मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ श्रावण १७ शनिबार
  • Saturday, 02 August, 2025
रामचन्द्र शर्मा
२o८२ श्रावण १७ शनिबार o९:२४:oo
Read Time : > 5 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

चुनाव जनमुखी बनाउन जोडौँ वेद र बुद्ध

Read Time : > 5 मिनेट
रामचन्द्र शर्मा
नयाँ पत्रिका
२o८२ श्रावण १७ शनिबार o९:२४:oo

हिन्दु, बौद्ध, इसाई, जैन, सिख, मुस्लिम सम्प्रदायमा विभाजित मानिस र समाजले वेद र बुद्धमा समानता छ भन्नेमा झ्वाट्ट विश्वास नगर्न सक्छ । तर, समानता भेटेर नै हिन्दुहरूले बुद्धलाई नवौँ अवतार मान्छन् । बुद्धलाई ईश्वर, आत्मा, परमात्मा नमान्ने नास्तिक भन्ने हिन्दु पनि छन् । बौद्ध धर्मावलम्बीमध्ये कतिले बुद्धलाई हिन्दुका देवता भन्दा ठुला र हाम्रा मात्र भगवान् हुन् भन्छन् । यो सब साम्प्रदायिक अहं मात्र हो ।

वेदको अर्थ ज्ञान हो । वेदले भन्छ ‘तत्वमसि ’ (त्यो ईश्वर तिमी नै हौ)। ‘आत्मन: प्रतिकूलानी परेषां न समाचरेत’ । (आफूलाई प्रतिकूल लाग्ने कुरा अरूलाई पनि नगर) । ‘परोपकार पुण्याय: पापाय परपीडनम्’ । (अरूको सेवा गर्नु धर्म र पीडा दिनु पाप हो) । ‘जन्मना जायते शूद्र: संस्काराद् द्विज उच्यते । वेदाभ्यासाद् भवेद् विप्रो ब्राह्मणो ब्राह्मबोधत: ।। अर्थात्, जन्मँदा सबै शूद्र, संस्कारले माथि उक्लँदै वेदको अभ्यास र ब्रह्मबोध भएपछि सबै ब्राह्मण हुन्छन् । वसुधैव कुटुम्बकम् । र, सर्वे भवन्तु सुखिन: । यिनै ज्ञानको सिँढी चढेर राग, द्वेष, मोहरहित हुँदै व्यक्ति, वस्तु र स्थितिको वास्तविक र यथार्थ रूपमा बुझी विषयवासनामा तृष्णा र आसक्ति नराखी निरपेक्ष भावमा शान्ति र आनन्द (निर्वाण) मा स्थित हुने गुण र क्षमता बुझाउने उपाधि हो बुद्धत्व । बुद्धत्व प्राप्त गरेपछि बुद्ध भनिन्छ । वेद र बुद्धमा फरक कति हो भने विद्युत् उत्पादनको सैद्धान्तिक कुरा वेदान्तमा थियो, त्यसको गहिरो अध्ययन र तपध्यानबाट विद्युत् उत्पादन र बल्ब आविष्कार गरेर बाल्ने काम बुद्धले गरे । प्रत्यक्ष प्रमाणित गर्न नसकिने ईश्वर, भगवान्, आत्मा र परमात्मातर्फ बुद्ध मौन बस्दै मानिस स्वयंले खोजुन् भनी खोज्ने ध्यानको विधि दिए । ध्यान नास्तिकले पनि गरे । ध्यान लागेपछि स्वत: परमात्मा अनुभूतिमा आउँने हुँदा नास्तिक पनि आस्तिकमा बदलिन्छ । बुद्धले धर्ममा विज्ञान जोडिदिए, ध्यानको विधि आविष्कार गरे । वेदमा उल्लेख ईश्वर, आत्मा र परमात्मा कहाँ छ भन्दै खोज्दै हिँड्ने मानिसले भेट्न ईश्वर । भगवान् कृष्णले सबैको हृदय मेरो वासस्थान हो भने पनि पत्याएनन् । अनि धर्मलाई अन्धविश्वास ठान्दै नि:सार कर्मकाण्ड गर्नमा सीमित हँुदै गएका मानिसको जीवनमा ध्यानद्वारा शान्ति र आनन्दको अनुभूति गराएर बुद्धले धर्म जिउने कला र जीवन पद्धति हो भन्ने व्यवहारत: पुष्टि गरे ।

