
दाङको तुलसीपुर उपमहानगरपालिका– ११ बबई नदीको भाइरल पुलमुनि मोटरबोट सञ्चालनको विषय केही दिनयता चर्चामा छ । सामाजिक सञ्जाल र सञ्चारमाध्यममा मोटरबोटले नियमितजस्तो स्थान पाइरहेको छ । चर्चाकै कारण मोटरबोट चढ्न आउनेको संख्या पनि बढिरहेको छ । तर, उक्त मोटरबोट अनुमतिविनै सञ्चालन भइरहेकाले यात्रुको सुरक्षामाथि प्रश्न उठेको छ ।
अनुमति दिने आधिकारिक निकाय तुलसीपुर उपमहानगरपालिका मोटरबोट सञ्चालनबारे अनभिज्ञ छ । उपमहानगरलाई थाहा नै नदिएर पुलमुनि ड्याम बाँधेर मोटरबोट सञ्चालन हुँदै आएको छ । सार्वजनिकस्थलमा अनुमतिविना मोटरबोट चलाउन नपाइने र हालसम्म उपमहानगरले त्यसको अनुमति नदिएको उपमहानगरका पर्यटन प्रवद्र्धन शाखा प्रमुख झरेन्द्र खरेलले बताए । ‘अनुमतिका लागि कुरा आएको थियो, वडाले जग्गाको सर्जमिन गरेर पठाएपछि मात्रै अनुमति दिने कुरा थियो,’ उनले भने, ‘तर, त्यो नआउँदासम्म अनुमति दिइएको थिएन, उहाँहरूले आफ्नो तरिकाले सञ्चालन गर्नुभएछ ।’
मौखिक सहमतिपछि सञ्चालनमा ल्याएको हौँ : बोट सञ्चालक
मोटरबोट सञ्चालन गर्दै आएको भीमस्वरा मल्टिपर्पोज प्रालि सञ्चालक उमेश डाँगीले भने अनुमतिसम्बन्धी कागजी प्रक्रिया चलिरहेको बताए । सञ्चालनका लागि उपमहानगरले मौखिक अनुमति दिएपछि सञ्चालन गरेको उनको भनाइ छ । यहाँ अहिले एउटा मोटरबोट सञ्चालनमा छ । अर्को मोटरबोट पनि ल्याउने तयारी भइरहेको डाँगीले बताए ।
उपमहानगरपालिका– ११ का वडाध्यक्ष मनबहादुर रावतका अनुसार वन कार्यालयसँग सम्झौता गरेर मोटरबोट सञ्चालनमा ल्याएको भन्दै बचाउ गरेका छन् । ‘उहाँहरूले स्थानीय मोती सामुदायिक वनसँग सम्झौता गरेर सञ्चालनमा ल्याउनुभएको रहेछ । गणेशपुरपार्क पनि वनसँग सम्झौता भएर सञ्चालनमा ल्याएको छ, यहाँ पनि त्यहीअनुसार भएको हो ।’ मनोरञ्जन कर भनेर पाँच प्रतिशत उपमहानगरलाई बुझाउने वडाध्यक्ष रावतको भनाइ छ ।
यस्ता साधन सञ्चालनका लागि भवितव्यका लागि उद्धार गर्न दक्ष जनशक्ति आवश्यक पर्छ । यसका लागि एउटा डुंगा अनिवार्य चाहिन्छ । साथै, यात्रुको बिमा अनिवार्य हुनुपर्छ । मोटरबोट सञ्चालकले यस्तो कुनै व्यवस्था गरेको छैन । यहाँ चैत दोस्रो सातादेखि मोटरबोट सञ्चालनमा ल्याइएको हो ।