१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ चैत २७ बुधबार
  • Thursday, 17 April, 2025
२o८१ चैत २७ बुधबार ११:१o:oo
Read Time : > 1 मिनेट
समाचार प्रिन्ट संस्करण

११ महिनामा बाँकेबाट पक्राउ परे ५५९ फरार अपराधी 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ चैत २७ बुधबार ११:१o:oo

बाँके प्रहरीले गत ११ महिनामा अदालतबाट सजाय पाई फरार रहँदै आएका ५५९ जनालाई पक्राउ गरेको छ । फरार अपराधीलाई पक्राउ गरी कारबाहीको दायरामा ल्याउने सरकारको नीतिबमोजिम प्रहरीले अभियान नै चलाएर उनीहरूलाई पक्राउ गरेको हो । 

बाँकेका प्रहरी प्रमुख एसपी तुलबहादुर कार्कीका अनुसार ५५९ जना फरार अपराधीबाट २४८ वर्ष १३ दिन कैद भुक्तान तथा एक करोड ९५ लाख ६० हजार ९६७ रुपैयाँ जरिवाना असुल गरेको छ । ‘अदालतको फैसलापछि फरार रहेका अपराधीलाई पक्राउ गरी कानुनी दायरामा ल्याउने सरकारको नीतिअनुसार पक्राउ गर्न प्रहरीको विशेष टोली परिचालन गरिएको छ,’ उनले भने । 

६ करोडबराबरको अवैध सामान बरामद 
यस्तै, प्रहरीले यस अवधि (वैशाख–फागुन)मा पाँच करोड ७७ लाख ९५ हजार १८१ रुपैयाँबराबरको अवैध सामान बरामद गरी नेपालगन्ज भन्सार कार्यालयमा पठाएको एसपी कार्कीले बताए । ‘सामानसहित १४ जनालाई पक्राउ गरिएको छ भने एक ट्रक, एक माइक्रोबस, चारवटा जिप, दुईवटा कार र २० वटा मोटरसाइकल नियन्त्रणमा लिइएको छ,’ उनले भने । प्रहरीले ट्राफिक नियम उल्लंघन गर्नेबाट दुई करोड ६३ लाख २४ हजार रुपैयाँ राजस्व संकलन गरेको जनाएको छ । ‘ट्राफिक नियम उल्लंघन गर्ने ३० हजार १३६ वटा सवारीसाधनलाई कारबाही गरिएको छ,’ एसपी कार्कीले भने । 

चुनौती बन्दै लागुऔषध नियन्त्रण
बाँके प्रहरीले ११ महिनामा दुई किलो १११ ग्राम ३५२ मिलिग्राम ब्राउनसुगरसमेत बरामद गरेको छ । जिल्लाको मुख्य नाका जमुनाह र अन्य सहायक नाका भएर लागुऔषध कारोबार, ओसारपसार तथा प्रयोगकर्ता बढ्दा सुरक्षा चुनौती थपिएको र सोहीअनुसार विशेष निगरानी थालिएको एसपी कार्कीले बताए । 

११ महिनामा एक हजार आठ सय ९१ ट्याब्लेट नाइट्रजेपाम, ६ हजार पाँच सय १३ ट्याब्लेट ट्रामाडोल, चार किलो दुई सय ग्राम चरेश, दुई किलो २५० ग्राम गाँजा बरामद गरेको छ । लागुऔषध ओसारपसारमा संलग्न दुई सय ३१ जनालाई पक्राउ गरी कानुनी दायरामा ल्याइएको एसपी कार्कीले बताए । 

१४ सय ७४ मुद्दा दर्ता  
वैशाख–फागुनसम्मको अवधिमा बाँके प्रहरीमा एक हजार चार सय ७४ वटा मुद्दा दर्ता भएका छन् । किटानी जाहेरीमा नाम रहेकामध्ये एक हजार दुई सय ८५ जनालाई पक्राउ गरेको उनले बताए । ‘यस अवधिमा पाँच सय दुईवटा पेन्डिङ मुद्दा फस्र्याेट भएको एसपी कार्कीको भनाइ छ । उनले यस अवधिमा चार हजार आठ सय ४८ वटा निवेदन परेकोमा चार हजार तीन सय ५३ वटा फस्र्योट भएको बताए ।