
पाँचऔँलेलगायत विभिन्न जडीबुटीसहित जिल्ला प्रहरी कार्यालय रुपन्देहीले एकजनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सुरज कार्कीका अनुसार बुधबार दिउँसो १ बजे बुटवल उपमहानगरपालिका– २, आँखा अस्पताल भीमसेन टोलबाट ती व्यक्तिलाई पक्राउ गरिएको हो।
इलाका प्रहरी कार्यालय बुटवलबाट खटिएको प्रहरी टोलीले सोही स्थान बस्ने अहमद्दिन अलीको घर भाडामा लिई बस्दै आएका जुम्ला कनकासुन्दरी गाउँपालिका– ४ बस्ने ४८ वर्षका सुकबहादुर बुढालाई पक्राउ गरेको हो। बुढाले प्रतिबन्धित जडीबुटीहरू गोदाम गरी राखेको अवस्थामा बरामद गरिएको प्रहरीको भनाइ छ।
सेतो बोरा र सेतो प्लास्टिकको बाल्टीमा राखेको पाँचऔँले फेला पारी तौल गर्दा १६ किलो एक सय ग्राम (५ हजार ६३५ पिस) भेटिएको प्रहरीले जनाएको छ। सो परिमाणको अन्दाजी मूल्य २८ लाख १७ हजार ५ सय रुपैयाँ रहेको प्रहरीको भनाइ छ। त्यस्तै, प्रहरीले सेतो बोरामा राखिएको ९ किलो ६ सय ग्राम कुट्की, सेतो प्लास्टिकमा राखेको गिद्ध सिङे ५ थान र रुद्राक्ष ३ थान पनि बरामद गरिएको प्रनाउ कार्कीले जानकारी दिए।
प्रहरीले उनीमाथि थप अनुसन्धानका लागि सैनामैना सबडिभिजन वन कार्यालय रुपन्देहीमा बुझाएको छ।