मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ श्रावण १३ मंगलबार
  • Tuesday, 29 July, 2025
कृष्ण रिजाल काठमाडाैं
२o८२ श्रावण १३ मंगलबार o६:२३:oo
Read Time : > 4 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

राष्ट्रिय गौरवको आयोजनाको दुरवस्था : २३ वर्षअघि सुरु भएको सिक्टा सिँचाइ आयोजना सक्न अझै २५ वर्ष लाग्ने

Read Time : > 4 मिनेट
कृष्ण रिजाल, काठमाडाैं
नयाँ पत्रिका
२o८२ श्रावण १३ मंगलबार o६:२३:oo
  • नौ वर्षमा सक्ने भनेर १२ अर्ब लागत अनुमान गरिएको आयोजनाको दोस्रोपटक म्याद थप्दा ०८९/९० भित्र ५२ अर्ब ८९ करोडमा सक्ने लक्ष्य
  • तर, अहिलेकै गतिमा काम भए पछिल्लो लक्ष्यको १७ वर्षपछि मात्रै सकिने योजना आयोगको ठहर

नौ वर्षभित्र राप्ती नदीको पानी बाँके जिल्लामा पुर्‍याएर ३३ हजार ७६६ हेक्टर जमिन सिञ्चित गर्ने उद्देश्यले ०६०/६१ मा सुरु गरिएको सिक्टा सिँचाइ आयोजना २३ वर्षमा पनि अधुरै छ । संशोधन गरेर ४३ हजार ७६६ हेक्टर सिञ्चित गर्ने लक्ष्य पुर्‍याइएको राष्ट्रिय गौरवअन्तर्गत रहेको आयोजना सम्पन्न गर्न अहिलेकै गतिमा अगाडि बढ्ने हो भने अझै २५ वर्ष लाग्नेछ । राष्ट्रिय योजना आयोगले गरेको अध्ययनले अहिलेकै गतिमा काम भए सिक्टा सिँचाइ आयोजना २१०६/०७ मा मात्रै सकिने देखाएको हो । 

दोस्रो संशोधित गुरुयोजनाअनुसार आगामी आठ वर्षभित्र अर्थात् ०८९/९० सम्ममा आयोजना सक्ने लक्ष्य छ । जबकि औसत वार्षिक प्रगति २.१५ प्रतिशत मात्रै छ । यो गतिमा काम हुँदा ८ वर्षमा होइन, २५ वर्षमा मात्रै सम्पन्न हुने आयोगको प्रतिवेदनले औँल्याएको छ । 

‘सिक्टा सिँचाइ आयोजनालाई ०८९/९० मा सम्पन्न हुने अनुमान गरे तापनि हालसम्मको भौतिक तथा वित्तीय प्रगतिको हिसाबले सम्पन्न हुन अझै २५ वर्षभन्दा धेरै लाग्ने देखिन्छ’ आयोगको प्रतिवेदनमा उल्लेख छ ।

आयोजना प्रमुख राजु आचार्य बजेट, जनशक्ति अभाव, कर्मचारीको सरुवा, गुरुयोजना संशोधनलगायतका कारणले काम सुस्त भएको दाबी गर्छन् । ‘बजेट, जनशक्तिको अभाव, कर्मचारीको सरुवा, गुरुयोजनामा संशोधनलगायतले आयोजना सुस्त हुन पुग्यो । काम गर्दै जाँदा पश्चिम मूल नहरको १० मिटर जति भत्किँदा परेको मुद्दा मामिलाका कारण पनि ढिलाइ भयो । सुरुको डिपिआर संशोधन हुँदै आयोजनाको क्षेत्र र कामहरू थपिँदा लागत पनि सोहीअनुसार बढेको छ । तर, अहिले कामले गति लिइरहेको छ,’ उनले भने, ‘पर्याप्त बजेट र जनशक्ति दिने, कम्तीमा २ वर्ष कर्मचारी सरुवा नगर्ने, मुआब्जा निर्धारण र वितरणमा सहजीकरण गर्ने हो भने अबको पाँच वर्षभित्र आयोजना सम्पन्न गर्न सकिन्छ ।’

९ वर्षमा तयार गर्न १२ अर्ब लागत अनुमान गरेर आयोजना सुरु भएको थियो । तर, तोकिएको समयमा काम पूरा भएन । ३४ किमि पश्चिम मूलनहरको ट्र्याक र हेडवर्क्ससम्बन्धी काम मात्रै सम्पन्न भएको र यसमा आठ अर्ब नौ करोड खर्च भएको राष्ट्रिय योजना आयोगको प्रतिवेदनमा उल्लेख छ । 

