
दुई वर्षअघिको सहिद स्मारक ‘ए’ डिभिजन लिगको रेलिगेसनको मुद्दा अहिलेसम्म टुंगो लागेको छैन । तर, अखिल नेपाल फुटबल संघ (एन्फा)को आयोजनामा भइरहेको ‘बी’ डिभिजन लिगबाट प्लानिङ ब्वाइज र श्री भगवती क्लब पहिलोपटक शीर्ष डिभिजनमा बढुवा भएका छन् । योसँगै शीर्ष डिभिजन खेल्ने क्लब १५ पुगेका छन् । २७ जेठ ०८० मा सम्पन्न ‘ए’ डिभिजन लिगमा खुमलटार युवा र एपिएफ क्लब ‘बी’ डिभिजनमा घटुवा भएका थिए ।
नवौँ स्थानमा रहेर लिग टुंगाएको थ्री स्टारले अयोग्य खेलाडी खेलाएको दाबी गर्दै एपिएफले एन्फामा उजुरी दिएको थियो । एपिएफको उजुरीपछि एन्फाले पहिलो चरणमा दुई अयोग्य विदेशी खेलाडीलाई समान ५० हजार तथा थ्री स्टारलाई तीन लाख जरिवाना गर्यो । एन्फा महासचिव किरण राईले मार्टिन अजयी र सेगुन पिटरसहित थ्री स्टारलाई कारबाही गरेका थिए । राईले खेलाडी र थ्री स्टारलाई कारबाही गरेको १९ पुस ०८० मा एपिएफलाई पत्र पठाएका थिए । भिसा समाप्त भएको र श्रम स्वीकृतविनै मार्टिन र पिटरलाई जावलाखेलविरुद्ध खेलाएको भन्दै एपिएफले उजुरी हालेको थियो । फिफा अनुशासन समितिको नियमअनुसार ३ अंक नघटाएपछि एपिएफले अपिल कमिटीमा उजुरी हाल्यो । धारा २८ मा अयोग्य क्लबको खेल जफत हुने र विपक्षीलाई ३–० ले विजयी गराइने उल्लेख छ ।
यता, थ्री स्टारले निर्णयमा चित्त नबुझेको भन्दै एन्फाकै अपिल कमिटीमा उजुरी दियो । एपिएफ र थ्री स्टारको उजुरीका विषयमा दुई वर्षसम्म निर्णय नहुँदा ०८० को ‘ए’ डिभिजन लिगको रेलिगेसनमा पर्ने क्लबको टुंगो लागेको छैन । यसअघि एन्फाले डिभिजन लिगको साइकल पूरा नहुँदासम्म निर्णय नहुने जनाएको थियो । एन्फाको दुई साताअघि धुलिखेलमा गरेको साधारणसभाबाटै आगामी पुसमा ‘ए’ डिभिजन लिग हुने तालिका सार्वजनिक गरेको छ ।
एन्फाले गरेन फिफाको नियम पालना
फिफाको अनुशासन कमिटीको नियमअनुसार कारबाही भएको टोलीको नतिजा उल्ट्याइने र ३ अंक खोसिन्छ । साथै, विपक्षी टोलीलाई ३ अंक प्रदान गरी ३–० को नतिजा प्रदान हुने उल्लेख छ । तर, एन्फाले दुई वर्षअघि सम्पन्न ‘ए’ डिभिजन लिगको निर्णय चित्त नबुझेका एपिएफ र थ्री स्टारको हकमा फिफाको नियम लागू गर्ने हिम्मत देखाएको छैन । यद्यपि, चालू ‘बी’ डिभिजन लिगमा भने एन्फाको अनुशासन कमिटीले नयाँ बस्तीलाई ३ अंक प्रदान गरेको थियो । यसैगरी, एन्फाले ‘सी’ डिभिजन लिगमा पनि आरसी ३२ विरुद्ध दुईपटक गरी ६ अंक खोस्यो ।
एन्फाले थ्री स्टार र एपिएफको उजुरीलाई फिफाको नियमअनुसार शतप्रतिशत लागू गर्दा एक टोली ‘बी’ डिभिजनमा घटुवा हुनेछ । थ्री स्टारको अपिल खेर गए रेलिगेसनमा पर्नेछ । नवौँ स्थानमा रहेको थ्री स्टारको ३ अंक खोसिँदा १३औँ स्थानमा रही दोस्रो डिभिजनमा पुग्नेछ भने एपिएफ १२औँ स्थानमा उक्लँदै रेलिगेसनबाट बच्नेछ ।
एपिएफ निर्णयको प्रतीक्षामा
एपिएफ फुटबल क्लबका कोषाध्यक्ष विजय केसीले फिफाको नियमअनुसारको निर्णयको प्रतीक्षामा रहेको बताए । ‘एन्फाले यही मुद्दामा थ्री स्टारलाई दोषी ठहर गरी जरिवाना तिरायो, तर अंक खोसिएन, हामीले अपिल कटिमीमा उजुरी दिएका छौँ,’ केसीले भने, ‘किन एन्फाले निर्णय गर्न नसकेको हो, धुलिखेल साधारणसभामा फिफाको प्रतिनिधिलाई सबै जानकारी गरायौँ, उहाँहरू सकारात्मक हुनुहुन्छ ।’
एन्फा प्रवक्ता सुरेश शाहले अपिल कमिटीलाई एन्फा नेतृत्वले दबाब नदिएको बताए । उनले एपिएफ र थ्री स्टारबीचको मुद्दा छिटै किनारा लाग्ने बताए ।
फिफा इथिक्स कमिटीमा के छ ?
फिफाको अनुशासन कमिटीले खेलाडी अयोग्य हुँदा क्लब र खेलाडीलाई कारबाही गरिने उल्लेख छ । कमिटीको धारा १९ मा कारबाहीको प्रावधान उल्लेख गरिएको छ । ‘मैदानमा उतारिएको खेलाडीलाई अयोग्य घोषित गरियो भने खेलाडीलाई कारबाही तथा सम्बन्धित टोलीको खेल जफत गरिनेछ,’ धारा १९ मा भनिएको छ । यसैगरी, धारा २८ मा अयोग्य टोलीको खेल जफत गर्दा विपक्षी ३–० ले विजयी हुने भनिएको छ । धारा ५६.१ ले कुनै खेलाडी अयोग्य हुँदाहुँदै मैदानमा उत्रिएको खण्डमा अपराध ठहरिने बताएको छ । यो धाराले खेलाडी र क्लब दुवैलाई समान एक हजार अमेरिकी डलर जरिवाना गर्ने उल्लेख गरिएको छ ।
‘ए’ डिभिजन लिगमा रहेका क्लब
चर्च ब्वाइज, मच्छिन्द्र फुटबल, नेपाल पुलिसजावलाखेल युथ, सातदोबाटो युथ, न्युरोड टिम त्रिभुवन आर्मी, मनाङ मस्र्याङ्दी, थ्री स्टार, संकटा, हिमालयन शेर्पा, फ्रेन्ड्स, एपिएफ प्लानिङ ब्वाइज (बढुवा), श्री भगवती (बढुवा)