मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७९ मङ्सिर ७ बुधबार ०६:१६:००
Read Time : > 3 मिनेट
खेलकुद प्रिन्ट संस्करण

३२ वर्षपछि अर्जेन्टिना पहिलो खेलमै स्तब्ध

Read Time : > 3 मिनेट
२०७९ मङ्सिर ७ बुधबार ०६:१६:००

३२ वर्षपछि अर्जेन्टिना विश्वकप फुटबल प्रतियोगिताको आफ्नो पहिलो खेलमै पराजित भएको छ । २२औँ संस्करणको कतार विश्वकपमा अर्जेन्टिना मंगलबार समूह ‘सी’मा एसियन राष्ट्र साउदी अरेबियासँग २–१ ले स्तब्ध भयो । सन् १९९० मा अर्जेन्टिना उद्घाटन खेलमै क्यामरुनसँग १–० ले पराजित भएको थियो । चालू विश्वकपमा अर्जेन्टिनाले बेहोरेको नतिजा अहिलेसम्मकै अप्रत्याशित हो । हारसँगै अर्जेन्टिनाले इटालीको नाममा सर्वाधिक अन्तर्राष्ट्रिय खेलमा अपराजित रहेको विश्व कीर्तिमान तोड्नसमेत असफल भएको छ ।

अर्जेन्टिनाको अपराजित यात्रा ३६ खेलसँगै समाप्त भएको छ । सन् २०२१ को कोपा अमेरिकापछि अर्जेन्टिना ३६ खेलसम्म अपराजित थियो । जितसँगै समूह ‘सी’मा कमजोर मानिएको साउदी अरेबियाले महत्वपूर्ण तीन अंक जोडेको छ । विश्वकप उपाधि दाबेदार अर्जेन्टिना अंकविहीन छ । आउने शनिबार अर्जेन्टिनाले मेक्सिकोको सामना गर्नेछ । साउदी अरेबियाले पोल्यान्डविरुद्ध खेल्नेछ ।

साउदी अरेबियाले हालसम्म विश्वकपमा सबैभन्दा ठूलो टोलीलाई स्तब्ध पारेको हो । सन् १९९४ मा अमेरिकामा भएको विश्वकपको समूह चरणमै साउदी अरेबियाले युरोपेली प्रतिद्वन्द्वी बेल्जियमलाई १–० ले हराएको थियो । कप्तान लियोनल मेसीले खेलको १०औँ मिनेटमा पेनाल्टी गोल गर्दै अर्जेन्टिनालाई १–० को अग्रता दिलाएका थिए । लेआन्द्रो परेडेजलाई बक्सभित्र लडाएपछि भिडियो असिस्टेन रेफ्री (भार)ले अर्जेन्टिनालाई पेनाल्टी अवसर दिएको थियो । मेसीले बायाँ कर्नरमा गोल गरे । विश्वकप इतिहासमा मेसी अर्जेन्टिनाका लागि लगातार चार संस्करणमा गोल गर्ने पहिलो खेलाडी बने । 

पहिलो हाफमा साउदी अरेबियाको बलियो रक्षापंक्ति अर्जेन्टिनी स्टार खेलाडीले तोड्न सकेनन् । मध्यान्तरपछि साउदी अरेबियाले काउन्टर अट्याकमा अर्जेन्टिनामाथि दबाब राखेको थियो । दोस्रो हाफमा अर्जेन्टिना सम्हालिन नपाउँदै साउदी अरेबियाले ४८औँ मिनेटमा १–१ को बराबरी गोल गर्न सफल भयो । सलेह अल सहरीले साउदी अरेबियालाई खेलमा फर्काए । फिफा वरीयतामा ५१औँ स्थानमा रहेको साउदी अरेबियाको जितमा सलेह अल दासरीले ५३औँ मिनेटमा टप कर्नरमा उत्कृष्ट गोल गरे । 

अर्जेन्टिनाले गोलका थुप्रै प्रयास गरेको थियो । तर, अर्जेन्टिनी खेलाडी फिनिसिङमा चुक्दा साउदी अरेबियाले चालू विश्वकपमा सनसनी नतिजा निकाल्यो । खेलको २९औँ मिनेटमा मार्टिनेजको गोललाई भारले अफसाइड मान्यता दिएको थियो । खेलमा अर्जेन्टिनाका मेसीसहित स्टार खेलाडीहरू मार्टिनेज, जुलियन अल्भारेज र एन्जेल डी मारिया गोल गर्न असफल भए । पहिलो हाफमा तीन गोल अफसाइडका कारण रद्द हुँदा अर्जेन्टिना दुर्भाग्यशाली साबित भयो ।अर्जेन्टिनाले साउदी अरेबियाको पोस्टमा १५ मध्ये ६ वटा प्रहार फ्रेममा राखेको थियो । दोस्रो हाफमा सन्तुलित डिफेन्सको उत्कृष्ट नमुना देखाएको साउदी अरेबियाले अर्जेन्टिनाका कुनै पनि प्रयास सफल हुन दिएन ।

