तीन सय ४१ मेगावाटको बुढीगण्डकी अर्धजलाशययुक्त (पिआरओआर) परियोजनाको वित्तीय व्यवस्थापन (फाइनान्सियल क्लोजर) तीन महिनाभित्र गर्ने तयारी गरिएको छ । स्वदेशी बैंकहरूसँग तीन महिनाभित्रै परियोजनाको ऋण लगानी सम्झौता गर्न लागिएको प्रवद्र्धक कम्पनी टाइम्स इनर्जीले जानकारी दिएको छ । टाइम्स इनर्जीमा साहस ऊर्जाको ५१ प्रतिशत सेयर स्वामित्व छ ।
गोरखामा बन्ने यो परियोजनाको लागत अनुमान ७० अर्ब रहेको छ । त्यसको ७५ प्रतिशत अर्थात् ५२ अर्ब ५० करोड लगानी बैंकमार्फत जुटाइँदै छ । अबको तीन महिनामा ऋण सम्झौता गरिने साहस ऊर्जाका अध्यक्ष हिमप्रसाद पाठकले जानकारी दिए । बाँकी १७ अर्ब ५० करोड भने कम्पनीले स्वःपुँजीका रूपमा लगानी गर्नेछ । समग्रमा प्रतिमेगावाट २० करोड ५३ लाख रुपैयाँमा परियोजना बन्ने प्रवद्र्धक कम्पनीको भनाइ छ । ‘नेपाली बैंकहरूबाट नै यतिका ठुलो ऋण लगानी जुटाउँदै छौँ । बैंकहरूसँगको छलफल पनि निष्कर्षनजिक पुगेको छ,’ अध्यक्ष पाठकले भने, ‘तीन महिनाभित्र वित्तीय व्यवस्थापन सम्झौता हुन्छ ।’
निर्माणमा जान लागेकोमध्ये यो निजी क्षेत्रको तेस्रो ठुलो जलविद्युत् परियोजना हो । चार सय ४० मेगावाटको तिला–१ र चार सय २० मेगावाटको तिला–२ जलविद्युत् परियोजना पनि विभागबाट लाइसेन्स पाएर निर्माणको तयारीमा छन् । सञ्चालनतर्फ भने निजी क्षेत्रको सबैभन्दा ठुलो परियोजना ८६ मेगावाटको सोलुखोला दुधकोशी जलविद्युत् परियोजना हो, त्यो पनि साहस ऊर्जाले नै बनाएको हो । साहस ऊर्जाले माघ ०७९ बाट उक्त परियोजना सञ्चालन ल्याएको थियो ।
यसअघि दुई सय ८५ मेगावाटको माथिल्लो तमोर अर्धजलाशययुक्त जलविद्युत् परियोजनामा पनि वित्तीय व्यवस्थापन सम्झौता भइसकेको छ । गत २४ जेठमा उक्त परियोजनाको वित्तीय व्यवस्थापन सम्झौता भएको छ । उक्त परियोजनामा एरभेष्ट बैंकसहित आठ बैंक संयुक्त रूपमा ३८ अर्ब ६० करोड रुपैयाँ ऋण लगानी गर्दै छ । वित्तीय सम्झौता भइसकेकोमा भने यो ठुलो परियोजना हो ।
टाइम्स इनर्जीले परियोजना निर्माण तथा विद्युत् उत्पादनका लागि विद्युत् विकास विभागबाट पुस ०८० मै अनुमतिपत्र ल्याइसकेको छ । साथै, परियोजनाको विद्युत् बिक्री गर्न नेपाल विद्युत् प्राधिकरणसँग विद्युत् खरिद–बिक्री सम्झौता (पिपिए) पनि भइसकेको छ ।
यसैगरी, परियोजना निर्माणस्थलमा पहुँचमार्ग निर्माण भइसकेको छ । त्यसबाहेक वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन पनि वन तथा वातावरण मन्त्रालयबाट स्वीकृतिको अन्तिम चरणमा छ । त्यससँगै वित्तीय व्यवस्थापनको काम पनि अन्तिम चरणमा पुगेको कम्पनीको दाबी छ ।
१५ पुस ०८७ सम्म परियोजन सञ्चालनमा ल्याउने कम्पनीको लक्ष्य छ । ‘परियोजना निर्माणको तयारी अघि बढिसकेको छ । अब छिट्टै परियोजनास्थलमा क्याम्प बनाउनेलगायतका काम सुरु हुन्छ । वित्तीय व्यवस्थापन भएलगत्तै निर्माणको काम सुरु हुन्छ । सिभिल निर्माणलगायतका मुख्य काम भने भदौ ०८२ बाट सुरु गर्ने लक्ष्य छ,’ साहस ऊर्जाका अध्यक्ष पाठकले भने, ‘पाँच वर्षमा परियोजना सञ्चालनमा ल्याउने लक्ष्य छ । हामीले १५ पुस ०८७ सम्म परियोजना सञ्चालनमा ल्याइसक्नुपर्ने गरी लाइसेन्स पाएका छौँ ।’ गत पुसमै साहस ऊर्जा टाइम्स इनर्जीको ५१ प्रतिशत सेयर
किनेको थियो ।
कस्तो बन्छ आयोजना ?
