१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Wednesday, 18 June, 2025
Invalid date format o६:१३:oo
Read Time : > 1 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

खोला दोहनविरुद्ध बोल्दा रास्वपाका दुई नेतामाथि वडाध्यक्षले गरे रड प्रहार 

कांग्रेसबाट निर्वाचित वडाध्यक्ष सुनील खनालले रास्वपाका दुई नेतालाई रडले हानेर घाइते बनाए

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format o६:१३:oo
  • आँधीखोलाको अस्तित्व संकटमा परेपछि नदी संरक्षणका लागि अभियानमा लागेका नेतामाथि रड प्रहार गर्ने कांग्रेसबाट निर्वाचित वालिङ– १० का वडाध्यक्ष सुनील खनाल फरार

स्याङ्जाको वालिङ नगरपालिका– १० का वडाध्यक्ष सुनील खनालले आँधीखोला बचाउ अभियान संघर्षको कार्यक्रमबाट फर्किरहेका रास्वपाका दुई नेतामाथि मंगलबार फलामको रड प्रहार गरेका छन् । कांग्रेसबाट निर्वाचित वडाध्यक्ष खनालले रास्वपाका केन्द्रीय सदस्यसमेत रहेका अभियन्ता मेघ आले र केन्द्रीय नेतृत्व क्षमता विकास विभागका सदस्य दिनकर नेपाल (दिनेश तिवारी)लाई वालिङ नगरपालिका–९, सुर्कौदीमा रडले हानेर घाइते बनाएका हुन् ।

आँधीखोला बचाउ अभियान संघर्षको घोषणा गरेर मोटरसाइकलमा फर्किरहेका वेला वडाध्यक्ष खनालले रोकेर एक्कासि फलामको रडले हानेको नेपालले बताए ।  नेपालको हातको हड्डी क्र्याक भएकाले थप उपचारका लागि पोखरा लगिएको छ । आले भने वालिङ प्राथमिक स्वास्थ्य चौकीमा उपचारपछि घर फर्किएका छन् । 

‘नदी संरक्षणको विषयमा, विधि प्रक्रिया र आँधीखोलाको दोहनको विरुद्धमा बोल्दा स्थानीयलाई धम्क्याएर निस्केका रहेछन् । हामी गौशालापट्टि जाने बाटोनिर आउँदै गर्दा मोटरसाइकल रोकेर फलामको रडले टाउकोमा हानिएको छ । हेलमेन्टको सिसा फुटेको छ । हातले छेक्दा चोट लागेको छ,’ नेपालले भने, ‘यस लेभलको गुन्डागर्दी जनप्रतिनिधि सुनील खनाल र एकजनाबाट भएको छ । ज्यान मार्ने उद्देश्यका साथ हामीमाथि आक्रमण भएको छ ।’ नेपालका अनुसार ढुंगागिट्टीलगायतको दोहनका कारण आँधीखोलाको अस्तित्व संकटमा परेपछि नदी संरक्षणका लागि अभियान घोषणा गरिएको हो ।

कुटपिटको केही समयपछि दुईजना प्रहरी घटनास्थल पुगेका थिए । जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायब उपरीक्षक प्रसन्नराज चौधरीले वडाध्यक्ष खनालले दुईजनामाथि रडले हानेको सूचना आएको घटनामाथि अनुसन्धान हुने बताए । ‘वडाध्यक्ष सम्पर्कमा छैनन्, फरार छन् । पीडितले बुधबार जाहेरी लिएर आएपछि प्रक्रिया अगाडि बढाउँछौँ,’ उनले भने ।

वालिङका मेयर कृष्ण खाँडले सुम्दीको रह घाटबाट दुई हजार पाँच सय घनमिटर ढुंगा, बालुवा, गिट्टी निकाल्न एक साताअघि निर्णय गरेर कार्यान्वयन भएकामा स्थानीयले भने विरोध गरिरहेका वेला दुःखद घटना भएको बताए । ‘हामीले कानुनी प्रक्रिया पूरा गरेर ढुंगागिट्टी निकाल्ने निर्णय गरेका थियौँ । तर, स्थानीय र केही सरोकारवालाको विरोध थियो । मेघ आलेले  विरोधको कार्यक्रम गर्ने भनेर मंगलबार लेख्नुभएको थियो । आलेलगायतको टोली घाटमा गएको र वडाध्यक्ष पनि गएको भन्ने सुनेको हुँ,’ उनले भने, ‘म काम विशेषले गल्याङ गएको थिए, मिडिया हेरेर घटनाबारे थाहा पाएको हुँ । वडाध्यक्षको मोबाइल अफ छ, भोलि गाउँ गएर घटनाबारे बुझ्छु ।’

घटनामा संलग्नलाई गिरफ्तार गरी कारबाही गर्न रास्वपाको माग 
रास्वपाले आक्रमणको घटनामा संलग्नलाई गिरफ्तार गरी कारबाही गर्न माग गरेको छ ।  रास्वपा कार्यवाहक प्रवक्ता मनीष झाले विज्ञप्ति जारी गर्दै ‘आँधीखोला नदीमा भएको चरम दोहन रोक्न र सम्भावित प्राकृतिक दुर्घटना नियन्त्रणका लागि आवश्यक पर्ने माग र चरम दोहनविरुद्धको आवाज उठाउँदा वडाध्यक्ष सुनील खनालले बाटोमै रोकेर रडले आक्रमण गरेका छन्,’ कार्यवाहक प्रवक्ता झाले विज्ञप्तिमा भनेका छन्, ‘यस जघन्य अपराधमा संलग्न सबैलाई अविलम्ब गिरफ्तार गरी हदैसम्मको कारबाही गरियोस् भन्ने माग राष्ट्रिय स्वतन्त्र पार्टीको रहेको छ ।’ देशमा विद्यमान लुटतन्त्रको अन्त्य रास्वपाले गर्ने भयले हिंसात्मक र आपराधिक आक्रमण गरिएको पनि विज्ञप्तिमा उल्लेख छ ।