
एउटा कलिलो केटोको कथा हो यो
केही गर्ने अठोट लिएको त्यस केटोलाई
देशले सबै इन्तिजाम मिलायो र परदेश लखेट्यो।
कवि विप्लव प्रतीकका यी मार्मिक शब्दबाट सुरु भएको ‘बफिन्स ९८’ समूहको ‘बरबरी आँसु’ बोलको गीत सार्वजनिक भएको छ। रोजगारीका लागि बिदेसिएका नेपाली युवाले भोगेको पीडा र त्यसको भयावह परिणामलाई गीतको म्युजिक भिडियोले जीवन्त रूपमा प्रस्तुत गरेको छ।
गरिबी, अशिक्षा र बेरोजगारीको चपेटामा परेका नेपाली युवाहरू आफ्ना साना सपना पूरा गर्न, परिवारको पेट पाल्न र सुनौलो भविष्यको खोजीमा परदेश जान बाध्य छन्। तर, उनीहरूको यो यात्रा अवसरको खोजी मात्र नभई आँसु, पसिना र रगतले लेखिएको दुःखद कहानी बन्न पुग्छ। देशभित्र मौलाएको भ्रष्टाचारले उनीहरूलाई आफ्नै भूमिमा बस्न नसक्ने स्थितिमा पुर्याएको छ। यसैले, आफ्नो मायालु आँगन, आमाबुबाको काख र आफ्नाहरूको साथ छोडेर उनीहरू अनिश्चित भविष्यतर्फ लाग्छन्। यही कथालाई गीतले प्रस्तुत गरेको छ।
पछिल्लो समय देशभक्तिपूर्ण गीत-संगीतका लागि परिचित ‘बफिन्स ९८’ समूहले यस गीतको निर्माण गरेको हो। सञ्जीव गुरुङको स्वर रहेको गीतको लेखन, भिडियो निर्देशन र सम्पादन जीवन भट्टराई ‘भाइ’ले गरेका छन्। यस गीतको छायांकन विक्रम श्रेष्ठले गरेका हुन् भने तारा शर्मा र रमेश गौतमको अभिनय रहेको छ।