Skip This
पुरुषले पनि पढ्न पाउने गरी मनमोहनले तयार गर्‍यो बीएससी नर्सिङको पाठ्यक्रम
मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ श्रावण २४ शनिबार
  • Saturday, 09 August, 2025
गणेश लम्साल विराटनगर
२o८२ श्रावण २४ शनिबार १२:२७:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

पुरुषले पनि पढ्न पाउने गरी मनमोहनले तयार गर्‍यो बीएससी नर्सिङको पाठ्यक्रम

Read Time : > 1 मिनेट
गणेश लम्साल, विराटनगर
नयाँ पत्रिका
२o८२ श्रावण २४ शनिबार १२:२७:oo

पुरुष विद्यार्थीले पनि अध्ययन गर्न पाउने गरी मनमोहन प्राविधिक विश्वविद्यालयले बीएससी नर्सिङ विषयको पाठ्यक्रम तयार गरेको छ। कोशी प्रदेश सरकारले धनकुटा जिल्ला अस्पताललाई शिक्षण अस्पतालका रूपमा सञ्चालन गर्न हस्तान्तरण प्रक्रिया सुरु गरेसँगै, मनमोहन विश्वविद्यालयले चालु शैक्षिक सत्रदेखि नै कक्षा सञ्चालन गर्नका लागि पाठ्यक्रम तयार गरेको हो।

देशका दक्ष नर्सिङ कार्यक्रम विज्ञ र चिकित्सकहरूको समूहले महिनौं लगाएर, सेमेस्टर प्रणालीमा आधारित चार वर्षे बीएससी नर्सिङ पाठ्यक्रम तयार गरेको विश्वविद्यालयका उपकुलपति डा. सुवासश्री पोखरेलले जानकारी दिए। उनका अनुसार, यो कोर्स आठवटा सेमेस्टरमा विभाजित हुनेछ। विद्यार्थीहरूले ४० प्रतिशत सैद्धान्तिक र ६० प्रतिशत प्रयोगात्मक कक्षा उत्तीर्ण गर्नुपर्ने व्यवस्था छ।

डा. पोखरेलका अनुसार, पाठ्यक्रम बजारको मागलाई गहिरो अनुसन्धानपछि तयार गरिएको हो। ‘भाषा कम, प्राक्टिकल धेरै कार्यक्रम समावेश गरेर फरक र नयाँपन ल्याइएको छ। यसले दक्ष महिला–पुरुष नर्स उत्पादनमा सहयोग पुर्‍याउनेछ,’ उनले भने।

कोशी प्रदेश स्वास्थ्य सचिव डा। राधिका थपलियाले अनुभवी विज्ञहरूले तयार पारेको यो पाठ्यक्रम समयसापेक्ष भएको बताइन्। ‘यसमा बिरामीको हेरचाह मात्र नभई अनुशासित नेतृत्वको आवश्यकतालाई पनि ध्यान दिइएको छ,’ उनले भनिन्, यसले दक्ष जनशक्ति उत्पादन गर्नेमा म विश्वस्त छु।’

रजिष्ट्रार डा. दिलनाथ फुयालका अनुसार, नयाँ कोर्समा नर्सिङ अध्ययन गर्न चाहने पुरुषका लागि १५ प्रतिशत आरक्षणको व्यवस्था गरिएको छ। उच्च शिक्षा महाशाखा प्रमुख दामोदर फुयालका अनुसार, पाठ्यक्रम निर्माणमा राष्ट्रिय मात्र नभई अन्तर्राष्ट्रिय मापदण्ड र विश्वविद्यालयका पाठ्यक्रमलाई पनि गहिरो अध्ययन गरेर, स्वदेश तथा विदेशमा भएको माग अनुसार संशोधन गरिएको छ।

विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका नर्सिङ विज्ञ डा. रामशरण मेहताले नयाँ पाठ्यक्रमले जेनेटिक नर्सिङ, होम नर्सिङ, मानसिक स्वास्थ्य नर्सिङलगायत क्षेत्रमा देखिएको अभाव पूरा गर्ने बताए।‘पाठ्यक्रम उत्कृष्ट बनेको छ, तर यसलाई व्यवहारमा सफल बनाउने चुनौती भने मनमोहनकै हातमा छ,’ उनले भने।

नर्सिङ क्याम्पस विराटनगरकी प्रमुख मेनुका भण्डारीका अनुसार, यो पाठ्यक्रम जागिर खोज्नेहरूका लागि मात्र नभई आत्मनिर्भर बन्न चाहनेका लागि पनि उपयोगी हुनेछ।डा. पोखरेलका अनुसार, कोशी सरकारले धनकुटा अस्पताललाई मनमोहनको शिक्षण अस्पताल बनाउने निर्णय गरेर हस्तान्तरण प्रक्रिया सुरु गरिसकेको छ। प्रक्रिया पूरा भएपछि तुरुन्तै बीएससी नर्सिङ कार्यक्रम सञ्चालन गरिनेछ।

२०७६ मा स्थापना भएको देशकै पहिलो प्राविधिक विश्वविद्यालयका रूपमा, मनमोहनले हाल इन्जिनियरिङ (सिभिल, इलेक्ट्रिकल र इलेक्ट्रोनिक्स), स्नातक तहको फार्मेसी, स्नातकोत्तर तहको अस्पताल व्यवस्थापन, कानुनतर्फ पाँच वर्षे विविए–एलएलबी, र अपराधशास्त्रमा एलएलएम पढाइ गर्दै आएको छ। विश्वविद्यालयले आगामी दस वर्षभित्र विभिन्न विषयमा स्नातकदेखि पिएचडी तहसम्मको पढाइ सुरु गर्ने लक्ष्य लिएको छ।