मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ श्रावण १४ बुधबार
  • Wednesday, 30 July, 2025
२o८२ श्रावण १४ बुधबार १o:३६:oo
Read Time : > 2 मिनेट
खेलकुद प्रिन्ट संस्करण

गौतमबुद्ध रंगशाला निर्माण ढिलाइ हुँदा साढे १५ करोड रकम ‘फ्रिज’

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o८२ श्रावण १४ बुधबार १o:३६:oo
  • बिबिआर जेभीले समयमा काम नगर्दा रंगशालाका लागि संघीय सरकारबाट विनियोजन भएको सात करोड ३४ लाख ३० हजार,  बागमती प्रदेशको तीन करोड २० लाख र भरतपुर महानगरपालिकाको पाँच करोड रकम फ्रिज भएको हो 

भरतपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको निर्माण कार्य ढिला हुँदा संघीय सरकार, बागमती प्रदेश र भरतपुर महानगरपालिकाले गत आर्थिक वर्षमा विनियोजन गरेको रकममध्ये साढे १५ करोडभन्दा बढी रकम फिर्ता भएको छ । संघीय सरकारबाट सात करोड ३४ लाख ३० हजार, बागमती प्रदेशको तीन करोड ३० लाख र भरतपुर महानगरपालिकाको पाँच करोड रकम फ्रिज भएको हो ।

निर्माण भएको ढिलाइका कारण लगभग साढे १५  करोड रकम फिर्ता भएको महानगरपालिकाका डिभिजनल इन्जिनियर सन्तोष आचार्यले नयाँ पत्रिकालाई जानकारी दिएका छन् । कामको प्रगति अत्यन्त सुस्त रहेकाले गत आर्थिक वर्षको अन्त्यसम्म २.४९ प्रतिशत मात्र प्रगति भएको छ । ‘असारसम्म भौतिक प्रगति ३० प्रतिशत पुगेको भए पनि समयमै काम सम्पन्न नहुँदा बजेट फिर्ता गर्नुपर्‍यो,’ उनले भने । महानगरपालिकाको समन्वयमा प्रदेश सरकार र संघीय सरकारबाट निकासा भएको रकम निर्माण कार्यमा प्रयोग हुन नसकेपछि रकम फिर्ता भएको हो । ‘रकम फिर्ता हुनुको पछाडि कामदारको समस्याले पनि हो,’ आचार्यले भने, ‘रोपाइँको समयमा काम गर्नेहरू उतैतिर लागेपछि समस्या आएको हो ।’

‘निर्माण व्यवसायीले तोकिएको समयमा काम सम्पन्न गर्न नसक्दा बजेट फ्रिज भयो,’ उनले भने । आर्थिक वर्षका लागि संघीय सरकारबाट रंगशाला बनाउन सात करोड ३४ लाख ३० हजार १७० रुपैयाँ र प्रदेश सरकारबाट तीन करोड २० लाख रुपैयाँ फिर्ता भएको हो । 

केन्द्र सरकारले रंगशाला निर्माणका लागि २५ करोड रुपैयाँ निकासा गरेको थियो । जसमध्ये निर्माणमा १७ करोड ६५ लाख ६९ हजार ८३० मात्र खर्च भएको छ । प्रदेश सरकारबाट चालू आर्थिक वर्षमा १० करोड निकासा भएकोमा निर्माण कम्पनीले ६ करोड ८० लाख रुपैयाँ खर्च गर्‍यो ।

प्रदेश र महानगरले हिमालयन–कालिञ्चोक–बिबिआर ज्वाइन्टभेन्चरले ७८ करोड ५० लाख ९१ हजार रुपैयाँमा रंगशाला निर्माण गर्ने गरी सम्झौता गरेका थिए । कम्पनीसँग २३ असार ०८१ मा सम्झौता भएको थियो । जसअनुसार ०८३ पुस २२ भित्र रंगशाला निर्माण सम्पन्न गरिसक्नुपर्नेछ ।

बागमतीले ७० र महानगरले ३० प्रतिशत खर्च व्यहोर्ने
धुर्मुस–सुन्तली फाउन्डेसनले गौतमबुद्ध अन्तर्राष्ट्रिय रंगशाला निर्माण कार्य आर्थिक कारण देखाउँदै रोकेको थियो । फाउन्डेसनले थप रकम जुटाउन नसकेको जनाउँदै निर्माण कार्य अगाडि बढाउन नसक्ने घोषणा नै गरेको थियो । फाउन्डेसनले हात झिकेपछि रंगशाला बनाउन बागमती प्रदेश र भरतपुर महानगरपालिका अग्रसर भए । दुवैले एकआपसमा समन्वय र आर्थिक साझेदारी गर्ने सम्झौता गर्‍यो । सम्झौताअनुसार बागमती ७० र महानगरले ३० प्रतिशत आर्थिक भार व्यहोर्नुपर्नेछ ।

संघीय सरकारले रकम निकासा गर्न ढिलाइ गर्दा पनि निर्माण कम्पनीले समयमै काम गर्न नसकेको दाबी इन्जिनियर आचार्यले गरेका छन् । ‘संघीय सकारले रंगशाला निर्माणका लागि रकम गत पुस महिनामा निकासा गरेको थियो । गत आर्थिक वर्षमा रंगशाला निर्माणमा जम्मा ६९.८७ प्रतिशत रकम खर्च भएको थियो । निर्माण कम्पनीले तीनवटा रनिङ बिलमा १७ करोड ६५ लाख ६९ हजार आठ सय रुपैयाँ भुक्तानी लिएको छ । जसमध्ये पेस्कीस्वरूप निर्माण कम्पनीले १३ करोड ६० लाख रुपैयाँ गत आर्थिक वर्षमा लिएको थियो ।

पाँच हजार दर्शक क्षमताको सकियो ढलान 
अहिलेसम्मको भौतिक प्रगतिमा पाँच हजार दर्शक क्षमताको प्यारापिट ढलान सम्पन्न भइसकेको छ । थप दुई हजार क्षमताको प्यारापिट निर्माणाधीन रहेको छ । ‘रंगशालाको दुई टावरमध्ये एकको भुइँतलाको ढलान सम्पन्न भएको छ भने अर्कोको प्रारम्भिक काम भइरहेको छ,’ आचार्यले भने, ‘रंगशालाको फाउन्डेसनको काम भइरहेकाले पनि ढिलाइ भएको हो ।’ रंगशालाको सम्पूर्ण प्राविधिक जाँचपछि मात्रै नियमित काम थालिएको हो ।