
प्रधानमन्त्री केपी ओलीले रास्वपाका सभापतिमाथि ‘राजनीतिक प्रतिशोध’ भएको भन्दै गलत भाष्य बनाउन खोजिएको बताएका छन्।
बुधबार प्रतिनिधिसभामा प्रधानमन्त्री ओलीले पूर्वमन्त्री, पूर्वसांसद, बहालवाला मेयरलगायत धेरैलाई अदालतले थुनामा पठाएको उल्लेख गर्दै कुनै एक व्यक्तिमाथि ‘राजनीतिक प्रतिशोध’ भएको भन्ने जबर्जस्त भाष्य बनाउन खोजिएको टिप्पणी गरेका हुन्।
‘लाखौँ जनताले सहकारीमा गरेको बचत हिनामिना गर्ने सयौँ व्यक्तिमाथि न्यायालयमा मुद्दा चलेको छ। अदालतले मुद्दा हेरिरहेको छ। पूर्वमन्त्री, पूर्वसांसद, बहालवाला मेयरलगायत विभिन्न ओहोदामा रहिसकेका दर्जनौँ व्यक्तिहरूलाई अदालतले थुनामा पठाएको छ। तर, अदालतले पुर्पक्षका लागि थुनामा पठाएका कुनै एक व्यक्तिमाथि राजनीतिक प्रतिशोध भएको भन्ने जबर्जस्त भाष्य बनाउन खोजिएको छ,’ उनले भने।
एउटा व्यक्तिविशेषमाथि प्रतिशोध भएको हो भने थुनामा रहेका अन्य व्यक्तिमाथि के भएको हो भन्दै प्रधानमन्त्रीले प्रश्न गरे। भिडद्वारा न्यायको हत्या गर्न खोजिएको दाबी गर्दै उनले भने, ‘कुनकुन व्यक्तिमाथिको थुना जायज हो ? भिडद्वारा न्यायको हत्या गरेर अभियोगमुक्त हुन खोज्नेहरूबाट समयले यसको जवाफ सधैँ माग्नेछ। त्यस्ताका पछि लागेर कुद्ने भिड अचम्मको मात्र होइन, दयालाग्दो पनि छ।’