
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनमाथि थप ५० प्रतिशत भन्सार बढाउने धम्की दिएपछि चीनले मंगलबार ‘अन्त्यसम्म लड्ने’ प्रतिज्ञा गरेको छ । चीनको कठोर जवाफले व्यापार युद्ध बढ्न सक्ने डर बढेको छ । यसले पहिले नै खर्बौँ डलर गुमाइसकेको विश्वका प्रमुख सेयर बजारमा थप गिरावट देखिएको छ ।
ट्रम्पले गत हप्ता व्यापक भन्सार महसुल लगाएर विश्व अर्थतन्त्रलाई हल्लाइदिएका थिए । यसले अन्तर्राष्ट्रिय मन्दीको खतरा उत्पन्न गरेको छ । तर, बजारमा नाटकीय गिरावट आए पनि ट्रम्पले आफ्नो आक्रामक व्यापार नीतिमा कुनै परिवर्तन नहुने बताएका छन् ।
ट्रम्पले चिनियाँ आयातमाथि ३४ प्रतिशत भन्सार लगाएको जवाफमा बेइजिङले बिहीबारदेखि लागू हुने अमेरिकी सामानहरूमा आफ्नै ३४ प्रतिशत भन्सार शुल्कको घोषणा गरेको छ । चीनले जवाफी करबाट पछि नहटे उसका आयातमाथि थप ५० प्रतिशत कर लगाउने ट्रम्पले नयाँ चेतावनी दिएका छन् । यदि ट्रम्पले उनको चेनावनी कार्यान्वयन गरे भने अमेरिका आयात हुने चिनियाँ वस्तुहरूमा कुल भन्सार शुल्क १०४ प्रतिशत लाग्नेछ ।
‘मलाई चीनप्रति ठुलो सम्मान छ, तर उनीहरूले हामीमाथि भन्सार बढाउने कदम चाल्न सक्दैनन्,’ ट्रम्पले चिनियाँ कदमबारे टिप्पणी गर्दै ह्वाइट हाउसमा भने ।
उता अमेरिकाले गरेको ‘ब्ल्याकमेलिङ’को आलोचना गर्दै चीनले ‘अन्त्यसम्म लड्ने’ प्रतिबद्धता जनाएको छ । ‘ट्रम्पको धम्कीले एकपटक फेरि अमेरिकाको ब्ल्याकमेल गर्ने प्रकृतिलाई उजागर गर्दछ,’ बेइजिङको वाणिज्य मन्त्रालयका प्रवक्ताले मंगलबार भने,‘यदि अमेरिकाले आफ्ना भन्सार शुल्क बढाउँछ भने, चीनले आफ्नो अधिकार र हितहरूको रक्षा गर्न दृढतापूर्वक जवाफी कदम चाल्नेछ ।’ मन्त्रालयले आफ्नो देशले संयुक्त राज्य अमेरिकासँग ‘संवाद’ चाहेको र ‘व्यापार युद्धमा कुनै विजेता नहुने’ दोहोर्याेएको छ ।
बजारमा ठुलो गिरावट
ट्रम्पको भन्सार वृद्धिपछि विश्वभरका सेयर बजारमा आएको हलचल अझै रोकिएको छैन । एसियाली बजारमध्ये हङकङको ह्याङ सेङ सोमबार १३ दशमलव दुई प्रतिशतले गिरावट आयो । त्यसपछि मंगलबारको कारोबारको सुरुवातमा केही नोक्सानी फिर्ता भएको देखिएको थियो । उता, ठुलो गिरावटपछि वाल स्ट्रिटको सेयरहरू अझै गिरावट जारी देखिएका छन् । डाउ र एसएन्डपी ५०० दुवै घट्दै बन्द भए । ट्रम्पको भन्सार घोषणापछि अमेरिकाका सेयर बजारमा खर्बौँ डलर गुमिसक्यो ।
उता सोमबार सांघाईमा सेयरले ठुलो धक्का खाएपछि चीनको केन्द्रीय बैंकले मंगलबार कारोबार पुनः सुरु हुनुअघि एक बयान जारी गर्न बाध्य भयो । बयानमा बजारलाई स्थिर बनाउन एक्सचेन्ज ट्रेडेड फन्ड खरिद गर्दा यो सार्वभौम कोषको जवानी बस्ने उसले जोड दिएको छ ।
उता अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले फक्स न्युजसँगको अन्तर्वार्तामा जापानलगायत धेरै देशले अमेरिकी भन्सार महसुल छुटका लागि ‘वार्ता चाहेको बताएपछि सेयरहरू केही सुधार देखिएको छ ।
विश्वभरबाट अमेरिका भित्रिने सामानमा लाग्ने १० प्रतिशत ‘आधार’ भन्सार महसुल शनिबार लागू भयो भने बुधबारदेखि धेरै देशमा उच्च भन्सार शुल्क लाग्नेछ । यसमा चिनियाँ वस्तुहरूका लागि ३४ प्रतिशत र युरोपेली संघ (इयू) उत्पादनका लागि २० प्रतिशत भन्सार शुल्क समावेश छ ।
बजारले आफ्नो अस्थिर यात्रा जारी राख्दै गर्दा ट्रम्पले आमअमेरिकीहरूलाई केही समय कठिनाइका लागि तयार हुन आह्वान गरे । ट्रम्प भन्सार महसुलले विदेशी कम्पनीहरूलाई वस्तुहरू विदेशमा बनाउनुको सट्टा संयुक्त राज्य अमेरिकामा बनाउन बाध्य पार्ने विश्वास गर्छन् । यसो भए अमेरिकाबाट बाहिरिएको उद्योग फर्किने र अर्थतन्त्र तथा रोजगारी पुनर्जीवित हुने उनको अडान छ । तर, अधिकांश अर्थशास्त्रीहरू यस विचारले काम गर्नेमा आशंका जताउँछन् ।
जेपी मोर्गन चेजका सिइओ जेमी डिमोनले आउँदो मुद्रास्फीतिको चेतावनी दिँदै भने, ‘भन्सार महसुलको वृद्धि मन्दी ल्याउँछ वा ल्याउँदैन भन्ने ठोकुवाका साथ भन्न सकिँदैन । तर, निश्चित रूपमा आर्थिक वृद्धिलाई सुस्त पार्नेछ ।’ ट्रम्पका कट्टर समर्थक रहँदै आएका अमेरिकी सिनेटर टेड क्रुजले समेत भन्सार वृद्धिले सामान्य मतदाताहरूमा पर्ने प्रभावबारे चिन्ता व्यक्त गरेका छन् । ट्रम्पको यस नीतिले बेरोजगारी बढ्ने तथा मूल्य वृद्धि हुनसक्ने चेतावनी दिँदै यसले अर्को वर्ष हुने मध्यावधि चुनावमा रिपब्लिकनका लागि घाटा पार्न सक्ने बताए ।