
प्रहरीलाई अनुशासनमा राख्न आचारसंहिता बनेको छ कि छैन ?
आचारसंहिता नहुने कुरै हुँदैन । देशका राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री, आइजिपीदेखि प्रहरीका तल्लो तहका कर्मचारीसम्म सबैका लागि आचारसंहिता बनेको हुन्छ । तर, त्यसको पालनाचाहिँ माथिदेखि भयो भने मात्र त्यसको सकारात्मक प्रभाव तलसम्म पर्छ । शीतलनिवास, बालुवाटार, सिंहदबार या प्रहरी हेडक्वार्टरले आचारसंहिता प्रभावकारी रूपमा पालना गरे भने तलका कसैलाई पनि आचारसंहिता पालना गर भनिरहनु पर्दैन । तर, माथिकाले पालना गरेनन् भने तलकालाई हामीले चाहिँ किन पालना गरिरहनु भन्ने पर्नु स्वाभाविक हो । माथिकाले पालना नगर्दा त्यस्ता आचारसंहिता कागजका खोस्टामा परिणत हुन्छन् र भइरहेका पनि छन् । भर्खरै आफैँले अनुसन्धान गरेको आरोपीको आफ्नै प्रहरी कार्यालयमा अनुसन्धान अधिकृतदेखि कार्यालयका हाकिमसम्म उपस्थित भई भव्य रूपमा जन्मदिन मनाएको तस्बिर र सामाचार मैले पनि पढेँ, देखेँ । हेर्दै दिक्क लाग्ने यस्ता हर्कत प्रहरी कर्मचारीबाट हुनु लज्जास्पद छ ।
प्रहरीबाट बारम्बार आचारसंहिताको उल्लंघन किन भइरहन्छ ?
आचारसंहिता उल्लंघनमा दोषी देखिएका प्रहरी कर्मचारीलाई तत्काल कारबाही गर्नुपर्छ । हाम्रा पालामा हामी आफूभन्दा सिनियर अफिसरसित डराउँथ्यौँ । राम्रो काम गर्नेलाई पुरस्कार र गलत काम गर्नेलाई दण्ड दिने व्यवस्था भइदिए आचारसंहिताको उल्लंघन हुने नै थिएन । तर, सरुवा र बढुवाको लिस्टमा बालुवाटारले ‘टिक’ लगाउने व्यवस्था बलियो हुँदै गएपछि प्रहरी कर्मचारीलाई किन चाहियो चेन अफ कमान्ड ? सीमित नेतालाई रिझाए पुगिहाल्यो । अनि, किन नहोस् त आचारसंहिताको उल्लंघन ?
प्रहरीलाई अनुशासनमा बाँध्ने प्रभावकारी उपाय के हुन सक्छ त ?
सबैभन्दा प्रभावकारी उपाय भनेको ‘सेल्फ डिसिप्लिन’, ‘सेल्फ रेगुलेसन’ र ‘सेल्फ अवेरनेस’ नै हो । प्रहरी कर्मचारीले कानुनले गर्नु हुन्न भनेको काम जसले अह्राए पनि हुँदैन, म ट्र्याकबाहिर जान्नँ भन्ने हिम्मत गर्यो भने उसलाई कसैले अनावश्यक दबाब दिन या हस्तक्षेप गर्न सक्दैन ।