मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ भदौ ११ बुधबार
  • Wednesday, 27 August, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ भदौ ११ बुधबार १४:२२:oo
Read Time : > 1 मिनेट
साहित्य डिजिटल संस्करण

‘रचनात्मक पत्रकारिता हाते पुस्तक’ प्रकाशित

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ भदौ ११ बुधबार १४:२२:oo

रचनात्मक पत्रकारिताबारे पुस्तक ‘रचनात्मक पत्रकारिता : हाते पुस्तक’ प्रकाशन भएको छ। पत्रकार तथा अध्येता टुमराज कोइरालाद्वारा लिखित पुस्तक यसै साताबाट उपलब्ध हुने गरी सार्वजनिक  गरिएको प्रकाशक सञ्चार रजिस्ट्रारको कार्यालय, बागमती प्रदेशले जानकारी दिएको छ।

सञ्चार रजिस्ट्रार रेवतीप्रसाद सापकोटाका अनुसार समाजमा फैलिरहेको निराशा र नकारात्मकता न्यूनीकरण गर्न विश्व पत्रकारितामा भइरहेको नवीन अभ्यासको आधारभूत जानकारी नेपालीमा दिने उद्देश्यले पुस्तक प्रकाशन गरिएको हो। 

प्रविधिको तीव्र विकाससँगै नकारात्मक समाचारको व्यापक फैलावटका कारण पत्रकारिताप्रति खस्किरहेको विश्वासलाई रचनात्मक पत्रकारिताले पुनर्स्थापित गर्ने अपेक्षाका साथ विश्वका विभिन्न देशमा यसको अभ्यास बढिरहेको सापकोटाले जानकारी दिए। पुस्तकले उक्त अभ्यास अवलम्बन गर्न र अध्ययन गर्न चाहनेहरूलाई मार्गदर्शन गर्ने अपेक्षा लिएको उनले बताए।

त्रिभुवन विश्वविद्यालय, पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभागका प्रमुख डा. कुन्दन अर्यालले रचनात्मक पत्रकारिता अभ्यासका लागि पुस्तकले नेपाली पत्रकारहरूलाई झकझक्याउने विश्वास व्यक्त गरेका छन्। भोलिका दिनमा समाचार कक्षलाई हाँक्ने पत्रकारिताका विद्यार्थीहरूले नेपाली पत्रकारितालाई नयाँ गतिका साथ रचनात्मक दिशामा अघि बढाउन पुस्तकलाई उपयोगी ठानिने निष्कर्ष उनले पुस्तकको भूमिकामा उल्लेख गरेका हुन्।

पुस्तकमा रचनात्मक पत्रकारिता अभ्यासको नेतृत्व गरिरहेका अन्तर्राष्ट्रिय संस्थाका नेतृत्वहरूले पनि भूमिका लेखेका छन्। समाधान पत्रकारिता नाम दिएर पत्रकारिताको रचनात्मक अभ्यास प्रवर्द्धन गरिरहेको ‘सोलुसन जर्नालिज्म नेटवर्क’की सहसंस्थापक तथा पुलित्जर पुरस्कार प्राप्त पत्रकार टिना रोजेनबर्गको पुस्तकबारे भनाइ छ, ‘नेपालका पत्रकार, पत्रकारितासम्बद्ध संघ–संस्था र नीतिनिर्माताहरूको सक्रिय पहलकदमीसँगै समाधान पत्रकारिता अब केवल अवधारणामा मात्रै सीमित छैन, अभ्यासको चरणमा प्रवेश गरिसकेको छ। सोलुसन्स जर्नालिज्म नेटवर्कद्वारा मान्यताप्राप्त प्रशिक्षकद्वारा तयार गरिएको यो पुस्तक पनि त्यसैको उपज हो।’

त्यसैगरी डेनमार्कको आह्रुस विश्वविद्यालयस्थित कन्स्ट्रक्टिभ इन्स्टिच्युटका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत उर्लिक हागरूपले भूमिकामा लेखेका छन्, ‘यस पुस्तकले नेपालको लोकतन्त्रप्रतिको प्रतिबद्धता र पत्रकारिताको भूमिका पुनर्विचार गर्ने साहसलाई अभिलेखन गरेको छ। पुस्तकले स्पष्ट पार्छ– यदि पत्रकारिता बिग्रियो भने लोकतन्त्र पनि संकटमा पर्छ भन्ने हामी सबैको साझा बुझाइ हो।’

कान्तिपुर पब्लिकेसन्स, अन्नपूर्ण मिडिया नेटवर्क, नयाँ प्रकाशन, रेडियो नेपाललगायत विभिन्न मिडियामा डेढ दशकभन्दा बढी विभिन्न भूमिकामा पत्रकारिता अभ्यास गरेका कोइराला पत्रकारिता अध्यापनमा समेत संलग्न छन्। समाधान पत्रकारिताका लागि सोलुसन्स जर्नालिज्म नेटवर्कबाट मान्यताप्राप्त प्रशिक्षक उनले यसअघि लेखनमा ‘कला अनुरागी’ नाम प्रयोग गर्दै आएका थिए। 

उनका अनुसार ‘रचनात्मक पत्रकारिता : हाते पुस्तक’ बागमती प्रदेश सञ्चार रजिस्ट्रारको कार्यालय, हेटौँडा र जावलाखेलबाट प्राप्त गर्न सकिनेछ।