
इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीको टोलीले करिब साढे ८ किलो लागुऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ। शनिबार बिहान ७ बजेको समयमा प्रहरीको नियमित चेकजाँचको क्रममा पटेर्वा सुगौली गाँउपालिका ४ स्थित रहेको करबोलाबाट लागुऔषध गाँजासहित एकजनालाई पक्राउ गरेको हो। गाँजासहित पक्राउ पर्नेमा पर्सागढी नगरपालिका ९ एकटांकाका ३४ वर्षीय जगमोहन यादव रहेको इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीका प्रहरी निरिक्षक प्रकाश थापाले जानकारी दिए ।
उनका अनुसार प्रहरी टोलीले बेलुवाबाट देवरवानातर्फ जाँदै गरेको बिआर ०५ एजी ६८०५ नम्बरको मोटरसाइकलमा सवार चालक यादवलाई गाँजासहित पक्राउ गरेको हो । पक्राउ परेका यादव सवार रहेको मोटरसाइकलको सिटमुनी र उनको शरिरमा बाँधिएको अवस्थामा उक्त लागुऔषध गाँजा बरामद भएको प्रहरी निरिक्षक थापाले बताए । लागुऔषध गाँजा सहित पक्राउ परेका यादवलाई प्रहरी हिरासतमा राखेर थप अनुसन्धान भइरहेको उनले बताए । यस्तै साउन १६ मा पर्सा प्रहरीले परालमा लुकाएर राखिएको अवस्थामा लागुऔषध गाँजा बरामद गरेको छ ।
प्रहरीले पर्साको पकाहामैनपुर गाउँपालिका– २, सुर्जाहाबाट ४० किलोग्राम लागुऔषध गाँजा बरामद गरेको हो।विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय पोखरियाबाट खटिएको टोलीले शुक्रबार दिउँसो परालमा लुकाएर राखेको अवस्थामा उक्त गाँजा बरामद गरेको प्रहरी नायब उपरीक्षक किशोर लम्सालले जानकारी दिए।
परालभित्र तीनवटा बोरामा बेवारिसे अवस्थामा लुकाएर राखिएको ४० किलोग्राम गाँजा बरामद भएको हो ।यसअघि असार ३२ मा प्रहरीले सोही गाउँबाट करिब दुई सय किलोग्राम गाँजा बरामद गरेको थियो। विशेषगरी मकवानपुरका विभिन्न स्थानबाट जंगलको बाटो भएर पटेर्वा सुगौली क्षेत्र हुँदै गाँजा पर्सा भित्रिने गरेको छ।
ग्रामिण क्षेत्र गाँजा तस्करीको हब बन्दै
पछिल्लो समय पर्साको ग्रामिणक्षेत्र गाँजा तस्करीको हब नै बनेको छ। प्रहरीको तथ्यांक अनुसार अहिले ग्रामिण क्षेत्रमा प्रत्येक दिन जसो गाँजा र मानिसहरु नियन्त्रणमा आउने गरेका छन्।भारतसँग खुल्ला सिमा रहेको पर्सामा मकवानपुर जिल्लाको मनहरीबाट जंगलको बाटो भएर पटेर्वासुगौली गाउँपालिकाको सोनवर्षामा पुग्ने गर्छ ।
स्रोतका अनुसार उक्त पालिकाको करबोलाबाट देउरीया गाँउमा सजिलै तरीकाले गाँजा तस्करी गर्नेहरुले पुर्याउने गरेका छन्।त्यसपश्चात पोखरीया नगरपालिकाका विभिन्न गाउँ भएर सिमानाकाको पकाहामैनपुर गाँउपालिकाको सुर्जाहा सहितका अधिकांश गाउँ गाँजा पुग्ने गरेको स्रोतको दाबी छ।
सिमानाकामा गाँजा पुगेपछि लुकाएर छिपाएर राख्ने रातिको समयमा सजिलो तरीका अपनाएर भारतको विभिन्न स्थानमा गाँजा पुग्ने गरेको देखिन्छ। सरकारले गाँजालाई लागुऔषधको रुपमा परिभाषित गर्दै उत्पादन गर्न र ओसारपसार गर्न बन्देज लगाएको हो। सरकारले बन्देज लगाएपनि गाँजाको तस्करी र ओसारपसार भने रोकिएको छैन। दैनिकजसो गाँजा बरामद हुने र मानिसहरु पनि पक्राउ पर्ने गरेका छन्।
प्रहरीका अनुसार बेला बेलामा प्रहरीले पर्सा,मकवानपुर लगायतका जिल्लाहरुमा गाँजाखेती फडानी गर्ने गरेका छन्। तर पनि गाँजा उत्पादनमा कमी नआएको प्रमाण दैनिक बरामद हुने घटनाले देखाउँछ। गाँजा उत्पादनमै नियन्त्रण गर्न प्रहरी प्रशासनलाई चुनौती नै बनेको देखिन्छ। जिल्लाका विभिन्न क्षेत्रबाट प्रहरीले ठुलो ठुलो परिमाणमा गाँजा बरामद गर्ने तथ्यांकले देखाएको छ।लागुऔषध गाँजासहित भरीया मात्र पक्राउ पर्ने भएकाले प्रहरीले यसलाई रोक्नमा खासै चाँसो नदेखाएको देखिन्छ ।