
सिराहाको धनगढीमाई नगरपालिका– ११, आमचौक बस्ने ८५ वर्षीय फनिलाल यादवको हत्यामा संलग्न रहेको आरोपमा दुईजना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय सिराहाले पत्रकार सम्मेलन गरी पक्राउ परेका दुईजनालाई सार्वजनिक गरेको हो।
पक्राउ पर्नेमा धनगढीमाई नगरपालिका– २, भवानीपुरका ३३ वर्षीय महेश चौधरी र सोही ठाउँका १९ वर्षीय प्रशान्तकुमार मण्डल रहेका जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी वीरेन्द्रकुमार पासवानले बताए।
गत साउन १४ मा आफ्नो घरमा चोरी हुन लागेपछि फनिलालले होहल्ला गर्न खोज्दा चौधरीले आफूसँग बोकेको खुकुरी प्रहार गरेको प्रहरीले जनाएको छ। मृतक फनिलालमाथि टाउको, बायाँ कान र बायाँ आँखीभौँमाथि धारिलो हतियार प्रहार गरेर घाइते बनाएर फरार भएको र अत्यधिक रक्तस्रावका कारणले मृत्यु भएको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।
गम्भीर घाइते भएका फनिलाललाई प्रहरीको टोलीले उपचार गर्न राउ स्मारक प्रादेशिक अस्पताल लहान पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए। केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी), प्रदेश प्रहरी कार्यालय, जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय लहानले संयुक्त अनुसन्धान गर्दै निचोडमा पुगेको डिएसपी पासवानले बताए।
पक्राउ गरिएका दुवैजनालाई जिल्ला अदालत सिराहाबाट सात दिनको म्याद लिएर प्रहरीले अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।