
इल्यान्ड र कम्बोडियाबिच लामो समयदेखि चलिरहेको सीमा द्वन्द्वले गत बिहीबार नाटकीय रूप लियो । जुलाई २३ मा उबोन रत्चाथानी प्रान्तको सिमानामा गस्ती गरिरहेका पाँच थाई सैनिक बारुदी सुरुङमा परेर गम्भीर घाइते भए । घटनाको विरोधमा थाई सरकारले कम्बोडियाका राजदूतलाई देशबाट निष्कासन गर्दै कम्बोडियाबाट पनि आफ्ना राजदूतलाई फिर्ता बोलायो । भोलिपल्ट बदलामा कम्बोडियाले थाई राजदूतलाई तत्काल देश छाड्न आदेश दिँदै बैंककबाट आफ्ना दूतावासका कर्मचारीलाई फिर्ता बोलायो । त्यसपछिका चार दिन दुई पक्ष सीमा क्षेत्रमा घातक भिडन्तमा सामेल भए ।
कम्बोडियाले थाईल्यान्डतर्फ रकेट र तोपखाना प्रहार गर्दा कम्तीमा ११ नागरिक र एक सैनिकको मृत्यु भयो । थाइल्यान्डले बदलामा कम्बोडियामा हवाई आक्रमण गर्यो । थाइल्यान्डले मुख्यत: ‘प्रिह विहार’ नामक हिन्दु मन्दिरवरपरको विवादित क्षेत्रमा रहेका कम्बोडियाली सैन्य अड्डालाई लक्षित गरेको थियो । दुवै पक्ष अर्कोमाथि युद्ध सुरु गरेको दोष लगाइरहेकाले प्रमाणित जानकारी अहिले प्राप्त गर्न कठिन छ ।
पछिल्लो तनाव मे महिनाको अन्त्यतिर सुरु भएको थियो । त्यतिखेर सिमानामा दुई देशका सेनाबिचको गोली हानाहानमा एक कम्बोडियन सिपाही मारिएका थिए । तर, दुई देशको द्वन्द्वको जरा भने १९औँ शताब्दीको अन्त्य र २०औँ शताब्दीको सुरुतिरको औपनिवेशिक युगसम्म जोडिएको छ । दक्षिणपूर्वी एसियामा युरोपेली शक्तिको औपनिवेशिक शासन प्रवेश गर्नुअघि यस भेगका शासकमा स्पष्ट सीमा भएको राष्ट्र–राज्यको अवधारणा अपरिचित थियो । औपनिवेशिक शक्तिको आगमनअघि दक्षिण–पूर्वी एसियाको जनजीवन स्पष्ट सीमा नभएको खुकुलो खालको प्रशासनबाट निर्देशित थियो । त्यतिखेर त्यस भेगमा शक्ति र व्यापारको महŒवपूर्ण केन्द्रको रूपमा काम गर्ने ठुल्ठुला सहर थिए । ती सहरका वरपर त्यसमाथि निर्भर कैयौँ साना नगर र गाउँ हुन्थे । साना नगर र गाउँ ठुला सहरबाट जति टाढा हुन्थे, त्यसमाथि सहरको नियन्त्रण र प्रभाव त्यति नै कम हुन्थ्यो । ब्रिटिस र फ्रान्सेली औपनिवेशिक शक्तिको आगमन दक्षिण–पूर्वी एसियामा सिमाना भएका राष्ट्रको अवधारणा जन्मिए । तिनै शक्तिले थाइल्यान्ड (जुन त्यतिवेला सियाम भनेर चिनिन्थ्यो) र कम्बोडियाको पहिलो आधिकारिक नक्सा कोरिदिएका हुन् । जहाँसम्म थाइल्यान्डको सन्दर्भ छ, ऊ कहिल्यै औपचारिक रूपमा बाह्य शक्तिको उपनिवेश नबनेको एक मात्र दक्षिण–पूर्वी एसियाली राष्ट्र हो । तथापि, त्यहाँका राजाको अनुरोधमा सो देशको पनि नक्सांकन गरियो ।
थाइल्यान्डको वर्तमान सिमानालाई सन् १८९३ को ‘पाकनाम घटना’पछिका कैयौँ नक्सांकन र सन्धिले आकार दियो । पाकनाम घटनामा दुईवटा फ्रेन्च बन्दुकधारीले भरिएको डुगोले ‘चाओ प्रया नदी’मा बसेर बैंककलाई नाकाबन्दी गरेका थिए । एक उदीयमान राष्ट्रको रूपमा आफ्नो सार्वभौमिकता जोगाउन सियामले यस घटनापछि फ्रान्सलाई आफ्ना कैयौँ भूभाग सुम्पियो । थाइल्यान्डले त्यति वेला फ्रान्सलाई सुम्पिएको जमिनमा हालको कम्बोडियाका धेरै प्रान्त समावेश छन् । सो भेगमा प्राचीन मन्दिर भेटिन्छन् । फ्रान्सेलीहरूले बनाएको सन् १९०७ को नक्साले कुन भेग कुन देशमा पर्ने भनेर तोकिदियो । तथापि, तिनमा धेरै अस्पष्टता कायमै थिए । सन् १९५३ मा कम्बोडियाले फ्रान्सको शासनबाट स्वतन्त्रता हासिल गरेपछि प्रिह विहार मन्दिर रहेको भाग कम्बोडिया–थाइल्यान्ड सम्बन्धमा एक पीडादायी बिन्दु बन्यो ।
प्रिह विहार मन्दिर विवाद
