मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७९ माघ ३ मंगलबार २२:१६:००
Read Time : > 5 मिनेट
दृष्टिकोण डिजिटल संस्करण

नयाँ शिक्षामन्त्रीलाई यस्तो ऐँठन नहोस्

मुलुकको भूबनोटअनुसारको शिक्षा सुधारको जैविक बाटो पहिचान भइसकेको छ । सुधारले गति लिन साह्रै धेरै लाग्दैन

Read Time : > 5 मिनेट
२०७९ माघ ३ मंगलबार २२:१६:००

मुलुकको राजनीति केही दशकदेखि नै गणितीय खेलबाट प्रताडित भइरहेको छ । युगले कहिलेकाहीँ मात्र विशिष्ट नेतृत्व जन्माउँछ भनेको ठिकै हो रहेछ क्यारे ! यो राजनीतिक यात्रा पनि सहज रहेनछ । एकपटकको जिन्दगीमा अर्कै पेसामा लागेको भए पनि ठिकै हुने थियो क्यारे ! हुन त कसै न कसैले त राजनीति गर्नैप¥यो । सधैँको अन्योल, सधैँभरको तरलता । आखिरी नेपाली जनता त सोझै हुन् । हामीले नै जानेनौँ क्यारे ! उफ ! जीवनमा कहिल्यै नभएको आज रातिको यस कुराले मलाई किन यस्तो असहज बनायो ? जताततै असन्तुष्टि, जस मिल्ने हुँदै होइन । किन यस्तो सकस ? 

‘ए हजुर (मन्त्री) ज्यू ! आज बिहानै किन यति धेरै संवेदनशील ? अस्वाभाविक मुद्रामा हुनुहुन्छ ! कुनै गम्भीर चिन्ता छ कि ? अलि मलिन र असहज पनि देखिनुभएको छ । हिजो बेलुकीसम्म त सबै ठिक थियो । प्रधानमन्त्रीलाई दुई वर्ष हटाउन नपाइने भए पनि मन्त्रीहरू जहिल्यै विनाकारण हट्न सक्छन् । के त्यस्तै हुन लागेको हो र ? के हामीले क्वार्टर छाड्नुपर्ने भयो र ? त्यसै भए पनि किन त्यत्रो चन्ता त ? एक दिन छाड्नैपर्ने थियो, छाडौँला नि त ! म (श्रीमती) लाई नभनेर कसलाई भन्ने त हजुर ?’ त्यस्तो केही होइन । केही भएको छैन । तर हजुर ‘फ्रेस’ हुनुहुन्न । 

सपनामा आकाशवाणी : के त्यस्तो सपना देख्नुभयो त । हजुरको घाँटी पनि दुखेजस्तो छ । यस्तो मुडअफ हुनपर्ने के भयो ? तपाईं त सपनामा विश्वास नै नगर्ने मानिस हो । नराम्रो सपना भए अरूलाई सुनाउनुपर्छ भन्छन्, सुनौँ न । यो एक कप चिया खाँदासम्म सुनौँ । हजुरको तनाव अलि कम हुन्छ कि । आखिरी हजुरले मलाई सुनाएर बिग्रिने त केही होइन !

आज बिहानीपख सपनामा म मन्त्री भएपछिका सबै कामको पुनारावृत्त भयो । त्यसपछि साह्रै नराम्रोसँग ऐँठन भयो । त्यसपछि निद्रा पनि लागेन । जिन्दगीमा त्यस्तो ऐँठन कहिले पनि भएको थिएन । ऐँठन भएकै हो जस्तो लाग्छ, तर शरीरमा बेचैन छ । घाँटी अहिले पनि दुखिरहेको छ । सानो छँदा त्यसरी ऐँठन हुने गथ्र्यो, तर यस्तो गाह्रो कहिले पनि भएको थिएन । राज्यबाट जनतामा पुर्याउनैपर्ने शिक्षासम्बन्धी सेवा, सुविधा, जानकारी, सुरक्षा आदिका लागि भुइँतहमा काम गर्ने कर्मचारी छैनन् । भएकाहरूको मनोबल अत्यन्तै कमजोर छ । यसका लागि तुरुन्तै संघीय शिक्षा ऐन आवश्यक देखिएको छ । सक्षम नेतृत्वको कर्मठ पहलको प्रतीक्षामा परिवेशले नियालिरहेको छ । मन्त्री भएको पहिलो दिनको ब्रिफिङको विषयवस्तुको सार यही थियो, तर हावामा बिलायो, यस्तो आकाशवाणी भयो । 

