेरिकी अर्थमन्त्री जेनेट येलेनले जुरिचमा आफ्ना चिनियाँ समकक्षी उपप्रधानमन्त्री लिउ हसँगको वार्तामा संक्षिप्त सार्वजनिक टिप्पणी गर्दै दुवै देशले मतभेद व्यवस्थापन गर्न र प्रतिस्पर्धालाई द्वन्द्वमा परिणत हुनबाट रोक्न जिम्मेवारी देखाउन आवश्यक रहेको बताएकी थिइन् । सो भेटघाटमा दुवै पक्षले विश्वव्यापी अर्थतन्त्रको प्रभावकारी कार्यान्वयनका लागि बृहत् आर्थिक र वित्तीय मुद्दामा दुई देशबीचको सञ्चार र सम्पर्कलाई अझ वृद्धि गर्नु महत्वपूर्ण रहेकोमा सहमत भए ।
उनीहरूले दिगो विकासको महत्व, द्विपक्षीय र बहुपक्षीय आधारमा जलवायु वित्तमा सहयोग अभिवृद्धि गर्ने विषयमा पनि सहमति जनाएका छन् । लिउ र येलेनको भेटपछि, अमेरिकी ट्रेजरी विभागले छलफल स्पष्ट, ठोस र रचनात्मक भएको बताउँदै येलेनले चीनसँगको सम्पर्क बढाउन चाँडै चीनको भ्रमण गर्ने उल्लेख गरेको छ ।
केही समययता चीनले आफ्नो विदेश र आर्थिक नीतिहरूमा आधारभूत पुनर्संरचना आवश्यक रहेको महसुस गरेको देखिन्छ । अक्टोबर २०२२ मा २०औँ पार्टी कंग्रेस कार्य रिपोर्ट पेस गर्दै राष्ट्रपति सी जिनपिंगले आधुनिक समाजवादी देश निर्माण गर्न र राष्ट्रिय कायाकल्पको सपना पूरा गर्ने मार्गमा अबका पाँच वर्ष अत्यन्तै महत्वपूर्ण रहेको उल्लेख गरेका छन् । सीका अनुसार यस अवधिमा चीनले उच्च गुणस्तरीय आर्थिक विकासलाई प्रवर्धन गर्ने, विज्ञान र प्रविधिमा आत्मनिर्भरता र बल हासिल गर्ने, व्यक्तिगत आम्दानीमा वृद्धि गर्ने, राष्ट्रिय सुरक्षा सुदृढ गर्ने र चीनको अन्तर्राष्ट्रियस्तर र प्रभावमा वृद्धि गर्ने उद्देश्य रहेको छ । तर, त्यसमा केही समययता देशको सुस्त अर्थतन्त्र, बढ्दो बेरोजगारी र कोभिड–१९ को प्रकोपले बढाएको सामाजिक, आर्थिक र सार्वजनिक स्वास्थ्यसम्बन्धी समस्याले चीन सरकारलाई चुनौती थपिदिएको छ ।
अमेरिकी र चिनियाँ राष्ट्रपतिबीचको वार्ताले द्विपक्षीय सम्बन्धलाई पुनः ऊर्जा दिएर थप बिग्रन नदिन मद्दत गरेको भए पनि दुई राष्ट्रबीचको सम्बन्धलाई चिस्याउन सक्ने धेरै मुद्दा अझै यथावत् छन्, जसलाई अर्थपूर्ण ढंगले सम्बोधन गर्न राजनीतिक अनिच्छा र संरचनात्मक बाधा कायमै छन्
अर्कातर्फ युक्रेन युद्धले अमेरिकी गठबन्धनलाई बलियो मात्र बनाएको छैन, युद्ध लम्बिँदै जाँदा चीनको प्रतिष्ठा घटाएको छ भने चिनियाँ अर्थतन्त्रमा पनि नकारात्मक असर बढ्दै गएको छ । चीनसँगको आर्थिक सम्बन्ध तोड्ने वा अलग गर्ने अमेरिकी प्रस्तावलाई युरोपेली राष्ट्रहरूले अस्वीकार गरे पनि युक्रेन युद्ध र रुसको युरोपप्रतिको ऊर्जा नीतिलाई मध्यनजर गर्दै अबको समयमा चीनप्रतिको निर्भरता घटाउँदै जानुपर्ने युरोपेली नेताहरूले बताउँदै आएका छन् ।
