
बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले विश्व आदिवासी जनजाति दिवस २०२५ को अवसरमा शुभकामना दिँदै आदिवासी जनजातीको अधिकार, पहिचान र सांस्कृतिक धरोहरको संरक्षणमा प्रदेश सरकार सदैव प्रतिबद्ध रहने बताएका छन् ।
सन्देशमार्फत मुख्यमन्त्री बानियाँले बागमती प्रदेशमा बसोबास गर्ने सम्पूर्ण आदिवासी जनजाति समुदायलाई शुभकामना दिँदै सांस्कृतिक विविधता र आदिवासी समुदायको योगदानलाई सम्मान गर्नुपर्ने आवश्यकता औंल्याएका छन् ।
यस वर्षको नारा ‘आदिवासी जनजातिहरू र कृत्रिम बौद्धिकता(AI): अधिकारको रक्षा, भविष्यको निर्माणु रहेको उल्लेख गर्दै मुख्यमन्त्री बानियाँले आदिवासी जनजातीको पहिचान, परम्परा र ज्ञान प्रणालीको संरक्षण गर्दै नयाँ अवसरहरू सिर्जना गर्न सबैको साझा भूमिका महत्त्वपूर्ण हुने बताएका छन् ।
सन्देशमा उनले तामाङ, नेवार, गुरुङ, मगर, थामी, चेपाङ, भोटे, थारू, युुवा, सुनुवार, मुकुलुङ, किरातलगायतका समुदायको परम्परागत सीप, संस्कृति र जीवनशैलीको प्रशंसा गर्दै यी समुदायले प्रदेशको सांस्कृतिक सम्पदा र ऐतिहासिक पहिचानलाई मजबुत बनाएको उल्लेख गरेका छन् ।
मुख्यमन्त्री बानियाँले बागमती प्रदेशको भौगोलिक र सांस्कृतिक विविधता तथा विभिन्न आदिवासी समुदायका भाषा, संस्कृति र ज्ञान प्रणालीले प्रदेशलाई अझ समृद्ध बनाएको बताए। उनले सांस्कृतिक विविधता र भाषिक अधिकारको सम्मान गर्दै आत्मसम्मानसहितको सहभागिताले मात्र न्यायपूर्ण र समावेशी भविष्य निर्माण सम्भव हुनेमा जोड दिएका छन् ।
अन्त्यमा, उनले ऐक्यबद्धता, सहअस्तित्व र समान अधिकारको भावनासहित अघि बढ्न सबैलाई आग्रह गर्दै यस दिवसले अधिकार र पहिचान जोगाउँदै उज्ज्वल भविष्य निर्माणका लागि प्रेरणा दिने विश्वास व्यक्त गरेका छन् ।