
प्रदेश र संघीय राजधानीलाई जोड्ने हेटौँडा–कुलेखानी–काठमाडौँ सडकअन्तर्गत इन्द्रसरोवर गाउँपालिका–२ स्थित सिमखोलामा निर्माणाधीन बेलिब्रिज अन्तिम चरणमा पुगेको छ । बागमती प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री डा. दिनेशचन्द्र देवकोटाले बिहीबार पुलको स्थलगत निरीक्षण गर्दै केही दिनभित्र सवारीसाधन सञ्चालनमा ल्याउने तयारी भइरहेको जानकारी दिए ।
गत वर्ष १० र ११ असोजमा परेको भारी वर्षा र कुलेखानी ड्यामको ‘ओभरफ्लो’ व्यवस्थापनका क्रममा पुलको दायाँबायाँको पहुँचमार्ग बगाउँदा सिमखोलास्थित पुल तथा सडक संरचना क्षतिग्रस्त भएको थियो । त्यसपछि खोलाबाट डाइभर्सनमार्फत सवारी सञ्चालन गरिँदै आइएको छ ।
निरीक्षणका क्रममा मन्त्री डा. देवकोटासहित इन्द्रसरोवर गाउँपालिकाका अध्यक्ष देवकृष्ण पुडासैनी, यातायात पूर्वाधार निर्देशनालयका निर्देशक इन्जिनियर नविनकुमार सिंहलगायतको टोली निर्माणस्थलमै पुगेर अवलोकन गरेका थिए । मन्त्री देवकोटाले निर्माण पक्षलाई बाँकी कार्य छिटो सम्पन्न गर्न र पुल समयमै सञ्चालनमा ल्याउन निर्देशन दिएका छन् ।
‘अब पुलको रंगरोगन र नाला व्यवस्थापन मात्रै बाँकी छ । ती काम सकेर छिट्टै सञ्चालनमा ल्याउने तयारी छ,’ मन्त्री देवकोटाले भने, ‘पुल निर्माण सम्पन्न हुनासाथ डाइभर्सनको बाध्यता हट्छ ।’
निर्देशक सिंहका अनुसार सिमखोलामा हालिएको बेलिब्रिज ६४ मिटर लामो छ । यो बेलिब्रिज घट्टेखोलाको १३ मिटर र मान्डुखोलाको ५० मिटर लामो बेलिब्रिज झिकेर जडान गरिएको हो । पुलको निर्माण, पक्की पहुँचमार्ग तथा वरपरको क्षतिग्रस्त सडक मर्मतका लागि गौरव इन्जिनियर्स प्रालिलाई एक करोड ८८ लाख रुपैयाँको ठेक्का दिइएको थियो ।
उक्त अवसरमा मन्त्री देवकोटाले सवारी सञ्चालनको दीर्घकालीन व्यवस्थापन, वर्षायाममा निरन्तर चल्न सक्ने सडक संरचना तथा नयाँ प्रविधिबाट पहिरो व्यवस्थापनको आवश्यकतालाई समेत औँल्याउँदै सम्बद्ध निकायलाई पूर्वतयारीमा जुट्न समेत निर्देशन दिएका छन् ।