मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ भदौ २ सोमबार
  • Monday, 18 August, 2025
नयाँ पत्रिका काठमाडाैं
२o८२ भदौ २ सोमबार o७:३१:oo
Read Time : > 2 मिनेट
खेलकुद प्रिन्ट संस्करण

एनएसजेएफ पल्सर स्पोर्टस् अवार्ड : पिपल्स च्वाइसमा पाँच खेलाडी मनोनयन

२२औँ संस्करणको अवार्डमा क्रिकेट, फुटबल, टेबलटेनिस, उसु र भलिबलका खेलाडी मनोनयनमा परेका छन्

Read Time : > 2 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८२ भदौ २ सोमबार o७:३१:oo

नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) पल्सर स्पोर्टस् अवार्डको पिपल्स च्वाइसको मनोनयन आइतबार सार्वजनिक भएको छ । २२औँ संस्करणको अवार्डअन्तर्गत पिपल्स च्वाइसमा क्रिकेटकी पूजा महतो, फुटबलकी रेखा पौडेल, टेबलटेनिसकी इभाना थापा, उसु खेलाडी विजय सिन्जाली र भलिबल खेलाडी हिमाल सुनारी मनोनयनमा परेका छन् । 

अवार्डको भोटिङका लागि मञ्चले खल्ती बाई आइएमईसँग सम्झौता पनि गरेको छ । मञ्चका अध्यक्ष निरञ्जन अधिकारी र खल्ती बाई आइएमईका चिफ कमर्सियल अफिसर आशिष गौतमले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । अवार्डमा खेलाडी मनोनयनमा परेका खेलाडीको प्रदर्शनसँगै मिडिया कभरेज खेलाडीको क्रेजलाई विशेष ध्यानमा राखेर गरिएको मञ्चका अध्यक्ष अधिकारीले बताए । अवार्डअन्तर्गत यो विधा आयोजनाको एक महिनाअघि हुने परम्परा छ । 

मनोनयनमा परेकी रेखाले पिपल्स च्वाइसको मनोनयनमा पर्दा एकदम खुसी लागेको र सपना पूरा भएको बताइन् । ‘स्पोर्टस् अवार्डमा मनोनीत हुनु मेरो सपना थियो । खेलप्रेमीले मलाई माया गर्नुहुनेछ ।’ उसुका विजयले आफूले यस खेललाई चर्चित बनाइराख्न मिहिनेत गरिरहेको बताए । ‘स्पोर्टस् अवार्डमा धेरै वर्ष मञ्चमा उत्रेको छु । सो समय मेरो भूमिका फरक थियो । म सोच्थेँ, कुनै दिन मनोनयनमा पर्नेछु, त्यो सपना पूरा भएको छ,’ उनले भने । 

 रेखा पौडेल (फुटबल)
मोरङकी रेखा एएफसी महिला च्याम्पियन्स लिग खेल्ने र सो प्रतियोगितामा गोल गर्ने पहिलो नेपालकी पहिलो फुटबलर हुन् । उनले युएईको अबुधाबी कन्ट्री क्लबमा आबद्ध भई डेब्युमै लाओसको योङ एलिफेन्ट्सविरुद्धको १–० को जितमा निर्णायक गोल गरेकी थिइन् । रेखाले साफ महिला च्याम्पियनसिप २०२४ मा सात गोल गरेकी थिइन् । उनी प्रतियोगिताकै सर्वाधिक गोलकर्ता बनिन् । उनले माल्दिभ्सविरुद्ध एक्लैले पाँच र श्रीलंकाविरुद्ध दुई गोल गरेकी थिइन् । सावित्रा भण्डारीपछि उनी साफमा ह्याट्रिक गर्ने दोस्रो महिला फुटबलर हुन् । 

