
सिराहाको नरहा गाउँपालिकाबाट खोटाङको हलेँसी महादेव दर्शन गरेर फर्किने क्रममा विंगर दुर्घटना हुँदा १० महिलासहित १७ जना घाइते भएका छन्।
मध्यपहाडी लोकमार्गअन्तर्गत खोटाङको हलेँसी तुवाचुङ नगरपालिका– १, दौत्य खोला खण्डमा प्र.२–०१–००१ ज ००५३ नम्बरको विंगर सोमबार बिहान ८ बजेतिर आफैँ अनियन्त्रित भई सडकबाट करिब दुई सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ।
दुर्घटनामा घाइते भएकामध्ये गम्भिर अवस्थाका ६ महिला र चार पुरुष गरी १० जनालाई स्थानीय स्वास्थ्य संस्थामा सामान्य उपचारपछि थप उपचारका लागि ट्रमा सेन्टर काठमाडांै रेफर गरिएको खोटाङ प्रहरीका सूचना अधिकारी प्रहरी निरीक्षक सुशान्त मिश्रले जानकारी दिए।
उनका अनुसार टाउको, ढाड र शरीरका विभिन्न भागमा गम्भिर चोटपटक लागेका १० जनालाई काठमाडौं पठाइएको हो। काठमाडांै पठाइएकाहरुमा नरहा– ५ बलुवाका करिब ४० वर्षीय राजु यादव, रामशरण ठाकुरकी श्रीमती नाम नखुलेकी महिला, करिब ३२ वर्षीया सविता कुमारी यादव, ४० वर्षीया मिथिला कुमारी यादव छन्।
त्यस्तै, बलुवा गाउँकै करिब ३२ वर्षीया लक्ष्मी शर्मा, करिब ३२ वर्षीय नदिन शर्मा, झालुदेवी यादव, ३० वर्षीया पुनम यादव, नरहा– २ पानबारीका करिब ५७ वर्षीय धनेश्वर यादव र धनुषाको सबैला नगरपालिका– ४ का करिब ७९ वर्षीय दुर्योधन यादवलाई ट्रमा सेन्टर पठाइएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार दुर्घटनामा घाइते भएकी नरहा– ५ का मनोज यादवकी श्रीमती करिब ३० वर्षीया ममतादेवी यादवलाई उदयपुरको कटारी अस्पताल पठाइएको छ।
६ जना डिस्चार्ज
प्रहरीका अनुसार दुर्घटनामा सामान्य घाइते भएका तीन÷तीन जना महिला र पुरुष डिस्चार्ज भएका छन्। डिस्चार्ज हुनेहरुमा नरहा– ५ का करिब ३९ वर्षीय रञ्जित यादव, दिपेन्द्र यादव, करिब ७० वर्षीया कुस्मवती यादव, गोलबजार नगरपालिका– ६ की करिब ३७ वर्षीया शिला शर्मा, औरही गाउँपालिका– २ की मिनाकुमारी शर्मा, करिब १० वर्षीय शिवम् शर्मा छन्।
विङ्गर चालक सिरहा नगरपालिका सारश्वरका करिब २८ वर्षीय रामनाथ साह फरार रहेकाले खोजी गरिरहेको प्रहरीले जनाएको छ। पहाडी भूभागको अप्ठ्यारो सडकमा विङ्गर केही तीब्र गतिमा रहेकाले अनियन्त्रित भएर सडकमुनि खसेको अनुमान गरिएको छ।
दुर्घटनाको जानकारी पाएलगत्तै अस्थायी प्रहरी पोष्ट जयरामघाट, प्रहरी चौकी च्यास्मिटार, इलाका प्रहरी कार्यालय हलेसी, नम्बर ७ गुल्म हलेसी र हर्कपुर ओखलढुंगाबाट खटिएको प्रहरी टोलीले घाइतेहरुको उद्धार गरेको प्रहरीले जनाएको छ।