दुवै युरोपेली संघ र अमेरिका चीनका ठूला व्यापार साझेदार हुन् र दुवैसँग चीन ठूलो व्यापार नाफामा छ । त्यस्तै, यी देश चीनमा लगानीको प्रमुख स्रोत पनि हुन् । वर्तमान आन्तरिक समस्या र बाह्य कारकले चीन विशेषगरी पश्चिमा राष्ट्रहरूसँग सद्भाव र सहयोगको आधारशिला पुनर्निर्माण सुरु गर्न र अन्तर्राष्ट्रिय तनाव कम गर्न इच्छुक रहेको देखिन्छ ।
नोभेम्बरमा बाइडेन र सीबीच भएको भेटमा सीले चीनको वर्तमान अन्तर्राष्ट्रिय व्यवस्था परिवर्तन गर्ने वा अमेरिकालाई चुनौती दिने वा विस्थापित गर्ने कुनै योजना नभएको बताएका थिए । डिसेम्बर २०२२ मा विदेश सम्बन्धसम्बन्धी गोष्ठीलाई सम्बोधन गर्दै चिनियाँ विदेशमन्त्री वाङ यीले चीनले २०२३ को सुरुदेखि अमेरिकासँगको सम्बन्ध पुनर्निर्माण गर्न र द्विपक्षीय सम्बन्धलाई सही दिशामा लैजान काम गर्ने बताएका थिए । साथै उनले युरोपसँग सञ्चार र सम्पर्क बढाउन प्रयास गर्ने पनि बताएका थिए । वाङ यी अहिले चिनियाँ कम्युनिस्ट पार्टीको केन्द्रीय विदेश मामिला आयोगको कार्यालयका निर्देशक भएका छन्, जुन चीनको कूटनीति सञ्चालन गर्ने उच्च पद हो ।
विदेशमन्त्री नियुक्त भएपछि अमेरिकामा चिनियाँ राजदूतका रूपमा कार्यरत छिन गंगले आफ्नो बिदाइ ट्विटमा चीन–अमेरिका सम्बन्धलाई अझ राम्रो बनाउन निरन्तर लाग्ने बताएका थिए । त्यस्तै ४ जनवरीको वासिंगटन पोस्टको आफ्नो लेखमा गंगले चीनको विदेशमन्त्रीका रूपमा चीन–अमेरिकाबीचको सम्बन्ध विकास गर्ने आफ्नो महत्वपूर्ण मिसन रहने बताएका थिए । गंगले चीन र अमेरिका दुवैको विकास र समृद्धिका लागि विश्वमा पर्याप्त ठाउँ रहेकाले दुवै राष्ट्रले पूर्वाग्रह वा गलत धारणा सल्किन नदिन र विश्व भलाइका लागि काम गर्न आग्रह गरेका छन् ।
चीनको युरोपसँगको सम्बन्धमा पनि बदलाव देखिँदै गएको छ । हालै, जर्मन चान्सलर ओलाफ स्कोल्ज र युरोपेली परिषद्का प्रमुख चाल्र्स मिसेलले बेइजिङको भ्रमण गरेका थिए । त्यस्तै, फ्रान्सका राष्ट्रपति म्याक्रोँले पनि चाँडै चीन भ्रमण गर्ने अपेक्षा गरिएको छ । वाङ यी युरोप भ्रमणमा जाने तयारीमा रहेको खबर आएको छ । चीनमा र चीनबाट हुने यी सबै भ्रमणलाई चीनले युरोपेली देशसँगको सम्बन्ध सुधारका लागि आवश्यक कदमका रूपमा हेरेको छ ।
