नेपाल विद्युत् प्राधिकरणले विद्युत् दुर्घटनामा परी गम्भीर घाइते भएका रामेछापका विनोद तामाङलाई उपचार खर्चसहित १७ लाख ७८ हजार ६७६ रुपैयाँ उपलब्ध गराउने भएको छ।
प्राधिकरण सञ्चालक समितिको बैठकले रामेछाप नगरपालिका–५, सिमल भञ्ज्याङ खर्कभितेमा भएको विद्युत् दुर्घटनामा घाइते २७ वर्षीय तामाङलाई उपचार खर्च, कुरुवा खर्च र अंगभंगबापतको क्षतिपूर्ति उपलब्ध गराउने निर्णय गरेको हो।
११ केभी वितरण लाइनको अस्थायी स्टेमा छुन पुग्दा करेन्ट लागेर दुर्घटनामा परेका तामाङको काठमाडौं मेडिकल कलेजमा उपचार गरिएको थियो। उपचारका क्रममा ७ लाख १८ हजार ६७६ रुपैयाँ खर्च भएको प्राधिकरणले जनाएको छ।
यस्तै, अस्पतालमा भर्ना भएर उपचार गराएको ६० दिनको अवधिका लागि एक जना कुरुवाको खर्चबापत ६० हजार रुपैयाँ र पूर्ण अंगभंगबापत १० लाख रुपैयाँ उपलब्ध गराइनेछ। यसरी तामाङले कुल १७ लाख ७८ हजार ६७६ रुपैयाँ पाउनेछन्।
प्राधिकरणले यसअघि तामाङलाई ५ लाख रुपैयाँ पेश्की उपलब्ध गराइसकेको छ। बाँकी उपचार खर्च तथा दुर्घटना क्षतिपूर्तिको रकम मेडिकल बोर्डको सिफारिसका आधारमा भुक्तानी गरिनेछ।
तामाङको उपचारसँग सम्बन्धित बिल, भरपाई, चिकित्सकीय प्रेस्क्रिप्सनलगायत कागजात प्राधिकरणको मेडिकल बोर्डले अध्ययन गरेको थियो। विशेषज्ञ चिकित्सकसहितको बोर्डले पेश्की कटाएर बाँकी उपचार खर्च र दुर्घटना क्षतिपूर्ति उपलब्ध गराउन सिफारिस गरेको थियो।
प्राधिकरण दुर्घटना क्षतिपूर्ति विनियमावली, २०६७ अनुसार २ लाख रुपैयाँसम्मको उपचार खर्चका लागि उपचारमा संलग्न चिकित्सकको सिफारिस पर्याप्त हुने व्यवस्था छ। २ लाख रुपैयाँभन्दा बढी उपचार खर्च भएमा भने प्राधिकरण मेडिकल बोर्डको सिफारिस आवश्यक पर्ने भएकाले तामाङको उपचार खर्चसम्बन्धी कागजात बोर्डले अध्ययन गरेको हो।
विनियमावलीमा प्राधिकरणले काममा लगाएका म्यादी, करार तथा ज्यालादारी कामदार वा सर्वसाधारण व्यक्ति विद्युत् दुर्घटनामा परी मृत्यु वा घाइते भएमा उपचार तथा क्षतिपूर्ति उपलब्ध गराउने व्यवस्था छ। सामूहिक दुर्घटना बीमा नगरिएको अवस्थामा दुर्घटनाबाट मृत्यु वा गम्भीर क्षति भएमा प्रतिव्यक्ति १० लाख रुपैयाँसम्म क्षतिपूर्ति उपलब्ध गराउन सकिने व्यवस्था पनि विनियमावलीमा छ।