कोशी प्रदेशका झापा, मोरङ र सुनसरी जिल्लामा बर्ड–फ्लु संक्रमण तीव्र रूपमा फैलिएको छ । बर्ड–फ्लु संक्रमण पुष्टि भएका क्षेत्रहरूमा नियन्त्रणका लागि जिल्ला प्राविधिक समितिको निर्णयअनुसार प्रभावित स्थानको तीन किलोमिटर क्षेत्रमा चार किल्ला तोकेर पक्षी र पक्षीजन्य वस्तुको नष्ट गर्ने क्रम अघि बढाइएको छ । साथै, ४१ दिनसम्म संक्रमित क्षेत्रमा आवतजावत तथा पक्षीजन्य पदार्थको ओसारपसार र उत्पादनमा पूर्ण प्रतिबन्ध लगाएको छ ।
उद्योग कृषि सहकारी मन्त्रालय कोशीका पशुपक्षी महाशाखाका अनुसार मंगलबारसम्म झापा, मोरङ र सुनसरीको १२ स्थानमा रहेका कुखुरा फर्महरूमा बर्डफ्लु संक्रमण भएको पुष्टि भइसकेको छ । यसैले ती स्थानहरूमा चार किल्ला तोकेर फर्महरूमा रहेका कुखुरा, अन्डा र स्टकमा रहेका दानाहरू स्थानीय प्राविधिकले धमाधम नष्ट गर्न थालेका छन् । मन्त्रालयको पशुपक्षी महाशाखा प्रमुख डा. दीपा दिवालीका अनुसार मंगलबारसम्म बर्डफ्लु संक्रमण पुष्टि भइसकेका मोरङका ६, सुनसरीका ५ र झापाको १ गरी जम्मा १२ स्थानमा रहेका कुखुरा फर्मबाट ५५ हजार कुखुरा, एक लाख अन्डा १७ हजार केजी दाना नष्ट गरिसकिएको छ ।
गत ४ चैतदेखि सुरु भएको बर्डफ्लु संक्रमण हालसम्म विराटनगर महानगरपालिका– ४ स्थित दाहाल कृषि फार्म, सुन्दरहरैँचाको हलेसी महादेव फार्म र उर्लाबारीको अठियाबारी फार्म, कटहरीको ए टु जेड तथा कामख्या पोल्ट्री फार्ममा बर्डफ्लु संक्रमण भएको पुष्टि भइसकेको छ । सुनसरीको इटहरी उपमहानगरपालिका– १९ मा रहेको ओको कृषि फर्म, इटहरी– १७ मा रहेको लक्ष्मी पोल्ट्री फार्म, इटहरी– १८ मा रहेको रानी कृषि फार्म, इटहरी– ११ मा रहेको आलम कृषि फर्म, गढी गाउँपालिका– ५ मा रहेको संगीत कृषि फर्ममा पनि बर्डफ्लु संक्रमण भएको पुष्टि भएको छ । साथै, झापा दमक नगरपालिका– १० मा रहेको दमक एग्रिकल्चरमा बर्डफ्लुको संक्रमण देखिएको छ ।
पशुपछी रोग अन्वेषण प्रयोगशाला विराटनगरका अनुसार ४ चैतदेखि नै कोशी प्रदेशका तराईका जिल्लामा बर्डफ्लु संक्रमण पुष्टि हुन सुरु भएको थियो । यसैले तीव्र रूपमा बर्डफ्लु संक्रमण फैलिरहेको भन्दै उच्च सतर्कता अपनाउन कोशी सरकारको कृषि मन्त्रालयले ८ चैतमा मातहतका कार्यालयमार्फत कुखुरा व्यवसायी, पालिका र जिल्लास्थित कार्यालयलाई आग्रह गरेको थियो ।
पशुपक्षी रोग अन्वेषण प्रयोगशाला विराटनगरका प्रमुख डा. कमल गिरीका अनुसार प्रयोगशालामा परीक्षण गर्दा शंकास्पद देखिएका करिब ५० वटा स्याम्पल परीक्षणका लागि केन्द्रीय पशुपक्षी रोग अन्वेषण प्रयोगशाला काठमाडौंमा पठाउँदा विभिन्न स्थानमा रहेका फर्महरूका १२ वटा नमुनामा एच५एन१ पुष्टि भएको हो । उनका अनुसार गत साउनयता शंकास्पद देखिएका १९८ नमुना परीक्षणका लागि केन्द्रमा पठाउँदा ४५ नमुनामा बर्डफ्लु पुष्टि भइसकेको छ । पशुपक्षी विज्ञले बर्डफ्लु संक्रमण हुनुमा फागुन चैतमा तापक्रम कम हुनु, खुला भारतीय नाकाहरूबाट अवैध कुखुरा र दानाहरूको आयात नरोकिनु र व्यवसायीहरूले फर्महरूमा उच्च सतर्कता नअपनाउनु र शंकास्पद अवस्थामा पनि कुखुरा, अन्डा र दाना ओसारपसार भइरहनु मुख्य कारण मानेका छन् ।