
काठमाडौं महानगरपालिकाले प्रशोधित पिउने पानीको जारहरूको अनुगमनलाई तीव्रता दिएको छ । बर्खायाममा पानीजन्य रोगहरूको जोखिम न्यूनीकरण गर्न महानगरले प्रशोधित पिउने पानीको अनुगमनलाई तीव्र बनाएको हो।
एक हप्ताको अवधिमा विभिन्न क्षेत्रहरूमा गरिएको अनुगमनका क्रममा मापदण्डविपरीतका २७१ वटा जार बरामद गरी नष्ट गर्न महानगर प्रहरी बललाई जिम्मा दिइएको छ ।
यस्तै, महानगरले असार र साउन महिनामा गरी जम्मा १३९ वटा गाडीबाट ४५६ वटा जार बरामद गरी नष्ट गरेको छ ।साथै, पानीको गुणस्तर सुनिश्चित गर्न भौतिक तथा जैविक परीक्षणका लागि नमुनाहरू प्रयोगशालामा पठाइएको छ।
चालू आर्थिक वर्ष सुरु भएपछि महानगरपालिकाले बल्खु, चाबहिल–चुच्चेपाटी, माछापोखरी–बालाजु, कोटेश्वरलगायतका स्थानमा अनुगमन गरेको कृषि तथा पशुपक्षी विभागका प्रमुख नूरनिधि न्यौपानेले बताए ।
कृषि तथा पशुपन्छी विभाग र महानगर प्रहरी बलको सहकार्यमा विभिन्न स्थानहरूमा चेकपोस्ट राखेर खानेपानी बोक्ने गाडीहरूको अनुगमन गरिएको हो ।