
ब्राजिलका स्टार रिचार्लिसन चम्किएपछि इंग्लिस प्रिमियर लिगको नयाँ सिजनमा टोटनह्यामले सानदार सुरुवात गरेको छ । शनिबार राति भएको खेलमा बर्नलीलाई ३–० ले हरायो । कप्तान ह्युङ मिन सन अमेरिका पुगेपछि प्रिमियर लिग खेलेको टोटनह्यामले उत्कृष्ट जित निकालेको हो । रिचार्लिसनले दुई तथा ब्रेनन जनसनले एक गोल गरेका हुन् ।
जितपछि टोलीले पहिलो खेलबाटै तीन अंक जोडेको छ । पछिल्लोपटक युरोपा लिग जितेको टोटनह्याम यसपटक प्रिमियर लिगमा उत्कृष्ट प्रदर्शन गर्दै उपाधि दाबेदारी दिएको छ । यता, टोली च्याम्पियन्स लिगमा पनि फर्कने योजनामा छ । बर्नलीले भने हारबाट प्रतियोगिता सुरु गर्यो । यो हारले टोलीको सिजन नै कमजोर हुने पनि अनुमान गरिएको छ ।
रिचार्लिनसले खेलको दसौँ मिनेटमै अग्रता बनाएका थिए । पहिलो हाफमा टोलीले एक गोल मात्रै गर्दा दुई गोल दोस्रो हाफमा थपेको थियो । मोहम्मद कुदुसकै दोस्रो पासमा रिचार्लिसनले ६०औँ मिनेटमा व्यक्तिगत दोस्रो गोल गरेका हुन् । खेलको ७१औँ मिनेटमा मैदान छाडेपछि रिचार्लिसनले ह्याट्रिक मौका गुमाएका थिए । ६ मिनेटपछि नै जनसनले तेस्रो गोल गरेका हुन् । अर्काे खेलमा बढुवा भएको सन्डरल्यान्डले वेस्ट हमलाई ३–० ले नै हरायो ।
अर्काे खेलमा ब्राइटन र फुलहमले एक–एकको बराबरी खेल्दा एस्टन भिल्लाले न्युक्यासलसँग गोलरहित बराबरी खेल्यो । खेलमा एस्टन भिल्ला १० खेलाडीमा सीमित बनेको थियो । शुक्रबार राति सुरु भएको प्रिमियर लिगको पहिलो खेलमा साबिक विजेता लिभरपुलले बर्नामाउथलाई ४–२ ले हराएको थियो ।