यसअघि पुटिनलाई उक्साएको भन्दै नेटोको आलोचना गर्ने चीनले अहिले नोटोमाथि दोषारोपण गर्न बन्द गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । त्यस्तै, विभिन्न रिपोर्टका अनुसार चिनियाँ अधिकारीले आफ्ना युरोपेली समकक्षीसँग रसियाले युक्रेनमा पूर्ण रूपमा आक्रमण गर्ने योजनामा चीनलाई अन्धकारमा राखेको बताउँदै आएका छन् । त्यस्तै, चिनियाँ अधिकारीले रुसी आणविक प्रयोग चीनलाई स्वीकार्य नहुने र पुटिनलाई युद्धमा आणविक हतियार प्रयोग गर्नबाट रोक्नका लागि संयुक्त प्रयासमा जोड दिनुपर्ने बताएका छन् ।
अमेरिकी राष्ट्रपति जो बाइडेन र चिनियाँ नेता सी जिनपिङको वार्ताले द्विपक्षीय सम्बन्धलाई पुनः ऊर्जा दिएर थप बिग्रन नदिन मद्दत गरेको हुन सक्छ । तर, दुई राष्ट्रबीचको सम्बन्धलाई चिस्याउन सक्ने धेरै मुद्दा अझै यथावत् छन्, जसलाई अर्थपूर्ण ढंगले सम्बोधन गर्न राजनीतिक अनिच्छा र संरचनात्मक बाधाहरू कायमै छन् ।
अमेरिकी राजनीतिक दल, सैन्य प्रतिष्ठान, नीति निर्माता र मिडियाले आफ्नो देशका लागि चीन आर्थिक र रणनीतिक खतरा भएको मान्दै नियन्त्रण गर्न अझ कडा रणनीति अपनाउनुपर्ने साझा मत राख्छन् । उता चीनमा पनि अमेरिकाले विश्व राजनीतिमा आफ्नो प्रधानता जोगाउन आफ्नो देशको विकासलाई नियन्त्रण गर्ने र रोक्ने दिशामा काम गरिरहेको बुझ्छन् । अमेरिकीहरूमा अहिलेको विश्व व्यवस्थाको एक मात्र संरक्षकका रूपमा अमेरिकालाई प्रस्तुत गर्ने र महिमा गाउने प्रवृत्ति देखिन्छ । चिनियाँहरू दुई देशबीचको सम्बन्धमा आफूलाई पीडितका रूपमा प्रस्तुत गरेर त्यसलाई ट्र्याकमा ल्याउने सबै जिम्मा अमेरिकाले लिनुपर्ने विचार राख्छन् ।
भिक्टोरिया युनिभर्सिटी अफ वेलिंगटनका प्राध्यापक वान ज्याक्सनले आफ्नो हालसालै प्रकाशित पुस्तक ‘प्यासिफिक पावर प्याराडक्स : अमेरिकन स्टेटक्राफ्ट एन्ड द फेट अफ द एसियन पिस’मा यस क्षेत्रमा शान्ति स्थापना गर्न सहयोग गरेका विभिन्न कारण पहिचान गरेका छन् । वानका अनुसार अमेरिकी सैन्य उपस्थिति, अमेरिकी गठबन्धन, यस क्षेत्रमा ठूला शक्तिबीचको सम्बन्ध, आर्थिक अन्तरनिर्भरता र क्षेत्रीयताजस्ता कारणले यस क्षेत्रमा शान्ति स्थापना गर्न ठूलो भूमिका खेलेका छन् ।
वासिंगटन र बेइजिङबीचको सम्बन्धले यी सबै कारणलाई प्रभाव पारेको वा रचनात्मक योगदान दिएको ज्याक्सनको तर्क छ । उनी लेख्छन्– अमेरिका र चीनबीचको सम्बन्धको सहजताबिना पूर्व र दक्षिणपूर्व एसियाको आधुनिक इतिहास अधिक भयावह र हिंस्रक हुने थियो । सन् १९७० को दशकदेखि चीन र अमेरिकाबीचको सहकार्य क्षेत्रीय स्थायित्वको अत्यन्तै महŒवपूर्ण स्रोत रहेको र त्यस सम्बन्धलाई प्रतिद्वन्द्विताले प्रतिस्थापन गर्दा एसियाली शान्तिका लागि गम्भीर परिणाम हुने चेतावनी ज्याक्सनले दिएका छन् ।
