
कराँते खेलाडी एरिका गुरुङले अस्ट्रेलियन ओपन कराँते च्याम्पियनसिपमा नेपाललाई स्वर्ण पदक दिलाउन सफल भएकी छिन् । शनिबार एरिकाले ६८ केजीमाथि तौल समूहमा पदक जितेको प्रशिक्षक कुशल श्रेष्ठले बताए । ‘एरिकाले फेरि स्वर्ण पदक जिताएकी छिन् । हामी सबैजना खुसी छौँ । यो गौरवको क्षण हो,’ प्रशिक्षक श्रेष्ठले अस्ट्रेलियाबाट नयाँ पत्रिकालाई बताए । एरिकाले तीन अंक नै सहजै जितेकी थिइन् । श्रेष्ठका अनुसार पहिलो फाइट एरिकाले ९–०, दोस्रो ८–० र तेस्रो ५–० ले जितेकी हुन् ।
राष्ट्रिय च्याम्पियन एरिकाले सन् २०२३ मा भएको १९औँ एसियाली खेलकुदमा ऐतिहासिक रजत पदक जिताएकी थिइन् । त्यस्तै, सोही वर्ष भएको एसियन च्याम्पियनसिपमा रजत पदक जितेकी हुन् । एसियाली खेलकुदमा रजत पदक जित्ने उनी पहिलो नेपाली हुन् ।
थप चार कांस्य पदक
नेपालले एरिकाको स्वर्ण पदकसहित थप चार कांस्य पदक हासिल गरेको छ । योसँगै अस्ट्रेलिया पुगेका पाँचै खेलाडी पदकसहित स्वदेश फर्किने भएका छन् । पुरुष ६७ केजीमुनिमा सन्तोष श्रेष्ठ तथा महिला ६१ केजीमुनिमा सविना श्रेष्ठ, ५५ केजीमुनिमा पुष्पका लामा र ५० केजीमुनिमा वर्षा बुढामगरले कांस्य पदक प्राप्त गरेका छन् । प्रशिक्षक श्रेष्ठका अनुसार नेपाली टिम केही समय अस्ट्रेलियामै प्रशिक्षक गरेर स्वदेश फर्किनेछ । ‘हामी केही दिन यहीँ प्रशिक्षण गर्नेछौँ । त्यसपछि मात्रै स्वदेश फर्किने कार्यक्रम छ ।’
एसियन च्याम्पियनसिपअघि राम्रो तयारी
प्रक्षिक्षक श्रेष्ठले एसियन च्याम्पियनसिपअघि राम्रो तयारी भएको जानकारी गराएका छन् । उनले केही साता अस्ट्रेलियामा रहँदा अस्ट्रेलियन टिमसँग अभ्यास गर्ने पनि जानकारी गराए । ‘नेपालले अस्ट्रेलियन टिमसँग तयारी गर्ने योजना बनाएका छौँ । यहाँको टिम निकै बलियो छ । पाँचै खेलाडीले पदक जितेपछि आत्मबल बढेको छ,’ श्रेष्ठले भने, ‘अस्ट्रेलियामा पाँच पदक जितेपछि हामीलाई आगामी मेमा हुने एसियन च्याम्पियनसिपलाई राम्रो गर्न प्रोत्साहन गरेको छ ।’ एसियन च्याम्पियनसिप उज्वेकिस्तानमा हुने तालिका छ ।