सन् १९५४ मा दक्षिण–पूर्वी एसियाबाट फ्रान्सको बहिर्गमनपछि थाइल्यान्डले प्रिह विहारलाई कब्जामा लियो । कम्बोडियाले त्यस विषयलाई अन्तर्राष्ट्रिय न्यायालय (आइसिजे)मा उठायो । आइसिजेले सन् १९६२ मा फ्रान्सेली नक्साका आधारमा मन्दिर कम्बोडियाको भएको फैसला गर्यो । थाइल्यान्डले अनिच्छुकताका साथ फैसला स्वीकार गर्यो । तथापि, मन्दिरवरपरको क्षेत्रमाथि भने दाबी राख्न छाडेन ।
संयुक्त राष्ट्र संघको विश्व सम्पदा निकाय युनेस्कोले सन् २००८ मा मन्दिरलाई विश्व सम्पदाको दर्जा प्रदान गरेपछि द्वन्द्व फेरि चर्कियो । सुरुमा कम्बोडियाको अडानलाई थाईका तत्कालीन नयाँ प्रधानमन्त्री सामक सुन्दरावेजको सरकारबाट समर्थन प्राप्त भएको थियो । सुन्दरावेज त्यति वेला भर्खरै पदच्युत भएका थाक्सिन सिनावात्राका नजिकका सहयोगी थिए ।
थाक्सिनविरोधी समूहले यस समर्थनलाई देखाएर सो सरकारविरुद्ध उग्र राष्ट्रवादी अभियान चलाए । ठुलो घरेलु विरोधले सुन्दरावेजको र उनका उत्तराधिकारी सोमचाई वोंगसावत दुवै सरकारलाई एकपछि अर्को गरी सन् २००८ मा न्यायिक विद्रोहबाट हटाउन बल पुग्यो । सन् २००८ देखि २०११ सम्मको अवधि दुई देशहबिच उच्च तनावपूर्ण रह्यो । मन्दिरवरपरका क्षेत्रमा दुई देशका सेनाबिच छिटपुट झडपका घटना भए ।
फेब्रुअरी २०११ का झडप अन्य झडपका तुलनामा हिंसात्मक ठहरिए, जसमा कम्तीमा आठ नागरिकको मृत्यु भयो भने २० जना सैनिक घाइते भए । सीमाको दुवै भागका धेरै नागरिक विस्थापित भए । त्यसपछि कम्बोडियाका प्रधानमन्त्री हुन सेनले मन्दिर र यसवरपरको क्षेत्रमाथि कम्बोडियाली दाबी पेस गर्दै आइसिजेमा मुद्दा दायर गरे । आइसिजेले कम्बोडियाको पक्षमा एक अस्थायी फैसला जारी गर्यो र दुवै पक्षलाई विवादित क्षेत्रबाट सेना फिर्ता गर्न आदेश दियो । थाई सेनाले सुरुमा पछाडि हट्न अस्वीकार गरेको थियो । तर, डिसेम्बर २०११ मा दुवै देश आफ्नो सेना विवादित क्षेत्रबाट हटाउन सहमत भए ।
आइसिजेको अन्तिम फैसला सन् २०१३ को अन्त्यमा आयो । फैसलाले विवादित जमिनमाथि कम्बोडियाको सार्वभौमिकता कायम गरेको थियो । आइसिजेको निर्णय आउँदा थाइल्यान्डमा थाक्सिनकी कान्छी बहिनी यिङलक सिनावात्राको सरकार थियो । उनको सरकारले त्यस समय थाक्सिनविरोधी समूहबाट व्यापक सार्वजनिक विरोधको सामना गरिरहेको थियो । फैसलाले यिङलकको सरकारको पतनमा निर्णायक भूमिका नखेलेको भए पनि यसले पहिलेदेखि विस्फोटक बनेको राजनीतिक वातावरणमा इन्धन थप्ने काम भने गरेको थियो ।
सन् २०१३ को आइसिजेको फैसलापछि सीमा द्वन्द्व धेरै हदसम्म सुषुप्त रह्यो । त्यसपछि विवादले मे २०२५ मा नयाँ रूप लिएको हो । कम्बोडिया र थाइल्यान्डबिचको सीमाक्षेत्रको तनावको इतिहास नयाँ होइन । तर, यसपटकको विवादमा यी दुई देशका शीर्ष राजनीतिक परिवार तानिएको नौलो दृश्य देखियो ।
पछिल्लो २० वर्षको अवधिमा, हुन सेन र थाक्सिनबिच पारिवारिक तहमै घनिष्ठ सम्बन्ध देखिएको थियो । तर, कम्बोडियाली राजनीतिमा अत्यन्त प्रभावशाली व्यक्तित्व रहेका हुन सेनले थाक्सिनकी छोरी पेटोङटर्नसँगको आफ्नो फोनकलको रेकर्डिङ सार्वजनिक गरिदिएपछि यो सम्बन्ध टुटेको छ । फोन रेकर्डिङ बाहिरिएपछि पेटोङटार्नको प्रधानमन्त्रीत्व खतरामा पारेको छ । पेटोङटार्नलाई अदालतको फैसला नआएसम्म पदबाट निलम्बन गरिएको छ भने कम्बोडिया–थाई सम्बन्ध हालसम्म तल्लो स्तरमा पुगेको छ । हाललाई दुई पक्षबिच सम्झौतामा गोलीबारी रोक्ने सहमति भएको छ । तथापि, व्यक्तिगत शत्रुताको पछिल्लो मिश्रणलाई ध्यानमा राख्दा दुई देशको विवादको दिगो कूटनीतिक समाधान भने असम्भव देखिन्छ ।
– द कन्भर्सेसनबाट