
शुक्रबारदेखिको अविरल वर्षासँगै आएको पहिरोका कारण हेटौँडा र काठमाडौं जोड्ने त्रिभुवन राजपथ र कान्ति लोकपथ अवरुद्ध छन्।
त्रिभुवन राजपथअन्तर्गत हेटौँडा–भैँसे सडक खण्डको भीमफेदी गाउँपालिका वडा नम्बर १ मा माथिबाट खसेको ठुलो पहिरोले शुक्रबार साँझदेखि अवरुद्ध सडक अहिले पनि खुल्न सकेको छैन । यसैगरी, हेटौँडाबाट काठमाडौं प्रवेश गर्ने छोटो दूरीको वैकल्पिक मार्गसमेत अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
सडक सुचारु बनाउन सडक विभाग, प्रहरी, सेना र हेटौँडा उपमहानगरपालिकाका उपकरण परिचालन गरिएको भए पनि अवरुद्ध सवारीसाधनहरू बिचमै रोकिएका छन् ।
यता कान्ति लोकपथअन्तर्गत भीमफेदी गाउँपालिका वडा नम्बर ८ भर्याङडाँडा र बकैया गाउँपालिकाको लेनडाँडामा गएको पहिरोका कारण उक्त राजमार्ग पनि शुक्रबारदेखि नै बन्द छ ।
मकवानपुर प्रहरी प्रवक्ता डिएसपी श्यामु अर्यालका अनुसार सडकमाथिबाट लेदासहित ढुंगा, माटो खसिरहेकाले पहिरो पन्छाउन कठिनाइ भएको छ। बाटो अवरुद्ध हुँदा सवारीसाधन सडकमै रोकिएका छन भने यात्रुहरू अलपत्र परेका छन्।