मन्त्री भएपछि विगतका दिनमा धेरैले सार्वजनिक शिक्षा बिग्रिँदै गएको, आत्मग्लानि भएको कथा सुनाएका थिए । त्यस्ता उदाहरण भन्दै गर्दा मेरो पनि चित्त दुख्थ्यो । शिक्षक, कर्मचारी, विदेशी सहयोग निकायमा काम गर्ने कर्मचारी, अभिभावक, जनप्रतिनिधि सबै सार्वजनिक शिक्षाप्रति बिघ्नै चिन्तित देखिन्थे । राष्ट्रिय भावनाबाट ओतप्रोत भएका त्यस्ता सकारात्मक सोच र चिन्तनले मलाई संवेदनशील बनाउँथ्यो । तथापि यसै गर्न प¥यो भनी व्यावहारिक सुझाब भने त्यति पाइएको थिएन । विद्यालय शिक्षाको दशवर्षे रणनीतिक योजना बन्दै रहेछ, त्यसलाई पढेर सिक्ने अवसर मिल्यो । विषयवस्तु निकै राम्रोसँग प्रस्तुत गरिएको रहेछ । 

शिक्षामा सुधारका लागि शिक्षक (गुरु–गुरुआमा) लाई सुधारको मूल विषय बनाउनू । तयारीको प्रक्रिया नै बदल्नू । घनीभूत रूपमा क्षमता विकास कार्यक्रम सञ्चालन गर्नू । नसक्नेलाई ससम्मान बिदाइ गर्नू । शिक्षक सहयोगको नियमित संयन्त्र बनाएर तात्तातै शिक्षकलाई सिक्ने र सिकाउने, स्याबासी दिने तथा निगरानी गर्ने पद्धतिको विकास गर्नू ।

बाबालबालिकाको सिकाइमा सहभागिताबारे कम चिन्ता र चिन्तन पाउँदा भने अलि दुःखी बनायो । जताततै समस्या नै समस्याजस्तो लाग्ने । शिक्षक साथीहरूका आआफ्नै गुनासा, कर्मचारीका त्यस्तै समस्या, निजी विद्यालका समस्या झन् चोटिला । प्राविधिक शिक्षातर्फका अव्यस्थाका समस्या । राजनीतिक नियुक्ति पाएकै पदाधिकारीबाट विश्वविद्यालयमा भागबन्डा र अधिक राजनीति भयो भन्ने चर्को आवाज सुन्दा दंग पर्थें । यी र यस्तै कुराले मलाई नराम्रोसँग घनचक्करमा फसेकोजस्तो अनुभव भइरहेको थियो । 

मेरो समस्या बुझेजस्तो गरेर फेरि आकाशवाणी भयो– हे मनुवा (मन्त्री) यस्तो घनचक्करमा अलमलिनुको कुनै अर्थ छैन, निकास सहज छ । कुरा राम्रोसँग सुन्नू र सोअनुसार गर्नू । मन्त्री तिमी आफैँ धेरै व्यक्तिगत स्वार्थमा लाग्ने सोच देख्दिनँ । पहिलेका मन्त्रीहरूबाट वरपरका झुन्डलाई परिचालन गरेर व्यक्तिगत र समूहगत लाभमा लागे । कसैले पनि थाहा नपाउने गरी यस्तो काम गरिएको भनेर आत्मरतिमा रमाए पनि त्यो पूर्ण पारदर्शी थियो । तर, तिमीले यस विषयमा कुनै हालतमा विवेक गुमाउनु हुँदैन, यही नै होसियार हुनुपर्ने पहिलो कुरा हो । 