डेनमार्क र ट्युनिसिया बराबरीमा
अफ्रिकन राष्ट्र टयुनिसियाले विश्वकपअन्तर्गत समूह ‘डी’मा बलियो प्रतिद्वन्द्वी डेनमार्कलाई गोलरहित बराबरीमा रोकेको छ । एजुकेसन सिटी रंगशालामा मंगलबार राति भएको प्रतिस्पर्धात्मक खेलमा दुवै टोलीले गोल गर्न नसक्दा खेलको नतिजा गोलरहित बराबरी भएको हो । चालू विश्वकपमा डेनमार्क र ट्युनिसियाबीच पहिलोपटक गोलरहित बराबरी भयो । सोमबार राति अमेरिका र वेल्सले १–१ गोलको बराबरी खेलेका थिए । प्रतिस्पर्धामा डेनमार्कले ट्युनिसियाविरुद्ध ६० प्रतिशत बल पोसेसन राखेको थियो । 

डेनमार्कको अट्याकिङ खेलमा ट्युनिसियाका गोलरक्षक आयमेन व्यस्त रहे । खेलको अन्तिम इन्जुरी समयमा डेनमार्कले पेनाल्टीका लागि अपिल गरेको थियो । तर, भिएआरले डेनमार्कको पेनाल्टी अपिल अस्वीकार गर्‍यो । ६९औँ मिनेटमा क्रिस्टियन एरिक्सनको प्रहार पोस्टनजिक हुँदै बाहिरियो । 

 पोल्यान्ड र मोरक्को बराबरीमा
उत्कृष्ट फर्ममा रहेका रोबर्ट लेवान्डोस्कीले पेनाल्टी मिस गर्दा मंगलबार पोल्यान्डले विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत समूह सीमा मेक्सिकोसँग गोलरहित बराबरी खेलेको छ । चालू प्रतियोगितामा गोलरहित बराबरी नतिजा आएको यो दोस्रो खेल हो । यस समूहमा साउदी अरेबिया तीन अंकका साथ शीर्ष स्थानमा छ । एक–एक अंक बाँडेको पोल्यान्ड र मेक्सिको क्रमशः दोस्रो तथा तेस्रो स्थानमा छन् । दुईपटकको विजेता अर्जेन्टिना अंकविहीन छ ।

खेलको ५८औँ मिनेटमा पोल्यान्डले पेनाल्टी प्रहार गर्ने अवसर पाएको थियो । पोल्यान्डका लेवान्डोस्कीले पेनाल्टी प्रहार गरेका थिए । उनको प्रहारलाई मेक्सिकोका गोलरक्षक गिलेर्मो ओचाले विफल पारे । यससँगै पोल्यान्डले खेलमा  अग्रता अवसर गुमायो । मेक्सिकोका हेक्टर मोरेनोले लेवान्डोस्कीलाई नै पेनाल्टी एरियामा लडाएका थिए । भिएआरको सहयोगमा रेफ्रीले पोल्यान्डलाई पेनाल्टी प्रहार गर्ने अवसर दिए । तर, पोल्यान्डले त्यसलाई सदुपयोग गर्न सकेन । 

विश्वकप इतिहासमा लेवान्डोस्की असफल पेनाल्टी प्रहार गर्ने तेस्रो पोल्यान्डका खेलाडी बनेका छन् । सन् १९७८ मा काजिमेर डेयना तथा सन् २००२ मा मासिज जुवास्कीले निर्धारित समयमा प्राप्त पेनाल्टीमा गोल गर्न सकेनन् ।पोल्यान्ड र मेक्सिकोबीच खेल प्रतिस्पर्धात्मक बनेको थियो । दुवै टोली काउन्टर एट्याक्टमा गोलका लागि प्रयासरत देखिन्थे । खेलको ६५औँ मिनेटमा मेक्सिकोले एक अवसर खेर फाल्यो । हेन्री मार्टिनको क्लोज रेन्जबाट हेडिङ गरेको बललाई पोल्यान्डका गोलरक्षक वासिचेक स्चसेस्नीले उत्कृष्ट बचाउ गरे । 