चीन अझै पनि अमेरिकाको सबैभन्दा ठूलो व्यापारिक साझेदार हो । कोभिड र विगत केही वर्षमा व्यापारिक र राजनीतिक तनावका बाबजुद दुई राष्ट्रबीचको व्यापार बढ्दै गएको छ । जनवरीदेखि नोभेम्बर २०२२ सम्मको ११ महिनाको अवधिमा दुई देशबीचको कुल व्यापार ६ लाख ३९ हजार ४९९ दशमलव १ मिलियन अमेरिकी डलर थियो । २०२१ मा दुई देशबीचको कुल व्यापार ६ लाख ५६ हजार ३७७ दशमलव ४ मिलियन अमेरिकी डलर र २०२० मा पाँच लाख ५७ हजार २२७ दशमलव २ मिलियन अमेरिकी डलर रहेको थियो ।
२०२० मा चीनसँगको व्यापारमा तीन लाख आठ हजार १३९ दशमलव ५ मिलियन अमेरिकी डलर व्यापार घाटा व्यहोरेको अमेरिकाले २०२२ को सुरुवाती ११ महिनामा तीन लाख ५९ हजार ४०४ दशमलव १ मिलियन अमेरिकी डलर व्यापार घाटा व्यहोरेको छ । यसले विशेषगरी अमेरिकाको निश्चित वस्तु आयातमा चिनियाँ बजारप्रतिको निर्भरता प्रस्ट पार्छ ।
चीन लगभग सबै अमेरिकी सहयोगी राष्ट्रको प्रमुख आर्थिक साझेदार हो । यही कारण युरोपेली देशले चीनसँग आर्थिक सम्बन्ध तोड्ने अमेरिकाको आह्वानलाई अस्वीकार गरेका छन् । एसियाली देशहरू, विशेषगरी पूर्वी र दक्षिणपूर्वी एसियाका देशहरू, चीन–अमेरिका प्रतिकूल सम्बन्धको मारमा पर्ने देशमध्ये अग्रपंक्तिमा हुनेछन् । यही कारण यस क्षेत्रका देशहरू चीन–अमेरिकाबीचको बढ्दो टकरावमा आफ्नो नीति कस्तो हुनुपर्छ भन्ने अन्योलमा छन् ।
हालको अन्तरनिर्भर संसारमा वर्तमान विश्व व्यवस्थाको स्थिरताका लागि चीन र पश्चिमा देशहरू दुवैलाई एकअर्काको आवश्यकता छ । चिनियाँ सपना साकार गर्न एक स्थिर अन्तर्राष्ट्रिय व्यवस्थाको आवश्यकता छ, जसलाई अवरोध पुर्याउने कुनै पनि प्रयास प्रत्युत्पादक हुनेछ । अमेरिकी प्राध्यापक जी जोन आइकेनबेरीका अनुसार हालको उदारवादी विश्व व्यवस्थालाई जोगाउने एउटै विकल्प थप उदार बन्नु हो । यस अवस्थामा चीन र अमेरिकाले आफ्नो सम्बन्धलाई कसरी अघि बढाउँछन्, त्यसले वर्ष २०२३ र त्यसपछिको समयको अन्तर्राष्ट्रिय राजनीतिलाई परिभाषित गर्नेछ । एन्टोनी ब्लिन्केनको चीन भ्रमणमा दुवै देशले थप उदारता देखाएर अगाडिको बाटो तय गर्न सके भने सम्बन्ध सुधार गर्न र स्थायित्व ल्याउन महत्वपूर्ण योगदान पुग्न सक्छ ।