त्यसपछि ०७०/७१ मा सरकारले आयोजनाको गुरुयोजना पहिलोपटक संशोधन गर्‍यो । उक्त संशोधनमा थप नौ हजार हेक्टर गरी कुल ४३ हजार ७६६ हेक्टर जमिन सिञ्चित गर्न पूर्व र पश्चिम मूलनहर तथा शाखा नहर गरी एक सय एक किमि तयार गर्ने लक्ष्य राखियो । लागत पनि बढाएर २५ अर्ब दुई करोड पुर्‍याइयो भने निर्माण सक्ने म्याद पाँच वर्ष थपेर ०७६/७७ निर्धारण गरियो । तर, संशोधित गुरुयोजनाको लक्ष्यअनुसार पनि प्रगति हुन सकेन । उक्त अवधिमा कुल १० अर्ब १० करोड खर्च भयो भने ४७ किमि मूलनहर र केही शाखा नहर (सिदनिया र डुडुवा)को करिब १५ किमि निर्माण गरियो । २९ असार ०७८ देखि पश्चिम मूलनहरमार्फत दुई हजार हेक्टरमा सिँचाइ सुविधा पुर्‍याइयो । 

सिक्टा आयोजनाअन्तर्गत बाँकेको अवैयास्थित पश्चिमी नहरको सुरुवाती विन्दु 

लक्ष्यअनुसार काम नभएपछि सरकारले पुन: आयोजनाको गुरुयोजना संशोधन गर्‍यो । गुरुयोजनाको दोस्रो संशोधनबाट लागत बढाएर ५२ अर्ब ८९ करोड पुर्‍याइयो भने आयोजना सम्पन्न गर्ने म्याद १४ वर्ष थपेर ०८९/९० लाई निर्धारण गरिएको छ । तर, कोभिडलगायत कारण ०७७/७८ देखि ०७९/८० सम्म तीन वर्ष कुनै ठोस प्रगति हुन नसकेको प्रतिवेदनमा उल्लेख छ । ०७९/८० देखि हालसम्म थप ४४ किमि मूलनहर र शाखा नहररू (सिदनिया र डुडुवा)को करिब ५० किमि निर्माण भएको छ । यस अवधिमा दुई अर्ब ६३ करोड खर्च भएको छ । हालसम्म सिक्टा सिँचाइबाट करिब २१ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा पुर्‍याइएको आयोगले जनाएको छ । ०८१/८२ सम्म आयोजनाको वित्तीय प्रगति ४०.९३ प्रतिशत पुगेको छ । आयोजनाको कुल लागत ५२ अर्ब ८९ करोडमध्ये २१ अर्ब ६४ करोड खर्च भएको छ । भौतिक प्रगति ४५.१ प्रतिशत पुगेको छ ।

आयोजनाको पूर्वी भागमा मूलनहरको ५३.५ किमिमध्ये ९ किमि र अन्य शाखाहरूको निर्माण बाँकी छ । डुडुवा शाखा नहर, पश्चिम मुख्य नहरतर्फका सबै शाखा तथा प्रशाखाहरू, थपुवागाउँ प्रशाखाहरू र थतेरिया शाखा नहर, पूर्वी मुख्य नहर (९ किमि), कमान्ड एरिया विकास कार्य, कमान्ड एरिया संरक्षण कार्य र भूमिगत पानीको लागि लिफ्टको कार्य निर्माण हुन बाँकी छ । आयोगले गरेको अध्ययनले अहिलेकै गतिमा काम भए सिक्टा सिँचाइ आयोजना २१०६/०७ मा मात्रै सकिने देखाएको छ । यो अवस्थामा लागत पनि स्वत: बढ्ने देखिन्छ । 

तीन महिनामै फेरिन्छन् आयोजना प्रमुख
कछुवा गतिमा काम भइरहेको सिक्टा सिँचाइ आयोजनाका प्रमुखको सरुवा भने वर्षमै दुईपटकसम्म हुने गरेको देखिन्छ । आयोजना प्रमुखको सरुवा तीन महिनामै भएको उदाहरण पनि छ । आयोजना सुरु भएयता २३ वर्षमा १४ आयोजना प्रमुख फेरिए । सुरुतिरका आयोजना प्रमुखले तीन वर्षसम्म काम गरेको तथ्यांक छ । तर, पछिल्ला वर्षमा भने तीन महिनादेखि एक वर्षमै सरुवा भएको छ ।

१३ भदौ ०८१ मा आयोजना प्रमुख भएका गोपाल शर्मालाई तीन महिनामै अर्थात् ६ मंसिर ०८१ मै अन्यत्र सरुवा गरिएको थियो । त्यस्तै, ५ साउन ०७८ मा आयोजना प्रमुखको जिम्मेवारी पाएका रामप्रसाद अर्याललाई चार महिनामै अर्थात् १९ मंसिर ०७८ मै सरुवा गरियो । ०७६/७७ मा सिक्टा सिँचाइ आयोजनाको गुरुयोजना दोस्रो संशोधन गरेयताका ६ वर्षमा ६ प्रमुख फेरिएको तथ्यांक छ ।

