
कूटनीतिज्ञ तथा लेखक भुवन पौडेलद्वारा लिखित ‘भुटान : यात्रा एक अनुभूति अनेक’ नामक नियात्रा पुस्तक बुधबार सार्वजनिक गरिएको छ।
भुटानका पूर्वआर्थिक तथा प्राकृतिक स्रोतमन्त्री लोकनाथ शर्मा चापागाईं, नेपालका पूर्ववन तथा वातावरणमन्त्री यदुवंश झा तथा कुवेतका लागि नेपाली पूर्वराजदूत मधुवन पौडेलले संयुक्त रूपमा विमोचन गरे।
भुटान भ्रमणका विविध अनुभव र अनुभूतिहरू समेटिएको यस कृतिमा लेखकले गत जुन २० देखि २४ सम्म भुटान यात्राका क्रममा देखेका, भोगेका र महसुस गरेका पक्षहरूलाई प्रस्तुत गरेका छन्। पौडेलले यात्राको तयारीदेखि सम्पन्नतासम्मका घटनाक्रमलाई तथ्यपरक ढंगले चित्रण गर्ने प्रयास गरेकाे जानकारी दिएका छन्।
विगत १७ वर्षदेखि कूटनीतिक सेवामा आबद्ध लेखक पौडेल हाल परराष्ट्र मन्त्रालयका उपसचिव हुन् । उनका विभिन्न यात्राका अनुभवहरू यसअघि पनि विभिन्न राष्ट्रिय दैनिक पत्रिकामा प्रकाशित हुँदै आएका छन्।
पुस्तकमा भुटानको भौगोलिक, सामाजिक, आर्थिक तथा सांस्कृतिक पाटाहरूदेखि शिक्षा, स्वास्थ्य, पर्यटन नीतिसम्मका विषयलाई विवेचन गरिएको छ। विशेषगरी शिक्षा र स्वास्थ्यमा राज्यको भूमिका, पछिल्लो समयको पर्यटन नीतिले दिएको प्रेरणा, जलवायु परिवर्तनसँग जुझ्न भुटानले अपनाएको शून्य कार्बन उत्सर्जनको नीति र विकास–पर्यावरणबिचको तालमेललाई लेखकले पुस्तकमा उल्लेख गरेका छन्।
पाँचपटक भुटान भ्रमण गरिसकेका कथाकार तथा कूटनीतिज्ञ एवं कुवेतका पूर्वनेपाली राजदूत मधुवन पौडेलले पुस्तकमा भूमिका लेख्दै आफ्ना अनुभव र पुस्तकका विभिन्न आयामबारे विश्लेषण प्रस्तुत गरेका छन् । पुस्तक विमोचन समारोहमा पूर्वराजदूत, कूटनीतिज्ञ, अन्तर्राष्ट्रिय सम्बन्धका विज्ञहरूको उपस्थिति थियो।