सम्प्रदायगत धारणासँगै साधु, असाधु, धनी गरिब, ब्राह्मण, क्षेत्री, वैश्य, शूद्र  यो पार्टी, त्यो पार्टी, गुट–उपगुट र आफू स्वयंलाई त झन् संसारकै श्रेष्ठ, अरूद्वारा फूलमाला पहिरिन योग्य ठान्ने धारणा मन–मस्तिष्कमा भरिरहने मानिसले स्वयं र अरूप्रति निरपेक्ष भाव राख्न कठिन देखिने काम गर्ने क्षमता बुद्धको ध्यानले विकास गर्‍यो । मानिसले आफूमा रहेको पूर्वधारणा हटाएर यथार्थ र वास्तविकता मूल्यांकन गर्ने सोच बनायो । त्यसैले बुद्धले मनुष्य चेतनामा क्रान्ति ल्याएको दाबी गरेका छन्, ओशो रजनिशले । विपश्यना ध्यान साधकलाई ओशोको दाबी सत्यतथ्यमा आधारित रहेको स्वअनुभूति हुन्छ पनि । 

मानिसमा रहेको पूर्वधारणाले कामना लिएर हिँड्छ । सिक्काको दुई पाटा भएझैँ आग्रह र पूर्वाग्रह कामनाका दुई पाटा हुन्छन् । कामनाले व्यक्ति, वस्तु र स्थितिमा आफ्नो छाया पार्छ । त्यो छायाले व्यक्ति वस्तु र स्थितिको वास्तविक मूल्यमा थपघट गरिदिन्छ । आग्रहजनित कामनाले हाम्रालाई बढी अंक दिएर राम्रो बनाउँछ । हाम्रामा नपर्ने राम्राप्रति पूर्वाग्रहजनित कामनाले अंक घटाएर किनारमा मिल्काइदिन्छ । यसैलाई सांसारिक मायाको जालो भनिन्छ । चुनावमा भाग लिएका नयाँ पुराना सबै दल, नेता र कार्यकर्ता यो मायाजालबाट ग्रसित छन् । कसैले अनजस्टिस कमाइ गरेका छन् भने कोही अनजस्टिसमा परेका छन् । यो सांसारिक मायाजालको खेल सत्तामा हुने दलहरूले झनै बढी खेल्ने गरेकाले सुशासन र पारदर्शिता घट्दै जाने बेथिति र भ्रष्टाचार बढाउँदै लगेको छ ।

३० वैशाख ०७९ मा सम्पन्न स्थानीय चुनावमा काठमाडौं, धरान र धनगढीमा स्वतन्त्र व्यक्तिलाई मेयर चुने । यो पुराना दलको विकल्प खोजेको संकेत थियो । संकेतबाट डराएका पुराना दल गठबन्धन गरेर ४ मंसिर ०७९ मा सम्पन्न संघको चुनावमा गए । संकेतबाट उत्साहितहरूले ७ असार ०७९ मा राष्ट्रिय स्वतन्त्र पार्टी खोलेर चुनावी प्रतिस्पर्धामा उत्रिए । गठबन्धनलाई बहुमत नदिएका जनताले नयाँ दललाई २० सिटमा जिताए । यो देशको अवस्था बदल्ने एजेन्डा अघि सार्न नयाँ दललाई अवसर र गठबन्धनलाई नयाँ दलका एजेन्डा स्विकार्नैपर्ने बाध्यता थियो । नयाँ दलले कुनै एजेन्डा अघि सारेन । पुराना दलका नेतासँग मिलेर पटक–पटक सरकारमा गयो । मुलुकको अवस्था सुधार्ने नारा र अवसर अलपत्र पर्‍यो । 

