
महिलाहरूलाई नेतृत्वमा अवसर दिएर व्यावहारिक रूपमा लैंगिक समानता ल्याउने मोरङका राजनीतिक दल र पुरुष जनप्रतिनिधिहरूले प्रतिबद्धता जनाएका छन्। दलित महिला केन्द्रले बिहीबार विराटनगरमा आयोजना गरेको अन्तर्क्रियामा दलका नेता र पुरुष जनप्रतिनिधिहरूले उक्त प्रतिबद्धता जनाएका हुन्।
एकीकृत समाजवादी प्रदेश १ का सदस्य कविराज घिमिरेले घरदेखि दलसम्म महिलालाई नेतृत्वमा अवसर दिन सके मात्र समाजबाट लैंगिक असमानता हट्ने उल्लेख गर्दै आफू र आफ्नो पार्टी त्यसका लागि सजग र सचेत रहने प्रतिबद्धता गरे। माओवादी केन्द्र मोरङका संयोजक विजय विश्वासले जनयुद्ध र जनआन्दोलनपछि निर्माण भएको ०७२ को संविधानले महिलालाई अधिकार दिए पनि पुरुषवादी चिन्तनमा परिवर्तन नआउँदा लैंगिक समानता आउन नसकेको औँल्याए।
त्यसैगरी, नेपाली कांग्रेस मोरङका सहसचिव भुवनेश्वर राजवंशीले अवसर पाएमा महिलाले सफल रूपमा नेतृत्व निर्वाह गर्न सक्छन् भन्ने प्रशस्त उदाहरण रहेकाले उनीहरूलाई घर र दल दुवैमा अवसर दिन आफूहरू तयार रहेका उल्लेख गरे। जनता समाजवादी पार्टी मोरङका नेता राधे कामतले महिलालाई नेतृत्व दिन सबै राजनीतिक दलहरू प्रतिबद्ध हुनुपर्नेमा जोड दिए।
अन्तर्क्रियामा गाउँपालिकाका र नगरपालिका प्रमुख तथा उपप्रमुख र प्रशासकीय अधिकृतहरूले लैंगिक समानताका लागि महिलालाई पुरुषले पनि साथ दिनुपर्ने आशय व्यक्त गरेका थिए।
दलित महिला केन्द्रकी केन्द्रीय उपाध्यक्ष लक्ष्मी परियारले राजनीतिमा महिलाहरूको नेतृत्व सबल नभएसम्म समाजमा लैंगिक समानता आउन नसक्ने भन्दै जनप्रतिनिधि, दलका नेता र महिलाहरूका लागि निरन्तर क्षमता अभिवृद्धि र सशक्तिकरण आवश्यक रहेको बताइन्।