अर्धजलायश प्रकृतिको यो परियोजना काठमाडौंबाट एक सय ७० किलोमिटरको दूरीमा गोरखा जिल्लामा बन्नेछ । परियोजनाको बाँध क्षेत्र चुमनुब्री गाउँपालिकाको वडा नं ३ र विद्युत्गृह धार्चे गाउँपालिकाको वडा नं ३ मा हुनेछ । बाँध क्षेत्र र विद्युत्गृहबिचमा १० किमि सडक रहेको छ । पावरहाउस भने भूमिगत हुनेछ ।
आयोजनामा तीन सय ९८ मिटर लामो हेड (पानी खस्ने उचाइ), ६.९ किलोमिटर लामो सुरुङ, ६०.४३ मेगावाट क्षमताका ६ टर्बाइन हुनेछन् । ड्याममा १७ लााख ६० हजार घनमिटर पानी भण्डारण हुनेछ । त्यसबाट दैनिक ६ घण्टासम्म पूर्ण क्षमतमा विद्युत् उत्पादन गर्न सकिनेछ । आयोजनाबाट वार्षिक औसत १८६७.७७ गिगावाट घण्टा विद्युत् उत्पादन हुनेछ । कम्पनीका अनुसार मुख्य सुक्खायाममा ३२०.३० गिगावाट, सामान्य सुक्खायाममा २४३.४३ मेगावाट र वर्षायाममा १३०४.०४ गिगावाट विद्युत् उत्पादन छ । आयोजनाको डिजाइन डिस्चार्ज १००.२५ घन मिटर प्रतिसेकेन्ड छ ।
परियोजनामा जोखिम कम
परियोजनामा भौतिक तथा आर्थिक जोखिम पनि कम देखिएको छ । परियोजनाको मुख्य भौतिक संरचना भूमिगत रहेको कारण भूकम्प, बाढीपहिरोजस्ता प्राकृतिक प्रकोपबाट हुन सक्ने जोखिम न्यून रहेको छ । पछिल्लो समय बाढीपहिरोले जलविद्युत् परियोजनाहरू नमज्जाले जोखिममा परेका छन् । त्यसले गर्दा परियोजनामा भएको लगानी जोखिममा परेका छन् । तर, यो परियोजनामा बाढीपहिरोको तथा भूकम्पको जोखिम भने न्यून भएको बताइएको छ ।
लगानीका लागि कति आकर्षक ?
यो परियोजना लगानीका लागि पनि निकै आकर्षण रहेको देखिएको छ । तीन सय ४१ मेगावाटको यो परियाोजना प्रतिमेगावाट २० करोड ५३ लाखमा बन्नेछ । वर्तमान समयमा यो लागत सस्तो भएको कम्पनीको भनाइ छ । नेपालमा परियोजना लागत प्रतिमेगावाट औसत २० करोडभन्दा बढी नै छ । अझै कतिपय परियोजनाको लागत प्रतिमेगावाट ३० करोड रुपैयाँभन्दा माथि पनि हुने गरेको छ, त्यो अवस्थामा यो लागत सस्तो भएको कम्पनीको दाबी छ ।
प्राधिकरणसँग परियोजनाको विद्युत् खरिद सम्झौता ३० वर्षका लागि गरिएको छ । वर्षायामका लागि ४.८० रुपैयाँ, सामान्य सुक्खायामका लागि ८.४० रुपैयाँ र सुक्खायामका लागि १०.५५ रुपैयाँ प्रतियुनिटमा सम्झौता गरिएको छ । परियोजनाबाट वर्षायाममा १३०४.०४ गिगावाट, सामान्य सुक्खायाममा २४३.४३ मेगावाट र मुख्य सुक्खायाममा ३२०.३० गिगावाट विद्युत् उत्पादन हुनेछ । यसले पनि परियोजनामा प्रतिफलको सम्भावना उच्च देखाएको छ ।
आयोजनाको लगानी प्रतिफल १६.९९ प्रतिशत हुने अनुमान गरिएको छ । सम्भाव्यता अध्ययनअनुसार आयोजना सञ्चालनमा आएको साढे पाँच वर्षमा साधारण लगानी फिर्ता गर्न सकिनेछ । अहिले परियोजनाको खुद मूल्यांकन २३ अर्ब २४ करोड रहेको छ । पहुँचमार्ग छोटो रहेको, सुरुङको लम्बाइ छोटो रहेको, डिसेन्ट हेड रहनुका साथै लोड सेन्टर नजिकै रहेका कारणले परियोजना आर्थिक एवं प्राविधिक रूपमा लगानीका लागि निकै आकर्षक रहेको बताइएको छ । यसका सामाजिक तथा वातावरणीय प्रभाव एकदमै न्यून छन्, जसलाई विशेष प्राथमिकतासाथ सम्बोधन गरिएको छ ।