
वैदेशिक रोजगारीका क्रममा दुबई पुगेका सल्यान त्रिवेणी गाउँपालिका– ६ का युवराज थापाले ८६ लाख रुपैयाँ ब्लडमनी तिरेर स्वदेश फिर्ता भएका छन् ।
थापा रोजगारीका क्रममा ०७९ सालमा फर्स्ट सेक्रेटी ग्रुप नामक कम्पनीमा लाइफगार्डका रूपमा दुबई पुगेका थिए । थापाकी श्रीमतीका अनुसार दुबईमा रहेको हायात होटेलको स्विमिङ पुलमा लाइफगार्डका रूपमा कार्यरत थिए।
होटेलको स्विमिङ पुलमा एक पर्यटकको मृत्यु भएपछि दुबईको अदालतले दोषी ठहर गरेको थियो । मृतकको परिवारको हकवालालाई दुई लाख दिराम ब्लडमनीमार्फत रकम बुझाउनुपर्ने फैसला गरेको थियो । जसको नेपाली रुपैयाँ ८६ लाख हुन गएको थियो । घटना सन् २०२३ मा भएको थियो ।
घटनापश्चात् परिवारले थापाको उद्धारका लागि सम्पूर्ण नेपालीलाई जतिसक्दो आर्थिक रूपमा सहयोग गरिदिन अनुरोध गरेका थिए । जसस्वरूप सबैको सहयोगले थापाले मृतक परिवारलाई युवराज थापाको परिवारले कानुन कागजातअनुसार ८६ लाख रुपैयाँ ब्लडमनी क्षतिपूर्तिबराबर दुबई रकम तिरेको थियो ।
घरको आर्थिक अवस्था कमजोर भएकाले घरपरिवारले आफ्नो छोरा बचाइदिन गरेको याचनापश्चात् ८१ लाख सहयोग संकलन भएको थियो । थापालगायत उनका परिवारले भौतिक, नैतिक र आर्थिक रूपमा सहयोग गर्ने सबैलाई धन्यवादसमेत व्यक्त गरेका छन् ।
आर्थिक अवस्था कमजोर भएकै कारण अदालतले भनेअनुसारको जरिवाना तिर्न नसकेको र सबैको सहयोगबाट श्रीमान् पुनः पाएको श्रीमती अञ्जना थापाले बताइन्।