दोस्रो कुरा– शिक्षक (गुरु–गुरुआमा) लाई सुधारको मूल विषय बनाउनू । तयारीको प्रक्रिया नै बदल्नू । घनीभूत रूपमा क्षमता विकास कार्यक्रम सञ्चालन गर्नू । नसक्नेलाई ससम्मान बिदाइ गर्नू । शिक्षक सहयोगको नियमित संयन्त्र बनाएर तात्तातै शिक्षकलाई सिक्ने र सिकाउने, स्याबासी दिने तथा निगरानी गर्ने पद्धतिको विकास गर्नू । हाम्रो पाठ्यक्रममा खासै समस्या छैन । पाठ्यक्रममा भएका विषयवस्तुलाई तिनको मर्मअनुसार सिकाउन सक्ने शिक्षक तयार गर्नु नै मूल कुरा हो । यसको सुरुवात प्रधानाध्यापकको उचित व्यवस्था गरेर सुरु गर्नू । 

लेखक : डा. भोजराज शर्मा काफ्ले

ध्यानपूर्वक सुन्नुपर्ने विषयवस्तु धेरै छन् । केही बालबालिका अझै विद्यालयमा आउन सकिरहेका छैनन् । ती साह्रो थोरै मात्र छन् र निकै गरिब र असजिलो परिवेशमा जीवन बिताएका घरपरिवारका सन्तान हुन् । संविधान जारी गरेपछि सबैलाई आधारभूत शिक्षा अनिवार्य र निःशुल्क भनी गरिएको व्यवस्थाबाट उनीहरू साह्रै खुसी थिए । अहिले निराश छन् ! उनीहरूको कथाव्यथा सुन्दै गर्दा मेरो पनि आत्मामा चोट परेको छ । भक्कानो छाडेर रुनेजस्तो भएँ । उनीहरूका लागि भनेर दिवा खाजा, छात्रवृत्तिजस्ता राज्यकोषबाट विनियोजन भएको रकमको उपयोग त्यसको भावना र मर्मअनुसार भएको छैन । त्यसैलाई व्यवस्थित गर्न सके मात्र पनि ती समुदाय खुसी हुने थिए । घरमा खान नपाएका बालबालिकाले विद्यालयमा पोषिलो दिवाखाजा खाना पाएमा कति खुसी होलान्, आफैँ कल्पना गर्नू । कुरा सामान्य हो, राज्यको रकम खर्च भएको छ, तर १० प्रतिशत पनि राम्रोसँग उपयोग भएको छैन । 

विद्यालयहरू न्यूनतम पूर्वाधारसमेत पूरा नभई चलेका छन् । सम्भ्रान्तहरूको राज्यमा पहुँच भएका ठाउँमा राम्रै पूर्वाधार छ । सूचना तथा सञ्चार प्रविधिको युगमा त्यसको प्रयोग र उपयोग सबैले समान किसिमले गर्न पाएका छैनन् । यस सम्बन्धमा एउटा खुसीको कुरा हाम्रा सबैजसो विद्यालयमा अब विद्युत्को पहुँच हुने देखिएको छ । धेरै विकास साझेदारहरू सहयोग गर्न तयार भएर बसेका छन् । स्पस्ट नेतृत्व, कार्ययोजना र रणनीति नहुँदा अलमलमा छन् । 

कक्षा १ मा पढ्नेभन्दा पहिला (बालविकास) का बाबबालिकाको सर्वांगीण विकास नै नेपालको विकास (मानवसंसाधन) को दूरदृष्टि हो । यस विषयमा अपेक्षित ध्यान पुगेको देखिएन । सबै स्थानीय तहले यसलाई सहजै सम्बोधन गर्न सक्छन् । तर, अक्कल छैन, उहाँहरूलाई सिकाउने र क्षमतावान् बनाउने काम तिमीहरू संघका मान्छे हौ । 

मुलुकको भूबनोटअनुसारको शिक्षा सुधारको जैविक बाटो पहिचान भइसकेको छ । सुधारले गति लिन साह्रै धेरै लाग्दैन । रकम लाग्ने र नलाग्ने दुई प्रकारका विषयवस्तुमा उचित ध्यान दिनू । आफँैले गर्न सक्ने र नसक्ने काम छुट्याउनू । नेतृत्वले विश्वास दिलाएर सहजीकरण गरेमा पैसाविनै धेरै प्वाल टाल्न सकिन्छ भन्नेमा आत्माबल बढाउनू ।   

