
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतमा २५ प्रतिशत थप कर लगाएका छन् । नयाँ कर पहिले नै तय गरिएको २५ प्रतिशत करमाथि लागू हुने भएकाले अब अमेरिका भित्रिने भारतीय सामानमा लाग्ने भन्सार कर ५० प्रतिशत पुगेको छ ।
राष्ट्रपति ट्रम्पले हस्ताक्षर गरेको कार्यकारी आदेशअनुसार हाल थपिएको अतिरिक्त भन्सार कर २१ दिनपछि लागू हुनेछ ।
बुधबार ह्वाइट हाउसले जारी गरेको कार्यकारी आदेशमा ‘भारत सरकारले हाल प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा रुसी तेल आयात गरिरहेको’ जोड दिइएको छ । यस आधारमा, अमेरिकाले भारतबाट आयात हुने सबै उत्पादनमा २५ प्रतिशत थप कर लगाउने निर्णय गरेको बताइएको छ ।
अमेरिकाको निर्णयपछि भारतका विपक्षी दलले प्रधानमन्त्री नरेन्द्र मोदीलाई निसाना बनाएका छन् । प्रमुख प्रतिपक्षी दल कंग्रेसले सामाजिक सञ्जाल एक्समा एक पोस्ट गर्दै लेखेको छ, ‘नरेन्द्र मोदीका मित्र ट्रम्पले भारतमा ५० प्रतिशत भन्सार कर लगाएका छन् । ट्रम्पले भारतविरुद्ध निरन्तर कदम चालिरहेका छन् । तर, नरेन्द्र मोदी उनको नामसमेत लिँदैनन् । नरेन्द्र मोदी, साहस गर र ट्रम्पलाई जवाफ देऊ ।’
ट्रम्पका विशेष दूत स्टिभ विटकफले मस्कोमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई भेटेपछि ट्रम्पले भारतमाथि भन्सार कर थपेका हुन् । युक्रेनमा युद्धविराममा रुसको सहमतिका लागि शुक्रबारको समयसीमाअघि स्टिभ विटकफले पुटिनलाई मस्कोमा भेटेका थिए । ट्रम्पले यसअघि अमेरिकाले रुसबाट युरेनियम, मल र रसायनजस्ता उत्पादन आयात गर्ने गरेको आफूलाई थाहा नभएको बताएका थिए ।
भारतको जवाफ
भारतले पहिलो चरणको २५ प्रतिशत भन्सार कर लगाइएपछि सोमबार अमेरिका र युरोपेली संघको आलोचना गर्दै एक विज्ञप्ति जारी गरेको थियो । विज्ञप्तिमा रुसबाट कच्चा तेल किनेकोमा भारतलाई लक्षित गर्नु ‘अनुचित र तर्कहीन’ भएको भनिएको थियो । भारतको विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा अमेरिका र युरोप आफैँले रुससँग व्यापार गरिरहेका तर भारतका लागि दोहोरो मापदण्ड अपनाएको भनिएको छ ।
भारतको विदेश मन्त्रालयको विज्ञप्तिमा भनिएको छ, ‘जबकि हामीलाई जस्तो अमेरिका र युरोपले रुससँग गरिरहेको व्यापार ‘राष्ट्रिय आवश्यकता’समेत होइन ।’
मन्त्रालयका अनुसार, युरोपले रुसबाट ऊर्जाका अतिरिक्त, मल, खनिज उत्पादन, रसायन, फलाम–स्टिल र मेसिनरीजस्ता चिज खरिद गरिरहेको छ । त्यस्तै अमेरिकाले आफ्नो आणविक उद्योगको लागि युरेनियम हेक्साफ्लोराइड, विद्युतीय सवारी साधनको लागि प्यालेडियम, मल र रसायन रुसबाट आयात गर्ने गरेको कुरामा भारतले प्रकाश पारेको छ ।