संविधानत: ०८४ मा तीनै तहको चुनाव हुनुपर्छ, हुन्छ । पुराना दलले आ–आफ्ना कार्यकर्ता परिचालन गरी देशलाई उत्पादनउन्मुख गराउने योजना अघि सारेका छैनन् । नयाँ भनिएको दलले पनि देशको अवस्था सुधार्ने नीति र पद्धति तय गर्न देशव्यापी व्यवस्थित बहस सञ्चालन गर्न कार्यकर्ता परिचालन गर्ने जाँगर देखाएन । वर्तमान सरकार संविधान संशोधनका लागि भनिएकोमा वर्ष नाघिसक्दा पनि छलफलमा सम्म नआएकाले सत्तामा बसेर चुनाव गर्ने कुटिलताले सरकार बदलिएको बुझिन आयो । गणतन्त्र ल्याउन बढी मिहिनेत गरेको अहिलेको प्रमुख विपक्षी दलले आर्थिक क्रान्तिको योजना बनाई कार्यकर्ता परिचालन गरेर व्यवहारबाट गणतन्त्र संस्थागत गर्न बढी जिम्मेवारी लिएको देखाउनुपर्नेमा  जनतासँग उधारो कुरा गरी क्रियाशील रहेको स्वाङ रचेको छ ।  पुराना दलले बढाएको भ्रष्टाचार र बेथिति नियन्त्रण गरी सुशासन दिएर मुलुकको अवस्था बदल्ने वाचा र पुराना नेता नो नट अगेनको नाराले उदाएको नयाँ पार्टी व्यवहारले नयाँ बन्नुपर्नेमा न्यायिक हिरासतमा रहेका नेताप्रति जनसहानुभूति बटुली भोट बढाउने पुरानो शैली र तिकडम पछ्याउँदै छ । पूर्वराष्ट्रपति र उपराष्ट्रपतिको पार्टी राजनीतिमा प्रवेश सहानुभूति र भावुकता सिर्जना गर्ने औजार बनाउन खोजिएको छ ।  राजावादी पार्टी र समूह एक भई चुनावमा जान राजसंस्था र हिन्दु धर्म पुनस्र्थापनाको आन्दोलन सुरु गरिएको छ । दलहरूका वर्तमान गतिविधिले आगामी चुनावमा कोही सत्ताको बलले त कोही सहानुभूतिको भोट तान्ने तिकडमबाजी मात्र देखाउँछ । यो आगामी चुनावसमेत जनमुखी हुन नदिने संकेत हो । यसतर्फ हरेक दलभित्र र स्वतन्त्र रहेका सम्पूर्ण देशभक्त नेपालीले गहिरिएर विचार विमर्श गरी आगामी चुनाव जनमुखी बनाउन आजैदेखि जनस्तरबाट पहलकदमी नलिए देश थप संकटमा पर्नेछ ।

जनतालाई मालिक बनाउँछौँ भन्ने नेता सत्तामा पुगेपछि आफैँ मालिक बनेको देखेर अरू वेला असन्तुष्ट रहने जनता सांसारिक मायाजालमा परी चुनाव नजिकिँदै जाँदा नेताको ढाप र गुलिया चुनावी कुरामा फुस्लिएर उनै नेतालाई मत दिँदा ठुलो धनजनको क्षति गरेर ल्याएको गणतन्त्रमा पनि देश झन्–झन् कमजोर हुँदै गएको हो । जनता सांसारिक मायाको जालोबाट मुक्त भई आफू र मुलुकको वास्तविकता जाने–बुझेरै सही निर्णय गर्न सक्ने नबनेसम्म देश र जनताको अवस्था सुध्रिँदैन । जनतालाई जगाएर वास्तविकता बुझ्न सक्ने बनाउन देशैभरि बुद्धको ध्यान गर्ने–गराउने वातावरण सिर्जना गर्दै वेद र बुद्धलाई जोड्नुपर्छ ।