अल्भारो मोरटा (स्पेन)
दक्षिण अमेरिकी टोलीविरुद्ध विश्वकपमा पहिलोपटक प्रतिस्पर्धा गर्दा स्पेनी अग्रपंक्तिको नेतृत्व अल्भारो मोरटाले गर्नेछन् । ३० वर्षीय खेलाडी द्रुत गतिमा बल बढाउँदै फिनिसिङ गर्न माहिर छन् । मोरटासँग युरोपियन फुटबलको राम्रो अनुभव छ । रियल म्याड्रिड, युभेन्टस्, चेल्सी र एट्लेटिको म्याड्रिडमा रहँदा उनी सधैँ लयमा देखिए । सन् २०१४ बाट डेब्यु गरेका मोरटाले ५७ खेलमा २७ गोल गरेका छन् । कोस्टारिकाविरुद्ध स्पेनले मोरटाबाट ठूलो आशा गरेको छ । 

मल मुजसियला (जर्मनी)
थोमस मुलर अन्तिम विश्वकपको दौडमा छन् । सन् २०१० यता विश्वकपमा डेब्यु गरेका मुलरले १६ खेलमा १० गोल गरिसकेका छन् । प्रशिक्षक फ्लिक अनुभवी मुलरभन्दा पनि युवा अट्याकर जमल मुसियलालाई विश्वास गर्छन् । बायर्न म्युनिखमा मुलरसँगैै अग्रपंक्तिमा देखिने जमल जापानविरुद्ध मुख्य खेलाडी हुनेछन् । १९ वर्षीय जमलले बायर्न म्युनिखका लागि यस सिजनमा नौ गोल गरिसकेका छन् । 

जापानविरुद्ध जर्मनीको परीक्षा

चारपटकको विश्व च्याम्पियन जर्मनीले समूह ‘ई’ मा जापानविरुद्ध मैदानमा उत्रँदै कतार विश्वकपको सुरुआत गर्दै छ । खालिफा अन्तर्राष्ट्रिय रंगशालामा जापानविरुद्ध जर्मनी निकै सजग हुनेछ । चार वर्षअघि रसियामा बेहोरेको अस्वाभाविक नतिजापछि जर्मनीले पक्कै सोच परिवर्तन गरेको छ । चार वर्षअघि दुई खेलमा पराजित हुँदा साबिक विजेता जर्मनी समूह चरणबाटै बाहिरिएको थियो । जर्मनीको समूहमा स्पेन र कोस्टारिका छन् । पहिलो जितसँगै जर्मनीको लक्ष्य प्रिक्वार्टरफाइनल यात्रा बलियो बनाउने हुनेछ । हान्सी फ्लिकको जर्मनी सन्तुलित छ । जमल मुसियला, थोमस मुलर, सर्जी जिनाब्री, काइ हाभर्टजस्ता खेलाडी जापानको रक्षापंक्ति तोड्ने लक्ष्यमा हुनेछन् । हाजिमी मोरियासुको जापानसमेत युरोपमा राम्ररी भिजेका खेलाडीको प्रदर्शनमा अप्रत्याशित नतिजा निकाल्ने योजनामा छ । 

 स्पेनलाई युवा खेलाडीको भर
स्पेनिस कप्तान सर्जियो बुस्केटले विश्वकपपछिको अवस्थालाई लिएर कुनै निर्णय लिएका छैनन् । ३४ वर्षीय प्लेमेकरले चार विश्वकप खेलिसकेका छन् । पाँचौँपटक विश्वकप खेल्दा बार्सिलोनाका मिडफिल्डर बुस्केटले अनुभव प्रयोग गर्नेछन् । सन् २०१० मा स्पेनलाई विश्वकप जिताउन उनले महत्वपूर्ण भूमिका खेलेका थिए । युवा टोलीलाई प्राथमिकतामा राखेको स्पेनले समूह ‘ई’मा बुधबार कोस्टारिकासँग खेल्दै कतार विश्वकप यात्रा सुरु गर्नेछ ।

पछिल्लो तीन संस्करणमा स्पेन पहिलो खेलमा जितविहीन रह्यो । स्पेनका लेफ्ट ब्याक जस गायाको स्थानमा बार्सिलोनाका एलेक्जान्द्रोले स्थान बनाएका छन् । कोस्टारिकालाई अल्भारो मोराटा, फेरान टोरेज, डानी ओल्मो, पेड्री र गाभीलगायत बलिया अट्याकरबाट जोगिनुपर्ने हुन्छ । लुइस इन्रिकको प्रशिक्षणमा रहेको स्पेनको रणनीति ‘टिकिटाका’ नै हुनेछ । स्पेन र कोस्टारिका विश्वकपमा पहिलोपटक आमनेसामने हुन लागेका हुन् । मैत्रीपूर्ण खेलमा तीन भेट भएको छ । दुई खेल स्पेनले आफ्नो पक्षमा राख्दा एक खेल बराबरीमा टुंगिएको छ । स्पेनले तीनवटै भेटमा गरी कोस्टारिकाको पोस्टमा १२ गोल गरेको छ ।