बजेट नपाउँदा सुस्त प्रगति
आयोजना अस्वाभाविक ढिलाइ हुनुमा विभिन्न कारणमध्ये एक न्यून बजेट पनि हो । आयोजनाले मागअनुसारको बजेट पाउने गरेको छैन । आयोजनाले ०७८/७९ देखि ०८१/८२ सम्म माग गरिएको बजेटको जम्मा औसत ५३ प्रतिशत मात्रै प्राप्त गरेको अध्ययनले देखाएको छ । ०७८/७९ देखि ०८१/८२ सम्म बजेट खर्च औसतमा ७० प्रतिशत छ । गुरुयोजनाको लागत अनुमानअनुसार अझै ५९ प्रतिशत रकम खर्च गर्न बाँकी छ ।

लक्ष्यभन्दा पाँच वर्षअघि सम्पन्न गरे साढे २१ अर्ब लाभ हुने
आयोगले आयोजनामा देखिएका समस्या समाधान गर्न सके बाँकी सबै कार्यहरू आर्थिक वर्ष ०८४/८५ भित्रै सम्पन्न गर्न सकिने पनि औँल्याएको छ । यो अवधिमा सम्पन्न भए २१ अर्ब ६२ करोड लाभ हुने पनि जनाएको छ । 

दोस्रोपटक संशोधित गुरुयोजनाअनुसार ०८९/९० सम्म सक्ने लक्ष्यको पाँच वर्षअघि ०८४/८५ मा काम सक्दा लागत बचत ६ अर्ब ११ करोड हुने तथा ५ वर्षअघि देखि नै थप बालीबाट हुने उत्पादन परिणाम १५ अर्ब ५१ करोड हुन आउने आयोगको निष्कर्ष छ । यसका लागि आवश्यक वार्षिक विनियोजनको लागि स्रोत सुनिश्चितता गर्नुपर्ने आयोगले औँल्याएको छ ।  आयोजनाको बाँकी कामका लागि प्रस्तावित लागत (बजेट) अनुमान २५ अर्ब १३ करोड छ । 

‘प्रस्तावित वार्षिक लागत (बजेट) भने ०८२/८३ लागि १० अर्ब दुई करोड(मुआब्जासहित), ०८३/८४ का लागि १० अर्ब पाँच करोड र ०८४/८५ का लागि पाँच अर्ब पाँच करोड लाग्ने अनुमान गरिएको छ,’ प्रतिवेदनमा उल्लेख छ ।

यस्ता छन् आयोजनाका समस्या
संस्थागत र वित्तीय समस्या : आवश्यकताअनुसारको स्रोत व्यवस्थापन नभएको, मानव संसाधन व्यवस्थापनमा समस्या, आयोजना व्यवस्थापनमा समस्या र प्रभावकारी कार्यान्वयन नभएको । 

प्राविधिक समस्या : विगतमा विस्तृत डिजाइन तयार नभई योजना तयार भएको, निर्माण व्यवसायीले समयमा काम सम्पन्न नगरेको, थप सिञ्चित क्षेत्रका लागि पूरक इआइए गर्न समय लागेको, कार्ययोजना तयारी कमजोर  ।

पर्याप्त बजेट र जनशक्ति नहुँदा काम सुस्त भएको हो : राजु आचार्य आयोजना प्रमुख, सिक्टा सिँचाइ
बजेट, जनशक्तिको अभाव, कर्मचारीको सरुवा, गुरुयोजनामा संशोधनलगायतले आयोजना सुस्त हुन पुग्यो । काम गर्दै जाँदा पश्चिम मूलनहरको १० मिटर जति भत्किँदा परेको मुद्दा मामिलाका कारण पनि ढिलाइ भयो । सुरुको डिपिआर संशोधन हुँदै आयोजनाको क्षेत्र र कामहरू थपिँदा लागत पनि सोहीअनुसार बढेको छ । तर, अहिले कामले गति लिइरहेको छ । पर्याप्त बजेट र जनशक्ति दिने, कम्तीमा २ वर्ष कर्मचारी सरुवा नगर्ने, मुआब्जा निर्धारण र वितरणमा सहजीकरण गर्ने हो भने अबको पाँच वर्षभित्र आयोजना सम्पन्न गर्न सकिन्छ । पूर्व र पश्चिमका दुईवटै नहरको ९० प्रतिशत काम सकिइसकेको छ, शाखा प्रशाखा बनाउनुपर्ने हो, मुआब्जा निर्धारण ८० प्रतिशत र वितरण ५० प्रतिशत सकिएको छ । त्यसैले, कर्मचारीको कार्यक्षमता बढाउने र बजेट एवं स्रोत सुनिश्चितता गर्ने हो भने आयोजना निर्धारित म्यादभन्दा पाँच वर्षअघि नै सम्पन्न गर्न सकिन्छ ।