वेद र बुद्धले भगवान्को दर्जा दिएर मानिसलाई स्वनिर्भर बन्ने शक्ति सन्देश दिए । बाइबलले ईश्वर मालिक, भक्त नोकर हो भनेको छ । महान् वैज्ञानिक अल्बर्ट आइन्स्टाइनले वेद र बुद्धले वैज्ञानिक खोजलाई सम्भव बनाएको भनी आभार व्यक्त गरे । इसाई परिवारमा जन्मेका पश्चिमा विद्वान् ब्रटन रस्सलले त ‘ह्वाई आई एम नट अ क्रिस्चियन’ भन्ने किताब नै लेखे । रत्नाकर डाकु वाल्मीकिमा रूपान्तरण भई रामायण रचना गरे, अंगुलिमाल डाँका बुद्धको प्रभावले साधु बने ।

पश्चिमी विद्वान् कार्ल गुस्ताफ जुंगले हरेक पुरुषमा ४० प्रतिशत स्त्री गुण (एनिमस) र हरेक स्त्रीमा ४० प्रतिशत पुरुष गुण ( एनिमा) रहने औँल्याएका छन् । पुरुषका लक्षण तर्क, ज्ञान, संकल्प, सक्रियता, आक्रमण, हमला र खुबी सत्यको खोज गर्न सक्ने तथा स्त्रीका भक्ति, प्रेम, समर्पण र कल्पनाजस्ता लक्षण र सत्य आउँछ भनी धैर्यतापूर्वक प्रतीक्षा गर्ने खुबी रहने खुलासा गरेका छन् । वेद र बुद्धको शिक्षा (धर्म) ले  पुरुष र स्त्री दुवैमा रहेको पुरुष शक्ति विचार, ज्ञान, विवेक र तर्क उपयोग गरी सत्य खोज्ने प्रभावकारी ज्ञान विधि दिँदै मार्गप्रशस्त गरेको छ ।

अत: वेद र बुद्ध शिक्षा जोडेर अनुसरण गर्ने–गराउने वातावरण सिर्जना गरौँ देशमा । हरकुरामा राजनीतिक दल र नेतालाई मात्र दोष लगाउने, स्वदेशमा केही पनि सम्भावना नदेख्ने र विदेशमा सबथोक आफैँ बर्सिन्छ जस्तो ठान्ने हाम्रो गलत सोच परिवर्तन हुनेछ । किनकि, बुद्धको ध्यानले सबैलाई भगवान् आफ्नै हृदयमा रहेको अनुभूति गराएपछि साम्प्रदायिक, जातीय, वाद र गुटको तुच्छ धारणा हाम्रो मन–मस्तिष्कबाट स्वत: हटी सांसारिक मायाको जालोबाट मुक्त भएर चित्त निर्मल र शुद्ध रहनेछ । जननी जन्म भूमिश्च स्वर्गादपिगरीयसि को मर्म र विदेशी जीवन मेसिनजस्तै चल्नुपर्ने कुरा मनन हुन्छ । अनि, आफूले भोट हालेका नेताले गलत गरे भनेर गाली गर्ने, विकल्पको खोजी नगरी उनैलाई भोट हाल्ने मुख्य गल्ती हाम्रै भएको धरातलीय यथार्थ बोध हुनेछ । कष्ट साधना गरेर पुराना दल र नेताले गणतन्त्र ल्याउन खेलेको मुख्य भूमिकाप्रति धन्यवाद दिँदै उनीहरूको वर्तमान कमजोरी हटाउन आफूहरूसँग भएको ज्ञान, बुद्धि, विवेक, अनुभव र अनुभूति उपयोग गर्न अग्रसर भइन्छ । विज्ञसहितको व्यवस्थित बहस विमर्शबाट देशको अवस्था सुधार्ने नीति र पद्धति तय गर्दै नीतिलाई नेता मानिनेछ । जनतालाई योगध्यानको प्रशिक्षण दिँदै प्रशिक्षक तयार गरी ज्ञान र शान्तिभूमि नेपाललाई ध्यान र आरोग्य पर्यटनको अन्तर्राष्ट्रिय गन्तव्य बनाइनेछ । बाँझिएको उर्वर भूमि आवाद गरी खाद्यान्नमा आत्मनिर्भर बन्दै एकाध दशकमा समृद्ध विश्वगुरु बन्नेछ नेपाल ।