
डेढ अर्ब रुपैयाँबराबरको हुन्डी तथा अभौतिक मुद्रा (क्रिप्टो करेन्सी)को कारोबारमा संलग्न रहेको अभियोगमा दुईजना भारतीय नागरिकलाई प्रहरीले सोमबार पक्राउ गरेको छ । पक्राउ पर्नेमा ललितपुर महानगरपालिका– २ सानेपा बस्ने भारत बिहार मोतिहारी घर भएका ४३ वर्षीय रूपेशकुमार गुप्ता र भारत बिहार पूर्वी चम्पारन बिजबानी घर भएका २२ वर्षीय विपिन कुमार छन् ।
सानेपा कालोपुलमा हुन्डी तथा अभौतिक मुद्राको कारोबार गरिरहेको भन्ने सूचनाका आधारमा केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)बाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । उनीहरूले राजतीर्थ ट्रेडर्स नाम गरेको किराना पसलको आवरणमा हुन्डी तथा अभौतिक मुद्राको कारोबार गरेको सिआइबीका प्रवक्ता एसपी युवराज खड्काले बताए । साथै, प्रहरीले उनीहरूको साथबाट ७४ ग्राम तौलको संरक्षित वन्यजन्तु कस्तुरीको विना (अखेटोपहार)जस्तो देखिने वस्तु एउटा, आठ लाख २० हजार नेपाली रुपैयाँ, १० हजार भारु र पाँचवटा मोबाइलसमेत बरामद गरेको छ ।
लामो समयदेखि नेपालमा बस्दै आएका उनीहरू विभिन्न किमिसका आर्थिक अपराधमा संलग्न रहेको प्रारम्भिक छानबिनमा खुलेको छ । खासगरी हुन्डीको कारोबारमा संलग्न उनीहरू पछिल्लो समय कारोबार मिलाउन क्रिप्टो कारोबारमा पनि संलग्न भएका हुन् । उनीहरूउपर अभौतिक मुद्राको प्रयोग गर्न नहुने, हुन्डीसम्बन्धी कारोबार गर्न नहुने कसुर र वन्यजन्तुसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाइएको सिआइबीका एसपी खड्काले बताए ।
डेढ करोड रुपैयाँसहित चिनियाँ समातिए
स्रोत नखुलेको करिब डेढ करोड नेपाली रुपैयाँसहित एक चिनियाँ पक्राउ परेका छन् । काठमाडौं महानगरपालिका– ६ बौद्ध नयाँबस्तीबाट स्रोत नखुलेको नगद एक करोड ४४ लाख रुपैयाँसहित काठमाडौं स्वयम्भू बस्ने चिनियाँ नागरिक ४० वर्षीय वाङ जियानलाई सोमबार राति प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनलाई बौद्धस्थित एक घरबाट नगदसहित पक्राउ गरेको एसपी अपिलराज बोहराले बताए । हुन्डीलगायत आपराधिक गतिविधिबाट उनले सो रकम आर्जन गरेको प्रहरी आशंका छ । पर्यटक भिसामा नेपाल बस्दै आएका ती चिनियाँ नागरिकको अन्य अपराधबारे विस्तृत अनुसन्धान थालिएको एसपी बोहराले बताए ।