छुट्टै महाधिवेशनको तयारीमा रहेको नेपाली कांग्रेसको निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले कैलालीका पाँचवटै निर्वाचन क्षेत्रमा संयोजक तोकेको छ। यही १५ असोजबाट सुरु हुने महाधिवेशनको प्रक्रियाका लागि निर्वाचन क्षेत्र र पालिकाहरूमा संयोजकहरू खटाइएको नेताहरूले बताएका छन्।
महाधिवेशनअन्तर्गत देउवा पक्षले १५ असोजबाट वडा सम्मेलन गर्दै छ। वडा, पालिका र क्षेत्रीय सम्मेलन सम्पन्न गर्नका लागि यहाँका सबै निर्वाचन क्षेत्र र पालिकाहरूमा संयोजक तोकिएको देउवा पक्षका नेता नृपबहादुर ओडले जानकारी दिए। जिल्लाका १२६ वटै वडामा सम्मेलन हुने उनले बताए।
देउवा पक्षले सोमबार धनगढीमा पत्रकार सम्मेलन गरेर निर्वाचन क्षेत्र र पालिकामा संयोजक तोकिएको तथा जिल्लामा भइरहेको सम्मेलनको तयारीबारे जानकारी दिएको छ। क्षेत्र नम्बर १ मा भुवन अधिकारी, २ मा रामबहादुर बिष्ट, ३ मा रिता चौधरी, ४ मा यज्ञनिधि कोइराला र क्षेत्र नम्बर ५ मा यज्ञराज उपाध्यायलाई संयोजकको जिम्मेवारी दिइएको छ।
यसअघि नै कैलाली जिल्ला संयोजकमा उपसभापति खेम चौधरी र सहसंयोजक रामसमझ रानालाई तोकिएको छ। पत्रकार सम्मेलनमा नेता ओडले १४औँ महाधिवेशनबाट निर्वाचित सभापति देउवा नेतृत्वको कार्यसमितिलाई नै १५औँ महाधिवेशन गर्ने अधिकार रहेको दाबी गरे।