
बागमती प्रदेश संसदीय दलको नेता चयनको प्रक्रिया सुरु भएको छ। कांग्रेस बागमती प्रदेश संसदीय दलको नेताका लागि इन्द्रबहादुर बानियाँले औपचारिक रूपमा मनोनयन दर्ता गरेका छन्।
प्रदेश सभामा पार्टीको नेताबाट मुख्यमन्त्रीसमेत रहेका बहादुरसिंह लामाले विश्वास गुमाएपछि नयाँ नेता चयन प्रक्रिया अघि बढाइएको हो। बुधबार हेटौँडामा दलको नेताका लागि मतदान हुँदै छ। बानियाँको उम्मेदवारी यांकिला शेर्पाले प्रस्ताव गरेकी हुन् भने कृष्णकुमार तामाङले समर्थन गरेका छन्।
कांग्रेसभित्रको आन्तरिक विवादसँगै लामाविरुद्ध अविश्वासको वातावरण बनेपछि नयाँ नेतृत्व चयन प्रक्रिया सुरु गरिएको हो। पार्टीले लोकतान्त्रिक प्रक्रियाअनुसार निर्वाचनको माध्यमबाट नयाँ नेता चयन गर्न लागेको हो।
संसदीय दलको नयाँ नेता चयनका लागि आज चुनाव हुँदै
कांग्रेस बागमती संसदीय दलको नेताका लागि बुधबार चुनाव हुँदै छ । निर्वाचन समितिले दिउँसो २ देखि ३ बजेसम्म मतदानको कार्यतालिका सार्वजनिक गरेको छ । त्यसअघि बिहान ८ बजे मतदाता नामावली प्रकाशित, साढे ८ देखि ९ बजेभित्र दाबी विरोध र १० देखि ११ बजेसम्ममा उम्मेदवारले उम्मेदवारी दर्ता गराउनुपर्नेछ ।
साढे ११ बजे उम्मेदवारको प्रारम्भिक सूची सार्वजनिक हुनेछ भने मध्याह्न १२ बजेभित्र उम्मेदवारले फिर्ता लिन सक्नेछन् । दिउँसो १ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुनेछ । चुनावपछि बुधबार नै मतगणना गरी परिणाम घोषणा गरिने निर्वाचन समितिका संयोजक हरिशरण श्रेष्ठले बताए । बागमतीमा कांग्रेसका ३७ सांसद छन् । बहुमतका लागि १९ जनाको समर्थन चाहिन्छ ।