 विजय सिन्जाली (उसु)
विजयले जापानको योकोहामामा भएको तेस्रो थाउलु विश्वकपमा कांस्य पदक जितेका थिए । सरकारले उनलाई यसै सफलताका आधारमा ६५ लाखसहित सम्मान गरेको थियो । साउदी अरेबियाको रियादमा भएको विश्व कम्ब्याट च्याम्पियनसिपमा उनले कांस्य हात पारे । चीनमा सम्पन्न दुई अन्तर्राष्ट्रिय आमन्त्रण उसु च्याम्पियनसिपमा उनी तेस्रो स्थान र जियान्सु विधामा आठभित्र पर्न सफल भए । त्यसै नतिजाका आधारमा थाउलु विश्वकपमा उनले स्थान बनाए । उनले नेपालमै भएको १३औँ सागमा स्वर्ण र १२औँ सागमा रजत पदक जितेका थिए । 

पूजा महतो (क्रिकेट)
आइसिसी यू–१९ महिला विश्वकप क्रिकेटमा एसिया छनोटमा च्याम्पियन भएर यू–१९ विश्वकपमा खेल्ने टोलीकी कप्तान पूजा हुन् । विश्वकप छनोटमा पूजाले ब्याटिङ र बलिङमा उत्कृष्ट प्रदर्शन गरिन् । नेपालले कुवेतलाई एक सय ६५ रनले हराउँदा उनले ६९ बलमा १७ चौकासहित अविजित एक सय ३० रनको योगदान दिइन् । प्रतियोगितामा सर्वाधिक रन दुई सय ७२ र बलिङमा १० विकेट लिएर दोस्रो स्थानमा उनी रहिन् । पूजाले एसिसी महिला यू–१९ एसिया कपमा पाकिस्तानलाई ६ विकेटले हराउँदा उत्कृष्ट प्रदर्शन गरेकी थिइन् । नेपाली महिला क्रिकेट टोलीले आइसिसीको पूर्ण सदस्य राष्ट्र पाकिस्तानलाई हराएको त्यो पहिलोपल्ट थियो । पूजाले सिनियर राष्ट्रिय टोलीबाट पनि प्रभावशाली प्रदर्शन गर्दै आइरहेकी छिन् । 

 इभाना थापा (टेबलटेनिस) 
युवा खेलाडी इभानाले दक्षिण एसियाली टेबलटेनिसमा चार पदक जितिसकेकी छिन् । एकलमा तेस्रो, गल्र्स डबल्समा दोस्रो, महिला टिममा दोस्रो, मिक्स डबल्समा तेस्रो हुँदै उनले पदक हात पारेकी हुन् । उनले २७औँ एसियाली टेबलटेनिस च्याम्पियनसिपमा काजकिस्तानविरुद्धको खेल जित्न सफल भइन् । नेपालमै आयोजना भएको ओलम्पिक क्वालिफायरमा उनले सेमिफाइनलसम्मको स्थान बनाइन् । दोस्रो जुनियर एन्ड मास्टर्स टेबलटेनिस यू–१९ प्रतियोगितामा उनले स्वर्ण पदक हात पारेकी थिइन् । 

हिमाल सोनारी (भलिबल)
सोनारीले नेपाल राष्ट्रिय टिमबाट खेल्ने अवसर भने पाएका छैनन् । तर, घरेलु प्रतियोगितामा उनको प्रदर्शन उच्च छ । उनी नेपालको राष्ट्रिय खेल भलिबलका समर्थकमाझ लोकप्रिय खेलाडी हुन् । नवौँ एनभिएल लिगमा ०८२ मा गण्डकी उपविजेता हुँदा उनी टोलीकै मुख्य सदस्य हुन् । सोनारी पाँचौँ टाइगर कप भलिबल च्याम्पियनसिपका उपविजेता टोलीका सदस्य हुन् । तेस्रो टाइगर कप भलिबलमा च्याम्पियन गण्डकी टोलीका महत्वपूर्ण सदस्य हुँदा प्रतियोगिताका बेस्ट सर्भर घोषित भएका थिए ।