मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ भदौ ११ बुधबार
  • Wednesday, 27 August, 2025
नवीन गुरुङ संखुवासभा
२o८२ भदौ ११ बुधबार १७:५४:oo
Read Time : > 1 मिनेट
समाचार

बरुण नदीबाट विद्युत् निकाले अस्तित्व नासिने भन्दै ‘बरुण नदी बचाउ अभियान’ 

Read Time : > 1 मिनेट
नवीन गुरुङ, संखुवासभा
नयाँ पत्रिका
२o८२ भदौ ११ बुधबार १७:५४:oo

संखुवासभास्थित बरुण नदीबाट विद्युत उत्पादन गर्न लागेको भन्दै विरोधस्वरूप स्थानीयवासीले ‘बरुण नदी बचाउ अभियान’ सुरु गरेका छन् । भोटखोला गाउँपालिका–४ मा बरुण नदीमा विद्युत् आयोजना बन्न लागेपछि स्थानीय सरोकारवालाहरू ‘बरुण नदी बचाउ अभियान’मा जुटेका हुन् ।

हिन्दु र बौद्धधर्मालम्बीहरूको तीर्थस्थल मानिने बरुण नदीबाट विद्युत् उत्पादन गर्न नहुने र बरुणलाई ‘भर्जिन’नै राख्नुपर्ने उनीहरूको भाग छ । हिमालय भोटे समाजका अध्यक्ष मिथुन भोटेले कुनै पनि हालतमा बरुण नदीमा जलविद्युत् बनाउन नहुने बताए । उनले बरुण जस्तो पवित्र नदीमा हाइड्रोपावार बनाउँदा त्यहाँका आदिवासी जनजातिको उद्गमस्थल मासिनुका साथै धार्मिक तथा सांस्कृतिक पहिचान गुम्ने बताए । 

त्यसैगरी बरुणधाम संरक्षण नागरिक समितिका अध्यक्ष उत्तरमान राईले बरुण नदी सबैको आस्थाको केन्द्र भएकाले जलविद्युत् आयोजना निर्माण गर्न दिने सरकारको निर्णय गलत भएको बताए । उनले संखुवासभाका अन्य थुप्रै नदी तथा खोलाहरुबाट विद्युत् उत्पादन गर्न सकिन्छ तर बरुण नदीमा जलमाफियाहरुले गिद्धे नजर लगाएको भन्दै आक्रोश पोखे । 

हिन्दु, किराँत तथा बौद्ध धर्मालम्बीहरूको आस्थाको केन्द्र शिवधारा (याङले) र दुधकुण्ड (होमेछो)बाट आउने पानीको वहाव भएको धार्मिक नदी बरुण भएकाले यसको अस्तित्व जोगाउनुपर्ने अध्यक्ष राईको भनाइ छ । 

भोटखोला गाउँपालिकाका अध्यक्ष वाङछेदर लामाले बरुण नदीलाई भर्जिन राख्नुपर्ने भन्दै ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयमा पत्राचार गरेका छन् । ‘बरुण नदी बचाउ अभियान’ मा मिथुन भोटे अध्यक्ष रहेको हिमालय भोटे समाज, उत्तरमान राई अध्यक्ष रहेको बरुणधाम संरक्षण नागरिक समिति, सोनाम भोटे संयोजक रहेको भोटे राष्ट्रिय मुक्ति मोर्चा र लाक्पा आङजुक सिङसावा (ल्होमी सिङ्सा कल्याण केन्द्र) लगायतका आधा दर्जनभन्दा बढी भोटखोलाका सराकोरावाला समूह लागि रहेका छन् । उनीहरूले स्थानीय वडा सरकारदेखि जिल्ला समन्वय समिति, प्रदेश सरकार हुँदै संघीय सरकारका विभिन्न निकायमा चरणबद्ध दबाब दिइरहेका छन् ।

मन्त्री खड्का पनि आयोजना निर्माणको विपक्षमा
ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दिपक खड्काले पनि बरुण नदीमा जलविद्युत् आयोजना बनाउन नहुने धारणा राखेका छन् । मन्त्री खड्काले संखुवासभा आएका समयमा आयोजना बनाउन सरकारले यसअघि नै अनुमति दिए पनि कार्यान्वयन नहुने स्पष्ट पारेका थिए ।

त्यसैगरि एमालेका केन्द्रीय प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बरुण नदीलाई भर्जिन राख्नुपर्ने बताए । केही दिन अघि गृहजिल्ला आएका वेला गौतमले बरुणमा माथिको गिद्धे नजर कार्यान्वयन हुन नदिन लागिरहेको धारणा स्पष्ट पारेका थिए ।

माओवादीका केन्द्रीय सदस्य तथा कोशी प्रदेश सांसद पूर्वमन्त्री राजेन्द्र कार्की (नवीन)ले बरुण नदीलाई यथाअवस्थामा नै राख्नुपर्ने बताए । उनले बरुण नदी धार्मिकतीर्थस्थल भएकाले आयोजना बनाउन दिन नहुने बताए ।

जिल्ला समन्वय समिति संखुवासभाका प्रमुख सुमन शाक्यले मकालु बरुण राष्ट्रिय निकुञ्ज र संरक्षण क्षेत्र हँुदै बग्ने पवित्र धार्मिकतीर्थस्थल भएकाले जलविद्युत् बनाउन दिने सरकारको निर्णय अघि नबढाउन अनुरोध गर्दै ४ साउनमा ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयमा पत्राचार गरेको छ । बरुण नदीलाई भर्जिन राख्नुपर्ने जिसस प्रमुख शाक्यको भनाइ छ ।

हिमालय भोटे समाजले आदिवासी जनजाति आयोग पुल्चोक ललितपुरमा गत ४ साउनमा निवेदन पेश गरेका थिए । आयोगका अध्यक्ष रामबहादुर मगरको अध्यक्षतामा ८ भदौमा बसेको बैठकले बरुणमा विद्युत् उत्पादन गर्न (प्रस्तावित १३२ मेगावाट) इमपीक इनर्जी प्रालिले सञ्चालन अनुमति प्राप्त गरे पनि तत्काल काम नगर्न÷नगराउन भनी ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयमा पत्राचार गरेको छ ।