
सिराहाको अर्नमा गाउँपालिका–१, बुढियाचाप गाउँमा शनिबार बिहान स्थानीय दलित युवक मृत भेटिएको घटनामा प्रहरीले सोधपुछका लागि श्रीमतीलाई नियन्त्रणमा लिएको छ।
स्थानीय रामसेवक महराका दुई छोरामध्ये कान्छा करिब ३५ वर्षीय अजय महराको शव शनिबार बिहान करिब ५ बजेतिर घरनजिकै फेला परेको थियो। उक्त घटनामा मृतककी श्रीमतीलाई सोधपुछका लागि नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय सिराहाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वीरेन्द्रकुमार पासवानका अनुसार घटना शंकास्पद देखिएकाले श्रीमतीलाई सोधपुछ गर्न नियन्त्रणमा लिइएको हो। मृतकसँग बसेर शुक्रबार दिउँसो मदिरा सेवन गरेका भनिएका व्यक्तिहरूलाई पनि सोधपुछका लागि बोलाइएको उनले बताए।
स्थानीय मइम मन्सुरीले आफ्नो खेतमा बाली रुङ्न बनाएको बाँसको झुपडी नजिकैको आँपको रुखमुनि प्लास्टिकले घाँटी बाँधेको अवस्थामा महराको शव भेटिएको थियो। प्रहरीका अनुसार शव भेटिएको सूचना पाएलगत्तै जिल्ला प्रहरी कार्यालय र मातहतको इलाका प्रहरी कार्यालय अर्नमाबाट प्रहरी टोली घटनास्थल पुगेर मुचुल्का उठाउनेसहित आवश्यक कानुनी प्रक्रिया पुर्याई शव पोस्टमार्टमका लागि सिराहा प्रादेशिक अस्पताल पठाइएको भए पनि परिवारको सल्लाहबमोजिम धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ।
अर्नमा–१ का वडाध्यक्ष गफार मियाँका अनुसार मन्सुरी बिहान सबेरै खेतमा बनाएको झुपडीमा जाँदा शव देखेपछि हल्ला गरेर गाउँलेहरूलाई बोलाएका थिए।
घटनास्थलमा दुईवटा प्लास्टिकको गिलाससमेत भेटिएकाले मृतकसँग अन्य व्यक्तिसमेत रहेको आशंकाको आधारमा अनुसन्धान थालिएको प्रहरीले जनाएको छ। घरबाट निस्किएर कहाँ कहाँ गए, पछि को को थपिए, कसरी मृत्यु वा हत्या भयो भन्ने कुरा अनुसन्धानपछि मात्र यकिन हुने प्रहरीले जनाएको छ।