
मकवानपुर क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य एवं एमाले संसदीय दलका प्रमुख सचेतक महेश कुमार बर्तौलाले उत्तरी मकवानपुरमा इलाका प्रशासन कार्यालय स्थापना गर्न माग गरेका छन् । देशभरका विभिन्न २३ स्थानमा प्रशासनिक सेवा विस्तार गर्ने सरकारको निर्णयपछि उत्तरी मकवानपुरको थाहा नगर र पश्चिम मकवानपुरको मनहरी क्षेत्रमा पनि इलाका प्रशासन कार्यालय स्थापना गर्न उनले माग गरेका हुन् ।
बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई मागपत्र बुझाउँदै सांसद बर्तौलाले यस्तो आग्रह गरेका छन् । उनले थाहा नगरपालिकासहित आसपासका गाउँपालिकाका बासिन्दाले प्रशासनिक सेवा लिन हेटौँडासम्म पुग्नुपर्ने बाध्यता रहेको र तत्कालै सुविधा सम्पन्न इलाका प्रशासन कार्यालय स्थापना गर्न प्रधानमन्त्री ओलीसमक्ष आग्रह गरेका हुन् ।
सांसद बर्तौलाका अनुसार प्रधानमन्त्री ओलीले अर्थमन्त्री र गृहमन्त्रीलाई थाहा नगरमा इलाका प्रशासन कार्यालय स्थापना गर्न आवश्यक प्रक्रिया अघि बढाउन निर्देशन समेत दिएको बताए । प्रधानमन्त्रीको सकारात्मक जवाफपछि छिट्टै प्रक्रिया अघि बढ्ने र थाहा नगरमा इलाका प्रशासन कार्यालय स्थापना हुनेमा आफु विश्वस्त रहेको उनको भनाइ छ ।