१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ पौष २१ बिहीबार
  • Friday, 09 May, 2025
२o७९ पौष २१ बिहीबार १२:३१:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

ओखलढुंगामा पाँच करोडको सुन्तला उत्पादन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ पौष २१ बिहीबार १२:३१:oo

यस वर्ष ओखलढुंगामा पाँच करोड रुपैयाँबराबरको सुन्तला उत्पादन भएको छ। कृषि ज्ञान केन्द्र ओखलढुंगाको तथ्यांकअनुसार जिल्लामा आर्थिक वर्ष ०७९/८० मा पाँच करोड मूल्यबराबरको सुन्तला उत्पादन भएको हो।

जिल्लामा दुई सय ६७ हेक्टर क्षेत्रफलमा गरिएको खेतीबाट आठ सय ५० मेट्रिक टन सुन्तला उत्पादन भएको कृषि ज्ञान केन्द्रका कृषि अर्थविज्ञ गणेश अधिकारीले बताए।

अधिकारीका अनुसार अघिल्लो आर्थिक वर्षमा भन्दा चालू आर्थिक वर्षमा २६ मेट्रिक टन बढी सुन्तला फलेको छ। आर्थिक वर्ष ०७८/७९ मा आठ सय २४ मेट्रिक टन सुन्तला उत्पादन भएको थियो।

यस वर्ष उत्पादन भएको सुन्तला जिल्लामा प्रतिकिलो ६० रुपैयाँका दरले बिक्री गर्दा पाँच करोडभन्दा बढी रकमको हुने कार्यालयका निमित्त प्रमुख हेमबहादुर आलेको भनाइ छ। समयमै पानी परेको र रोग किरा कम लागेकाले सुन्तला उत्पादन बढेको आलेले बताए।

सुन्तला बोटमै अहिले ६० देखि ८० रुपैयाँ प्रतिकिलोका दरले बिक्री भइरहेको छ। स्थानीय बजारमा सुन्तला प्रतिकिलो ८० देखी एक सय २० रुपैयाँमा बिक्री भइरहेको छ। जिल्लाको सिद्धिचरण नगरपालिका, चिशंखुगढी, मानेभञ्ज्याङ र सुनकोसी गाउँपालिकाको माथिल्लो क्षेत्रमा सुन्तला खेती गरिन्छ।

विगतका वर्षहरूमा प्रशस्त सुन्तला उत्पादन हुने मानेभञ्ज्याङ गाउँपालिकाको उँबु, वाक्सा, उदयपुर र माधपुर क्षेत्रमा भने सुन्तला मासिँदै गएको कार्यालयले जनाएको छ।