ऐँठन ः यसरी तन्द्रामै थिएँ । झ्वाप्पै समात्यो । समाजवादको हवाला दिँदै, सम्पन्न देशको उदाहरण दिएर, शिक्षामा निजी क्षेत्रको वर्चस्व मास्ने तेरो बुद्धि कच्चा छ । त्यो कर्मचारीले दिएको बुद्धि हो । सिद्धान्त पढेका, व्यवहार नबुझेका प्राज्ञ भनाउँदाको अर्ती हो । थाहा हुनुपर्ने हो– उच्चस्तरीय शिक्षा आयोगको प्रतिवेदनमा समाजवाद र यस्ता के–के जाति विषय नराख भन्दाभन्दै मानेनन् । त्यही कारणले प्रतिवेदन नै बाहिर ल्याउन दिएनौँ । कुरा यसरी बुझ्नू कि हामी मन्त्री र प्रधानमन्त्रीभन्दा पनि शक्तिशाली छौँ । राज्यका दलभन्दा शक्तिशाली छौँ । किन र कसरी थाहा पक्कै होला । 

सुनकाण्डको पृष्ठभूमि थाहा छ कि छैन । सिन्डिकेटको सरकारको प्रयास नाटकमा परिणत भएको थाहा छ कि छैन । ठेकेदारको कारबाही नाटक मञ्चनको राम्रै याद होला । आफू र आफ्नो परिवार, दुःख पाएका आफन्तलाई हेर्नू नि ! हामीले त्यति राम्रो तरिका सिकाउँदा सिकाउँदै । यसले त हामीलाई मात्र होइन, आफ्नो घरपरिवार र आफन्तलाई पनि सुख दिँदैन । 

अन्त्यमा ः मलाई त हजुर ! तपाईंले साह्रै धेरै र चाहिनेभन्दा बढी चिन्तन र चिन्ता गरेजस्तो लाग्यो । मेडिकल साइन्सले मानीसक चिन्ता बढी लिनाले ऐँठन (स्लिपिङ प्यारालाइसिस) हुन्छ भन्छ । नसकिने र आदर्शका कुरालाई व्यवहारमा उतार्छु भनेर हुन्छ र ! आखिरी यो समाज, हाम्रो पार्टी, अरू दल सबै यस्तै छ यहाँ । फेरि हजुरलाई प्रधानमन्त्री र हजुरको दलले शिक्षामा ठूलो सुधार गर्नू । नेपालको भविष्य त्यसैमा छ भनेर शिक्षामन्त्री बनाएका हुन र ! एकजना कसैलाई पठाउनैपर्ने थियो । त्यो एकजनामा हजुर परिस्या त हो नि । 

हजुरको चिन्ता र चिन्तन पटक्कै सान्दर्भिक भएन । त्यो सपनाभन्दा पनि असान्दर्भिक र तनावपूर्ण चिन्तनको अर्धचेतन मस्तिकको अस्वीकृति हो । यो वास्तविकतालाई हजुरले स्वीकार गर्नुपर्छ । ती हजुरलाई घाँटी अँठ्याउने मुन्द्रे, कपाल खौरेका मोटा र भीमकाय स्वरूप त मानवभन्दा पनि भिन्न यस युगका राज्य व्यवस्थामा पहुँच भएका अदृश्य पात्र हुन् । तिनले अदृश्य शक्तिका बलमा केही घण्टामा गठबन्धन नै परिवर्तन गरिदिन्छन् । त्यसको आभास तिनै गठबन्धनका नेतालाई हुँदैन । 

हजुरले बढी चिन्ता लिनाले रक्तचाप वा श्वासप्रश्वासमा समस्या आयो । अर्धचेतन मनले चेतन मनलाई निर्देश गरेको छ हजुरलाई ! भएको ऐँठनलाई त्यसरी नै बुझ्नुपर्छ । यसलाई शुभ संकेतका रूपमा लिनुपर्छ जस्तो लाग्छ । हो, असहायका स्वरहरू पीडाका हुन्छन्, कारुणिक हुन्छन्, तर मन्त्री एक्लैले सुनेर पुग्दैन र सकिँदैन । परिवर्तन सन्दर्भ सापेक्ष हुन्छ । सन्दर्भ र परिवेश नमिलेको परिवर्तन खोजी एउटा गल्लीमा हराएको सामान अर्को गल्लीमा खोजेजस्तो गरेर आफैँलाई मानसिक र शारीरिक रूपमा कमजोर नबनाऔँ ।