
राष्ट्रपति विद्यादेवी भण्डारीले साझा यातायातले हालै नेपाल भित्र्याएको विद्युतीय बसको उद्घाटन गरेकी छिन् । राष्ट्रपतिनिवास शीतलनिवासबाट विद्युतीय बसमा चढी पाटनढोका आएर उनले बसको उद्घाटन गरेकी हुन् ।
हाकुपटासीमा सजिएर पाटन आएकी राष्ट्रपति भण्डारीलाई ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले स्वागत गरेका थिए । उनले पाटनढोकामा रहेको मदन पुरस्कार पुस्तकालयको अवलोकनसमेत गरेकी थिइन् । राष्ट्रपति भण्डारीले पुस्तकालयमा रहेको हस्तलिखित स्वस्थानी व्रतकथाको समेत अध्ययन गरिन् ।
पुस्तकालयको अवलोकनपश्चात् राष्ट्रपति भण्डारी हिँडेर अवलोकनका लागि पिम्बहाः पुखु पुगेकी थिइन् । पिम्बहाःमा उनले नेवारी भजन श्रवणसँगै पिम्बहाः पुखुको इतिहासबारे जानकारी लिएकी थिइन् । काठमाडौंको रानीपोखरीभन्दा पुरानो पिम्बहाः पुखुको पुरानो नाम जगमदु पुखु हो । पुस्तकालय र पिम्बहाः पुखुको अवलोकनपश्चात् पुनः राष्ट्रपति भण्डारी साझाको विद्युतीय बसमा शीतलनिवास फर्किएकी थिइन् ।